डेढ दशकअघि खुलेको ‘स्टाण्डर्ड भट्टी’ तामा, जहाँ अहिले पनि तीन सयमै पाइन्छ मासुभात

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ बैशाख ९ गते १२:०८ | Apr 22, 2022
डेढ दशकअघि खुलेको ‘स्टाण्डर्ड भट्टी’ तामा, जहाँ अहिले पनि तीन सयमै पाइन्छ मासुभात


काठमाडौं। नेपाली चलनचल्तीको भाषामा भट्टी भन्ने बित्तिकै मदिरा र त्यससँग खाने परिकारहरु राखिएको सामान्य रेष्टुरेन्टलाई बुझाउँछ। भट्टीमा अक्सर सर्वसाधारणले साथीभाईसँगको जमघट गर्छन् र माहौल रमाइलो बनाउँछन् भनिन्छ। अझै पनि भट्टी भन्नासाथै पस्न हच्किनुपर्ने ठाउँ हो कि भन्ने मानसिकता आम मानिसमा पर्छ। तर यही धारणालाई बदल्न गैरीधारामा १४ वर्षअघि खुल्यो तामा रेष्टुरेन्ट, जहाँ मानिसहरु मदिरा र त्योसँग खाने परिकारहरुकै मज्जा लिन निर्धक्क पुग्ने गर्छन्।

Tata
GBIME
Nepal Life

महिला हुन् वा पुरुष ढुक्क भएर पस्ने र खसी कुखुराका बिभिन्न रैथाने परिकारहरुको मज्जा लिने गर्छन्। काठमाडौंमा तामा रेष्टुरेन्टले भट्टीका सबै मानकलाई भत्काइदिएको स्वयं त्यसका संचालक अन्जित मल्ल बताउँछन्।

तामालाई 'स्ट्याण्डर्ड भट्टी'कै अवधारणामा संचालनमा ल्याइएको उनको भनाइ छ। डेढ दशकअघि लोकल भट्टीको केन्द्रविन्दु मानिने गैरीधारामा तामाले रेष्टुरेन्ट संचालनमा ल्याएपछि यो क्षेत्र यतिखेर रेष्टुरेण्ट हब नै बनिसकेको छ।

सुरुवाती समयमा 'तामा'ले दिँदै आएको सुपथ मूल्यको खानपिन परिकार आजसम्म पनि उसैगरी सर्वसाधारणको छनोटमा रहिरहेको संचालक मल्ल बताउँछन्। व्यावसायिक रूपमा झटपट मुनाफा कमाउन भन्दा पनि सुरुदेखि नै ग्राहक सेवालाई ध्यानमा राखी अघि बढेको उनको भनाइ छ।

गीतको छायांकनबाट किनारा लागेपछि खुल्यो 'तामा'

डेढ दशक अघिसम्म उपेन्द्र थापा र अन्जित मल्ल नेक्स-अस-एफएक्स अडियो एण्ड भिडियो प्रालिमा आबद्ध थिए। यो कम्पनीमार्फत उनीहरुले 'आज तिम्रो मेरो प्रीति बस्यो,' 'विस्तारै छायो,' 'सायद तिम्रो बाटोमा' लगायत एक सयभन्दा बढी चर्चित गीतको म्युजिक भिडियोहरु बनाएका थिए। कला क्षेत्रमा पिकअप लिँदै गए पनि काम हुँदा पैसा हुने तर नहुँदा हात खाली हुनुपर्ने अवस्थाले दुवैमा रेष्टुरेन्ट व्यवसाय गर्ने सोच आयो।

भिडियो सुटिङको दौरान खाना खाने राम्रा रेष्टुरेन्टहरु नभएको अनुभव उनीहरुलाई थियो। विगतलाई सम्झिँदै संचालक मल्लले भने,'हामीलाई नेपाली खाना मन पर्ने। सुटिङ गरेपछि नेपाली परिकारहरु खाने आरामदायी ठाउँ कमै थियो। सुटिङ क्रुसहित खाजा खान जानै समस्या पर्ने। अनि त्यसै मेसोमा हामीले नै आरामदायी ठाउँ बनाउने र सुपथ मूल्यमा खाना दिने योजना बनायौं।'

