
काठमाडौँ। म व्यवस्थापनको विद्यार्थी हुँ। मैले व्यवस्थापन पढ्दै गर्दा क्यापिटल मार्केट(सेयर बजार)को पहिलो कक्षामा प्रोफेसर(शिक्षक)ले सोध्नु भएको पहिलो प्रश्नको क्षण स्मरण गर्न चाहन्छु।
उहाँले कुनै नाफा उन्मुख व्यवसाय संचालन गरिरहेको कम्पनी किन पब्लिकमा रुपान्तरण हुन चाहन्छ ? अर्कोतर्फ नोक्सानीमा गएको कुनै व्यवसाय पनि किन पब्लिकमा जान आवश्यक छ ? विद्यार्थी कालमा मैले सो सन्दर्भ त्यति बुझ्न सकेको थिइन। सायद, उहाँको प्रश्नको अन्तर्य एउटा सोचको सुरुवात गर्ने प्रयास गर्नुभएको थियो होला।
तर सत्य के हो भने पुँजी बजार हरेक देशको अर्थतन्त्रको मेरुदण्ड हुन्छ। र, पुँजी बजार विकास भयो भने मात्र अर्थतन्त्रको वृद्धि सम्भव छ। नेपालको सन्दर्भमा हेर्ने हो भने ९० को दशकमा पुँजी बजारको सुरुवात भएको थियो। सेयर बजार स्थापनाका सुरुवाती दिनहरूमै रियल सेक्टर(वास्तविक क्षेत्र)का कम्पनीहरू धमाधम बजारमा सूचीकृत भएका थिए।
सोही समय वास्तविक क्षेत्रका कम्पनीहरू लापरबाही तवरले बजारमा भित्रिने क्रम पनि सुरु भएको थियो। सायद त्यो समय पनि ठीक थिएन। सुपरिवेक्षकले पनि सक्षम भूमिका निभाउन सकेका थिएनन्।
सुपरिवेक्षण कमजोर हुँदा त्यस बेला असावधानिक योजनाबाट भित्रिएका कम्पनीहरू डुबेका थिए। कम्पनीसँगै संचालक र सेयरधनीहरू पनि डुबेको अवस्था थियो। सोही कारण वास्तविक क्षेत्रले लगानीकर्ताको विश्वास पनि गुमाउन पुग्यो।
त्यसपछि समय बित्दै गयो र वित्तीय क्षेत्रका कम्पनीहरूको आगमन सेयर बजारमा बढ्यो। बैंकहरू र खास गरी वित्त सेवा प्रवाह गर्ने कम्पनीहरू सेयर बजारमा सूचीकृत हुन थाले। ती कम्पनीहरूको सुपरिवेक्षण र नियामक निकाय बलियो हुँदा कम्पनीहरूले अर्ग्यानिक प्रफिट पनि सृजना गर्न थालेका थिए। वित्तीय संस्थाहरूको आगमन र प्रतिफलको क्षमताले लगानीकर्ताको विश्वास बजार प्रति पुनरागमन हुँदै गएको हो।
मलाई लाग्छ फाईनान्सियल सेक्टर(वित्तीय क्षेत्र)को वेटेज आजको दिनमा सेयर बजारमा करिब ७० प्रतिशत जति छ। बैंक, वित्त, लघुवित्त र वीमा कम्पनीको प्रभुत्व आजको सेयर बजारमा भेटिने गरिन्छ। तर रियल सेक्टरको प्रतिनिधित्व बजारमा एकदमै कम छ।
हरेक विकसित अर्थतन्त्रका मुलुकहरूमा यहाँको भन्दा ठीक विपरीत अवस्था सेयर बजारमा छ। विकसित अर्थतन्त्रहरूमा रियल सेक्टरले सेयर बजार डोमिनेट(हाबी) गरेको हुन्छ। नेपालमा त्यो हुन नसक्नु इतिहासमा भएका केही नराम्रा तथ्यहरू पनि हुन्।
