‘मुलुकको अवस्था सधैं यस्तो रहँदैन,सुधारको संवाहक बन्नेछ निजी क्षेत्र, पुँजीबजारको बहस गरौं’  

शेखर गोल्छा
२०७९ बैशाख २३ गते ११:२६ | May 6, 2022

हामी आज खुला बजारको एक प्रतिनिधि बजारका बारेमा चर्चा गर्दैछौ। पुँजी निर्माणको एक सशक्त माध्यमका बारेमा कुरा गर्नेछौं। स्वाभाविक लयमा चल्नु पर्ने बजारमा बेला बेलामा देखिने अस्वाभाविक घटनाहरुका बारेमा पनि चर्चा गर्नेछौं। 

Tata
GBIME
Nepal Life

आजको कार्यक्रमले ५० लाख यस्ता मानिसहरुका चासोका बारेमा पनि चर्चा गर्नेछ। ती ५० लाख, जसले डिम्याट खाता खोलेर पुँजीबजारमा लगानी गरेका छन्, तिनका चासो र चिन्ताका बारेमा चर्चा हुनु जरुरी छ। त्यही भएर महासंघले यो महत्वपूर्ण कार्यक्रम आयोजना गरेको हो। 
अर्को मुलुकभित्र रकम अभावको विषय यहाँहरुलाई थाहै छ। तरलता, बाह्य क्षेत्र सन्तुलन आदिमा देखिएको समस्याको मूल जड भनेको देश भित्रिने रकमले हाम्रो खर्चलाई धान्न नसक्नु हो। रकम भित्र्याउने एउटा माध्यम पुँजी बजार हो। त्यसैले पनि यो महत्वपूर्ण छ। 

गत आर्थिक वर्षको अन्त्य र चालु आर्थिक वर्षको सुरुवातमा बजारमा ठूलो उत्साह थियो। भदौमा नेप्से परिसूचक ३२ सय अंक सम्म पुग्यो। त्यतिबेला गैर आवासीय नेपाली एवं विदेशमा रोजगारीमा रहेका युवाहरुले पनि बजारमा लगानी गरेका थिए। रेमिट्यान्स आप्रवाहमा पनि बढोत्तरी भइरहेको थियो। 

बैंक वित्तीय संस्थाको लगानी पनि बढिरहेको थियो। पछिल्लो समय औसतमा बैंक वित्तीय संस्थाहरुले निक्षेपको साढे दुइ गुणासम्म कर्जा लगानी गरेका छन्। त्यो लगानी सेयर बजारमा पनि छ। आयातमा पनि छ। उत्पादनमूलक उद्योगमा पनि छ। 

तर नियामक संस्थाहरुको आँखा आयात र सेयर बजारमा बढी परेको छ। यदि बढी कर्जा प्रवाह भएकै कारण समस्या भएको हो भने आज त्यो पनि छलफल गरौं। होइन स्वाभाविक रूपमै बढ्दा हाम्रो पैसाको स्रोत घटेका कारण समस्या भएको हो भने त्यो पनि हेरौं। समस्या समाधानको सबैभन्दा सजिलो बाटो भने नअपनाऔं। यसले तत्काल समाधान जस्तो देखिए पनि दीर्घकालमा समस्या बढाउँछ।  

अहिले नै हामी आत्तिनुपर्ने अवस्था पनि छैन। आर्थिक वर्ष २०७८÷७९ मा भने ५.८४ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको छ। जुन अस्वाभाविक होइन। मैले भन्ने गरेको छु, आर्थिक वर्षको सुरुवातसँगै बढेको आर्थिक गतिविधिको रफ्तार कायम रहन सकेको भए ८ प्रतिशतसम्म वृद्धि हासिल गर्न सकिन्थ्यो। 

उच्च मागलाई अर्थतन्त्रको विद्यमान संरचनाले थेग्न नसकेको हो। स्वाभाविक रूपमा वित्तीय क्षेत्रमा कर्जाको माग बढ्यो। घरजग्गा, पुँजीबजार, उत्पादनमूलक क्षेत्र सबैतिर माग बढ्यो। अर्थतन्त्रमा माग बढने र उत्पादन उक्त रफ्तारमा बढ्न नसक्दा स्वाभाविक रुपमा आयात बढ्यो। 