योजनालाई सार्थक बनाउन उपेन्द्र थापाले गैरीधारामा किनेर राखेको जग्गालाई प्रयोग गर्ने निर्णय भयो। खाली रहेको जग्गाको उपयोग पनि हुने र 'लो बजेट' रेष्टुरेन्टबाट नेपाली खानालाई नै प्रवर्द्धन गर्ने अवधारणा अनुसार आफूहरु अघि बढेको मल्लले बताए। उनीहरुले ६ महिनासम्मको बजार अध्ययन गरे। त्यसपछि चलनचल्तीमा रहेको र अत्यधिक रुचाइने परिकारहरुनै राखर मेनु तयार पारे।

उनका अनुसार रेष्टुरेन्टमा तीन सयवटा मेनुको सुरुवाती मूल्य २० रुपैयाँदेखि अधिकतम ६ सय ९० रुपैयाँसम्म निर्धारण गरिएको छ।

गैरीधारामा त्यतिखेर चलेका लोकल भट्टीको भीडमा 'तामा' को इन्ट्री हुँदा ग्राहकले महंगो र स्टाण्डर्ड रेष्टुरेन्ट होला भन्ने ठानेर छिर्ने आँट नै नगरेको उनी सम्झन्छन्।

उनी भन्छन्,'यहाँ सेवा सुरु गर्दा तुलनात्मक रुपमा तामा एकदम स्टाण्डर्ड देखिएको थियो। त्यो बेला स्टाण्डर्ड देखिएरै ग्राहक हतपत आउँदैनथे। हामीले करिब एक वर्ष त चार बाइ आठको मेनु मुल ढोका बाहिरै राख्यौं। यसमा रेट भट्टी सरह नै राखिएको थियो। हाम्रो उद्देश्य पनि त्यही थियो। हामीलाई स्टाण्डर्ड लोकल भट्टी भनेर चिनाउने माध्यम बन्यो।'

गैरीधारा भनेको पहिल्यैदेखि खाजा खाने क्षेत्रको रुपमा स्थापित ठाउँ हो। त्यो समय मटन आइटम, नान पसल लगायतका लोकल होटल थिए। तामाले यही हबलाई विस्तार गर्दै मटन आइटमलाई नै मुख्य परिकारका रुपमा मेनु बनायो।

आफ्नै जग्गामा रेष्टुरेन्ट चलाउँदा तुलनात्मक रुपमा संचालन लागत पनि कम हुने हुँदा सस्तो पर्ने उनले बताए।

पुस्तौं पुस्ता निरन्तर  

आफ्नै ठाउँ भएकाले संचालन खर्च कम हुने हुँदा यहाँ खानेकुरा अन्य रेष्टुरेन्टहरुको तुलनामा सस्तो छ। एकैचोटी कमाउँ भन्ने मनस्थिति नरहेको र भावी पुस्ताले पनि यही ठाउँमा नेपाली खानाको प्रवर्द्धन गर्दै अघि बढोस् भन्ने उद्देश्य रहेको उनले बताए।

'ब्राण्ड विस्तार गर्नु चुनौतीपूर्ण छ। स्वाद, मूल्य लगायत सबै एउटै हुन आवश्यक छ। हामी दाल भात खाजा सबै बिक्री गर्छौं। अहिलेको अवस्थामा जनशक्ति पाउनै गाह्रो। सिक्न आउनेहरु पनि ६ महिना इन्टर्न गरेर विदेश जाने गरेका छन्,' उनी तत्काल तामाले अन्य स्थानमा बिस्तार गर्ने योजना  नबनाएको सुनाउँछन्।

रेष्टुरेन्टले सबै उमेर वर्गका नेपाली लक्षित मेनु बनाएको छ। ग्राहक सन्तुष्टिका लागि रेष्टुरेन्टले परिमाण र गुणस्तरलाई विस्तार गर्दै आएको उनले बताए।

दालभात तरकारी, चिउरा भटमास, भुटन, तास लगायतका विभिन्न परिकारका लागि १४ वर्षअघि देखि नै निरन्तर आउने आफ्ना नियमित ग्राहकहरु नै भएको उनको भनाइ छ।

नाम कसरी भयो तामा?

