पारिवारिक व्यवसायलाई नयाँ उचाई दिँदै हाइलाइफ, लाख लगानीले बनायो १०० करोडको कम्पनी

बिजमाण्डू
२०७९ जेठ ४ गते ०८:१८ | May 18, 2022
पारिवारिक व्यवसायलाई नयाँ उचाई दिँदै हाइलाइफ, लाख लगानीले बनायो १०० करोडको कम्पनी


काठमाडौं। सानैबाट आधुनिक प्रविधिमा रुचि राख्ने प्रशान्त घिमिरेलाई आफ्नो पारिवारिक खानेकुराको व्यवसायप्रति खासै लगाव थिएन। प्रशान्त स्कुल पढ्दादेखि नै सफ्टवेयर बनाएर बेच्ने गर्थे। बुटवलका प्रशान्तले कक्षा १० सम्मको पढाई भने धुलिखेलको एक विद्यालयबाट गरेका थिए।

Tata
GBIME
Nepal Life

२९ वर्षका प्रशान्त सम्झन्छन्, ‘ म सानैदेखि सफ्टवेयर बनाएर बेच्थें र आम्दानी पनि राम्रै हुन्थ्यो। मैले कक्षा १० पछि औपचारिक शिक्षा भने लिइन। मैले सफ्टवेयर र यसको बारेमा स्व-अध्ययन गर्दै काम पनि गर्थे। यसैमा केही गर्छु भन्ने मेरो सोच थियो।’

प्रशान्त आफ्नै व्यवसायमा व्यस्त थिए, उनको आफ्नै रोबोटिक्सको कामहरू गर्ने सानो स्टार्टअप थियो। पछि उनको परिवारले आफ्नै पारिवारिक व्यवसायमा साथ खोजेपछि भने उनी यसमा जोडिए। यो सँगै सन् २०१९ मा हाइलाइफ ब्राण्डको सुरुवात भयो।

स्वस्थकर खानेकुरा उत्पादन गर्ने हाइलाइफ

हाइलाइफ खाद्यान्न उत्पादन गर्ने नेपाली कम्पनी हो। सन् २०१९ मा चिउरा र कर्नफ्लेक्स उत्पादन र बिक्री वितरणबाट सुरु भएको हाइलाइफ नेपालको स्थापित ब्रान्डका रुपमा आफ्नो स्थान बनाइसकेको छ। बुटवल भैरहवा करिडोरमा अवस्थित हाइलाइफलको तीनवटा कारखानाहरू छन्।

पारिवारिक व्यवसायकै निरन्तरता हो हाइलाइफ ब्राण्ड। तीन वर्षदेखि भने कम्पनीले  रि-ब्रान्डिङ गरेर ब्रान्डेड प्रोडक्टहरू मात्रै बजारमा ल्याइरहेको छ।

उनका बुवा तुलसी घिमिरे लामो समयदेखि खाद्यान्न उत्पादन र बिक्री वितरण गरिरहेका थिए। विसं २०५८ सालमा उनका बुवाले कर्नफ्लेक्स उद्योग सुरु गरेका गरेका थियो। त्यसपछि बिसं २०७० तिर चिउराको उत्पादन सुरु गरे। त्यतिबेला उनीहरूले अरु ब्रान्डहरूको लागि बल्कमा उत्पादन गरेर बेच्ने गर्थे।

प्रशान्त भन्छन्, ‘पछि कस्तो भई दियो भने हाम्रो बिजनेस एउटा बिन्दुमा गएर अड्कियो। लगातार ४-५ वर्षसम्म पनि केहि पनि ग्रोथ नभइरहेको अवस्थामा केही न केही नयाँ गर्नु पर्छ भन्ने निष्कर्षमा बुवा र काकाहरू पुग्नु भयो। काममा नयाँपन ल्याउने जिम्मा वहाँहरुले मलाई दिने निर्णय गर्नु भयो।’

प्रशान्त आफ्नो पारिवारिक व्यवसायसंग जोडिएपछि मार्केट रिसर्चमा काम गर्न थाले। ‘हामीहरू प्याकेजिङ, प्रोडक्टको गुणस्तर, उपलब्धता र मूल्यजस्ता कुराहरू अध्ययन गर्यौँ। यसका लागि हामीहरू पसल पसल पनि जान्थ्यौँ।’

करिब सात-आठ महिनाको रिसर्चपछि उनीहरूले प्याकेज गरिएको चिउरा र कर्नफ्लेक्ससँग बुटवलको बजारबाट हाइलाइफ ब्रान्डको लन्च गरे। कम्पनीको सन्देश उच्चस्तर झल्काउन ब्रान्डको नाम हाइलाइफ अर्थात ‘हाइयर द्यान टुडे अर टुमरो’ राखेको कुरा सञ्चालक घिमिरे बताउँछन्।

लाखदेखि १०० करोडसम्मको यात्रा

‘हामीले हाइलाइफलाई आफ्नो चलिरहेको खानेकुराको उद्योगलाई नै अघि बढाउनुको सट्टा छुट्टै नयाँ कम्पनीको रुपमा सुरु गर्यौँ। हामीले पुरानो उद्योगको १०% उत्पादन हाइलाइफलाई बेचेर सुरु गरेका हौँ।,’ प्रशान्त भन्छन्।