तर हामी सेयर बजारलाई थप बुलन्द बनाएर, वास्तविक बनाएर र वास्तविक सेयर लगानीकर्तालाई भ्यालु क्रियट गरेर अगाडि बढ्ने हो भने हामीले वर्तमान बजारमा अर्ग्यानिक प्रोफिट गरिरहेका कम्पनीभन्दा बाहिर निस्किएर सोच्न आवश्यक छ। अब हामीले वास्तविक क्षेत्रका कम्पनीहरूलाई सेयर बजारमा आकर्षण गर्न आवश्यक छ।
बुक बिल्डिङको प्रक्रियामा धेरै शंका उपशंकाहरू रहेकै कारण पनि वास्तविक क्षेत्रमा कम्पनीहरूलाई सेयर बजारमा भित्राउन सकिएको छैन। अब अलिकति रिस्क लिएर वास्तविक क्षेत्रलाई बजारमा आकर्षण गर्नुपर्छ भन्ने मान्यता मेरो छ।
विश्व बजारका टेस्ला र रिलायन्स जस्ता कम्पनीहरू पनि बुक बिल्डिङ कै मध्यमबाट सेयर बजार आएर ठूला भएका हुन्। यी कम्पनीहरू ठूलो हुनुमा जोखिम वितरण पनि एउटा महत्वपूर्ण कारण हो।
त्यसैले गर्दा बुक बिल्डिङ जरुरी पनि छ। त्यसको लागि हाम्रो तर्फको प्रयास पनि आवश्यक पक्ष हो। बिजमाण्डू प्रालिले आयोजना गरेको बुक बिल्डिङ: वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार विषयक छलफल कार्यक्रममा बुक बिल्डिङको पक्ष विपक्षमा धरै महत्त्वपूर्ण मुद्दाहरू उठेका छन्। सम्बन्धित निकायबाट यसका जवाफ पनि पक्कै पाइनेछ।
मेरो व्यक्तिगत मूल्याङ्कनबाट म बुक बिल्डिङलाई सकारात्मक मान्छु। हाम्रो अर्थतन्त्रका लागि यो एकदमै जरुरी छ। खाससरि अहिलेको परिपेक्ष्यमा जब तरलताको ठूलो समस्या पनि भएको छ। अहिले आर्थिक वृद्धि पनि शिथिल भएको छ। जससम्म हामी सेयर बजारलाई भाइब्रेण्ट(तरङ्गित) बनाउन असक्षम हुन्छौ, तब सम्म हामी अगाडि बढ्न सक्दैनौ। हुन् सक्छ यसमा केही समस्या छन् , तर नेपालको हाम्रो चलन, एउटा नराम्रो पक्ष हेरेर मात्र हामी सबै प्रक्रिया नै गलत भन्ने गर्छौ। विगतमा पनि यस्ता धेरै उदाहरणहरू दोहोरिएका छन्।
अब हामी यसको सकारात्मक पक्ष हेरौँ। पाँच दश प्रतिशत मान्छेले केही बिगार्लान तर ९० प्रतिशतले त बिगार्दैनन्। उनीहरुले भ्यालु याड पनि गर्न चाहन्छन् होला।
म पनि नेपाल धितोपत्र बोर्ड(सेबोन)को संचालक समितिमा थिए। सो समय म स्वयंले बुक बिल्डिङको अवधारणा विकास गर्न धेरै लविङ गरेको याद छ। खास गरी एकदमै राम्रो रेटिङ भएका कम्पनीहरूलाई मात्रै सूचीकृत गर्ने प्रयास गरेका थियौ।
नियामक सेबोनको महत्त्वपूर्ण भूमिका लगानीकर्ताहरूलाई सही तस्विर देखाइदिने पनि हो। यसमा धेरै जोखिम छ भनेर सतर्क बनाउने हो।। तर हाइ रिस्कमा पनि कोही लगानी गर्न इच्छुक छ भने त्यसको लागि सेबोनले रोकेर रोकिने अवस्था हुँदैन। किनभने कुनै लगानीकर्ताले सो जोखिममा आफ्नो अवसर देख्ने गरेको हुन्छ। (बुक बिल्डिङ: वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार विषयक छलफल कार्यक्रममा गोल्छाको मन्तब्यको सारसंक्षेप)