जुनसुकै व्यापार गर्दा पनि सुरुमा नामकै खोजी हुन्छ। संचालक थापा र मल्लले पनि यहाँ रेष्टुरेन्ट बनाउँदा के नाम राख्ने भनेर चार/पाँचवटा नाम सोचेका थिए।

नामको अगाडि 'त' नै आउनुपर्छ भन्ने दुवैको सोच थियो। विभीन्न मल्टिनेशनल कम्पनीको नाम छोटो र मुखप्रेमी हुने धारणा उनीहरुले कोक, सोनी लगायतका ब्राण्ड हेरेर बनाएका थिए।

'हामीले छानेको नाम मध्येबाट तामा शब्दलाई रोज्यौं। यो नाम छोटो अनि टिपिकल नेपाली परिकारको नाम। सुरु सुरुमा तामाको अचारसहित खाना दिने गरेकोमा हाल आलु, बोडी, तामाको तरकारी दिने गरेका छौं।' उनले भने।

रेष्टुरेन्टले अहिले पनि खानासँगै तामा खुवाउँदै आएको छ।

१५ वटा मेनुबाट सुरु भएको तामा अहिले करिब तीन सय भन्दा बढी मेनु पस्किँदै आएको छ। अधिकांश मेनु खसी र कुखुराको मासुबाट तयार गर्दै आए पनि बफ आइटममा मःमः मात्रै पाइन्छ।

'रेष्टुरेन्टको पहिचान नै खानाको परिकारमा प्रयोग हुने मसला हो। हामीले मसलालाई नै प्राथमिकता दिँदै आएका छौं। उही स्वाद, सन्तुलित र गुणस्तर परिकार दिँदै आएकाले नै पुराना ग्राहकहरु नै नियमित आइरहनु भएको छ,' उनले भने।

ताजा मासुको प्रयोग

तामा रेष्टुरेन्टले फ्रोजन भन्दा पनि फ्रेस मीट प्रयोग गर्दै आएको संचालक मल्लले बताए। उनी भन्छन् 'जति पनि मासु आउँछ सबै फ्रेस नै ल्याउछौं। यहाँ ल्याएर हामीले मेरिनेट गरेर राख्छौँ। मःमः का लागि किमा पनि फ्रिजिङ गर्दैनौं।'

रेष्टुरेन्टमै बसेर खाँदा र प्याकिङ लगेर घरमा खाँदा गुणस्तर र स्वाद २५ प्रतिशतजति खस्किने उनी बताउँछन्।

करिब एक रोपनी क्षेत्रफलमा रहेको रेष्टुरेन्टमा एकै पटक डेढ सय जना अटाउँछन्। पार्किङ सुविधा दिनका लागि रेष्टुरेन्टले साँझ ४ बजेपछि छेउमै रहेको जग्गा पार्किङका लागि लिजमा लिएको छ।

'नेपालीका लागि यहाँ खसीको टाउकोदेखि खुट्टासम्मको सबै भागको विभिन्न आइटम दिइरहेका छौं। नेपालमै लामो समयदेखि बसोबास गर्दै आएका विदेशीहरु र कर्पोरेट कर्मचारीहरु पनि आउने गर्नुभएको छ,' उनले भने।

तीन सय रुपैयाँमै मटन खाना

रेष्टुरेन्टले स्वाद र सन्तुलनलाई ध्यानमा राखी तीन सय रुपैयाँमै मटन खाना दिँदै आएको छ। 'सबैले सस्तोमा खाना खान पाउन् भन्ने हाम्रो उद्देश्य हो। रक्सीको मूल्यवृद्धि भए केही छैन तर खानाको मूल्य वृद्धि गर्न नपरोस् भन्ने लाग्छ,' उनले भने।

खानामा मुनाफा कम हुनका साथै स्वाद र सन्तुष्टि कायम गर्न पनि अप्ठ्यारो रहेको उनको अनुभव छ।

'रेष्टुरेन्ट जाँदा टन्ने मदिरा पिएर खाना खाएकाहरु भोलिपल्ट स्वास्थ्य बिग्रिँदा मदिराभन्दा पनि खानालाई नै दोष दिन्छन्। तर तामामा कुनै पनि खानेकुरा बासी वा फ्रोजन नहुने भएकाले ढुक्कले खान सकिन्छ,' संचालक मल्ल डेढ दशकदेखिका ग्राहकहरुले कुनै दिन पनि खानाको गुणस्तरमा गुनासो नगर्नु नै तामाको सफलता हो भन्छन्।