निक्षेपभन्दा करिब तीन गुणा बढी कर्जा प्रवाह भयो। यसले अर्थतन्त्रमा तरलता अभाव देखिएको छ। उच्च आयातलाई विदेशी मुद्रा आर्जनका अन्य स्रोतहरुले भरथेग गर्न नसक्दा करिब २ खर्ब ६० अर्बको शोधनान्तर घाटा बेहोर्नुपरेको छ। 

अर्थतन्त्रमा आएको यो दबाबको असर पुँजीबजारमा पनि देखियो। २०७८ भदौै २ गते ४४ खर्ब ६८ अर्बभन्दा बढी पुुगेको बजार पूजीकरण हिजो अर्थात वैशाख २२ गते करिव ३२ खर्बमा झर्‍यो। त्यो धेरै दिन टिक्न सकेन। निरन्तर ओरालो लाग्यो। कुनै दिन दैनिक १७ अर्बभन्दा बढी कारोबार भएको नेप्से इन्डेक्स अहिले दैनिक एक/डेढ अर्बमा सीमित हुन पुुगेको छ। 

पुँजीबजारलाई देशको अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ। नेपालमा पछिल्लो पटक पुँजीबजार सम्बन्धी सचेतना बढेको देखिन्छ, यसको ज्वलन्त उदाहरण ५१ लाख ५० हजार भन्दा बढी डिम्याट खाता हुनुलाई लिन सकिन्छ।

कोभिड-१९ को महामारीमा सम्पूर्ण जनजीवन ठप्प हुँदा पनि पुँजीबजार क्षेत्र निकै सकारात्मक रह्यो। करिब १७ अर्बको दैनिक कारोबार तथा ३२ सयभन्दा माथि इन्डेक्स पुगेको थियो। कोभिड महामारीको समयमा पनि सेयर बजारबाट आम्दानी गर्ने लाखौं छन्। 

चालु आर्थिक वर्षको शुरुदेखि नै बैंकिङ प्रणालीमा तरलताको स्थिति त्यति सहज रहेन त्यसको प्रभाव सेयर बजारमा पनि पर्यो। कुनै समय ३१९९.०३ को उच्च बिन्दुमा पुगेको नेप्से सूचकांक २२३८.६२ बिन्दुमा पुग्नुले त्यसको पुष्टि गर्दछ। 

महँगो कर्जा र निक्षेपमा बढी ब्याज पाइने अवस्थाले सेयर बजारमा नकारात्मक असर पर्न गएको देखिन्छ। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लाग्दै आएको ‘सिंगल अब्लिगर’ सीमाको कारण पनि सेयर बजारलाई असर परेको छ।

पुँजीबजारको विकास एवं विस्तारको लागि अब नयाँ प्रोडक्ट तथा उपकरणहरु ल्याउनु जरुरी भइसक्यो। रीयल सेक्टरलाई यो बजारमा आकर्षित गर्ने खालका उपकरण ल्याउन नियामक निकायहरुको ध्यान जान जरुरी छ। 

बैंक तथा वित्तीय संस्थाभन्दा बाहिर भएको तरलता प्रणालीमा ल्याउन रणनीति बनाउनुपर्ने छ। ऋणपत्र जारी गर्ने प्रक्रियालाई बढावा दिइनुपर्छ। साथै डेरिभेटिभ प्रोडक्टलाई प्रयोगमा ल्याउन आवश्यक नीतिगत व्यवस्था गर्नुपर्दछ।

महासंघले पुँजीबजारको दिगो विकासका लागि विदेशी कम्पनीहरुले नेपाल धितोपत्र विनिमय बजारमा सेयर खरिदबिक्री गर्ने व्यवस्था गर्नुपर्ने, नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने, प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने, कमोडिटी मार्केट थप विकास गर्नुपर्ने विषय उठाउँदै आएको छ। 