कम्पनीको दोस्रो वर्षमा नै हाइलाइफले ६०% उत्पादन किन्ने भयो। प्रशान्तका अनुसार बीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ अहिले १०० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने भएको छ। प्रशान्त भन्छन्, ‘हाम्रो यो वर्षको कारोबार लक्ष्य १५० करोड हो।’

कर्नफ्लेक्स र चिउराबाट उत्पादन सुरू गरेको हाइलाइफले अहिले मुस्ली, चोकोस, सोयाबिन, ओट्स, जाम, सोयाबिन, केचप पास्ता, ग्रिन टी, आँटा, तेल, दालको पापड लगायतका १६ थरीको ९० वटाभन्दा बढी प्रकारका खानेकुरा बजारमा ल्याएको छ। आफ्नो प्रविधि सम्बन्धी ज्ञान र अनुभवलाई पनि उपयोग गर्दै उनले डिजिटल मार्केटिङमा पनि ध्यान दिए।

हाइलाइफ ब्रान्डको  फेसबुक, इन्स्टाग्राम र वेबसाइटद्वारा डिजिटल स्पेसमा पनि राम्रो उपस्थिती छ। उनले बजार विस्तारमा पनि प्रविधिको निकै राम्रो प्रयोग गरेका छन्।

प्रशान्त सुरुवाती दिनहरू सम्झन्छन्, ‘हाम्रो उत्पादनले यति राम्रो बजार पाउला भन्ने मैले सोचेकै थिइन। हामीले पसल पसलमै गएर साथै डिजिटल मध्यमबाट पनि आफ्नो उत्पादनको प्रतिक्रिया र सुझावहरू लिन्थ्यौं। यसबाट पनि हामीले धेरै कुरा सुधार्ने मौका पायौँ।’

दिनको १०० किलो चिउरा र १०० किलो र कर्नफ्लेक्सबाट सुरु गरेको हाइलाइफले अहिले दैनिक १ हजार किलो चिउरा र २५ सय किलो कर्नफ्लेक्स उत्पादन गर्दै आएको छ। हाइलाइफ ब्रान्डको सबै भन्दा बढी चल्ने उत्पादन पनि यिनै भएको प्रशान्त बताउँछन्।

ग्लोबल ब्रान्ड बनाउने योजना

हाइलाइफले २०७७/७८ मा गरेको बजार अध्ययनले बजारमा हाइलाइफ ब्रान्डको कर्नफ्लेक्सले प्रतिस्पर्धी एक अन्तर्राष्ट्रिय ब्रान्डलाई जित्दै ३८% हिस्सा ओगटेको पाइएको प्रशान्तले बताए। कम्पनीमा हाल चारसयजना जति कामदार आबद्ध छन् र अप्रत्यक्ष रूपमा एकहजारभन्दा बढीले रोजगारी पाएको प्रशान्तको दाबी छ।

व्यवसाय थालनी गरेको केही महिना पछि नै कोरोना महामारीले जनजीवन प्रभावित बनाइरहँदा मान्छेहरूको रोजाइमा स्वस्थ खानेकुराहरू पर्न थाल्यो। एकतिर स्वस्थकर खानाको माग अर्को तिर विदेशी उत्पादनको आयातमा कमी। यसले हाइलाइफको उत्पादनको पनि बजार विस्तार गर्न केही हदसम्म मद्दत गरेको प्रशान्त बताउँछन्।

प्रशान्त आफ्नो प्रतिस्पर्धी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई लिन्छन्। प्रशान्त भन्छन्, ‘हामी नेपाली उत्पदान अन्तर्राष्ट्रिय ब्रान्डहरूकै सरहमा अझ उच्च गुणस्तरमा सुपथ मूल्यमा बजारमा सबैलाई उपलब्ध गराउने निरन्तर प्रयासमा छौं। नेपालमा नै कर्नफ्लेक्स जस्ता खाने कुरा उत्पादन गर्न मकैजस्ता कच्चा पदार्थहरू पनि नेपालमा पर्याप्त रूपमा नपाइदा हाइलाइफले ठूलो परिमाणमा आयात गर्नुपरेको छ।’

आयातका क्रममा नीतिगत स्तरमै केही समस्या भोग्नु परेको पनि प्रशान्तले बताउँछन् । नेपालमा नै मकै किन्दा सस्तो पर्ने र बाहिरबाट मकै किन्दा दस प्रतिशत मूल्य बढी पर्ने गरेको उनले बताए।

हाइलाइफको उत्पादन अहिले नेपालभित्रका ठूला शहरहरूदेखि गाउँ-गाउँसम्म पुगिसकेको छ। प्रशान्तका अनुसार देशभर एकसय ६० वितरकहरुमार्फत हाइलाइफको उत्पादन एक लाखभन्दा बढी खुद्रा ब्यापारीहरुसम्म पुग्छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग बढ्दो छ।

प्रशान्त आफ्ना योजनाहरू सुनाउँछन्, ‘अबका दिनहरूमा हामी अझै नयाँ-नयाँ उत्पादन थप्दै यसलाई स्वस्थकर खानेकुराको छाता ब्रान्डमात्र नभई  ग्लोबल ब्रान्ड बनाउनेतर्फ काम गर्दै छौँ। साथै हामी निकट भविष्यमा कम्पनीलाई पब्लिक बनाउने सोचमा पनि छौँ।’