निर्वाध विदेशी लगानी सेयर बजारमा ल्याउँदा हुने जोखिमबारे महासंघको पुँजीबजार विकास फोरम र अन्य निकायले पनि अध्ययन गरोस् भन्ने मेरो चाहना छ। 

पुँजीबजारको विकासका लागि महासंघ उच्च प्राथमिकता दिंदै आएको छ। अर्थतन्त्रमा पुँजीबजारको महत्वलाई ध्यान दिई मेरै नेतृत्वको वर्तमान कार्यकालमा पहिलोपटक महासंघमा पुँजीबजार विकास फोरम गठन भयो। त्यसको नेतृत्व अम्बिकाजीले गर्नुहुन्छ। उहाँ आफैंमा पनि यो क्षेत्रको विज्ञ मानिनुहुन्छ। 

फोरमले पुँजीबजारमा केही समय अघि आएको संकट समाधानमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्यो। पुँजीबजारको विकासका लागि गर्नुपर्ने सुुधारका विषयमा फोरमले सम्बन्धित निकायका गएर दबाव दिने काम गर्यो। धितोपत्र वोर्ड, स्टक एक्स्चेन्ज र सीडीएस क्लियरिङका पदाधिकारीहरुलाई भेटी सुुझाव दिने काम गर्‍यो।

आजको कार्यक्रम पनि त्यसैको एक शृंखला हो। पुँजीबजारको निरन्तर विकास र विस्तारका महासंघले विस्तृत अध्ययन गरी यस्तै सम्मेलन तथा छलफलबाट निचोड निकालेर एउटा आधिकारिक दस्तावेज बनाउन लागेको जानकारी गराउँदछु। नेपालको पुँजीबजारः अवसर र चुनौती, पुँजीबजारका उपकरणहरु र पुँजीबजारका लागि आवश्यक पूर्वाधार तथा कानूनी व्यवस्थाका बारेमा छलफल हुनेछ। 

सम्मेलनमा निकै मिहिनका साथ छलफल भई मुुलुकको पुँजीबजारको विकासका लागि एउटा ठोस दस्तावेज तयार हुने हाम्रो विश्वास छ। 
पुँजीबजारको दिगो विकासमा सरकार, केन्द्रीय बैंक र पुँजीबजारका नियामक संस्थाहरु बीचको सहकार्य आवश्यक छ। अर्थतन्त्र विस्तार हुने वित्तिकै पुँजीबजारको विस्तार पनि अवश्य हुने छ। यसका लागि हामीले हाम्रा तयारी पनि सोही अनुसार गर्न आवश्यक छ। 

जस्तो, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई अझ बढी व्यवस्थित गर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिने, इन्साइडर ट्रेडिङ नियन्त्रणका लागि नीतिगत व्यवस्था गर्ने, सेयर बजारमा केही अतिरिक्त औजारहरुमा जोड दिनु उपयुक्त हुन्छ। विदेशबाट डिम्याट खाता र ब्रोकर खाता खोल्ने व्यवस्था मिलाउने, गैरआवासीय नेपालीलाई पुँजीबजारमा प्रवेश एवं ब्रोकर र मर्चेन्ट बैंकमा विदेशी साझेदार ल्याउने जस्ता कुरामा ध्यान जानु जरुरी छ। 

मुलुकको अर्थतन्त्रको अवस्था सधैं यस्तो रहदैन। सुधार हुन्छ र त्यो सुधारको संवाहक निजी क्षेत्र बन्नेछ। त्यसमा पुँजीबजारका भूमिका महत्वपूर्ण छ। अहिले बजारमा उतारचढाव छ। यो समय बजारलाई परिपक्व बनाउने अवसर हो। यो फेरि पनि यस्ता समस्या नआउन भनेर मन्थन गर्ने समय हो। 

(नेपाल उद्योग वाणिज्य महासंघले गरेको ‘परिपक्व पुँजीबजार सम्मेलन’मा शुक्रबार अध्यक्ष गोल्छाको मन्तव्यको सम्पादित अंश)