
काठमाडौं। कोपाकावाना ब्राजिलको रियो दि जेनेरियो सहरमा रहेको विश्व प्रसिद्ध बिच (समुद्र तट) हो। चार किलोमिटरमा फैलिएको यो भव्य घुमाउरो समुद्र तटको सुन्दरतामा रम्न दुनियाभरि बाट मानिसहरूको ओइरो लाग्ने गर्छ।
यो समुद्र तट यसको मनमोहक सुन्दरताको साथसाथै वाटरफ्रन्ट गगनचुम्बी होटलहरू, नाइटक्लब, रेस्टुरेन्ट, थिएटर, र बारहरूका लागि पनि उतिकै प्रसिद्ध छ। कोपाकावाना र काठमाडौंको दुरी १४ हजार ८ सय ३८ किलोमिटर छ। झट्ट आउजाउ सम्भव छैन।
भूपरिवेष्ठित मुलुकले समुद्र देख्न, छुन सम्भव छैन। तर सी बिचका रेस्टुरेन्टको अनुभव काठमाडौंको गैरीधारास्थितमा कोपाकावानामा गर्न सकिन्छ। कोपाकावाना रेस्टुरेन्टमा समुद्र तट जस्तै अनुभव लिन मिल्ने बनाइएको छ, त्यो पनि छतमा।
कोपाकावाना रेस्टुरेन्ट गैरीधारा सडकस्थित एभरेष्ट बैंक रहेको कर्पोरेट भवनको छैटौं तल्लामा छ। लिफ्टबाट निस्केर रेस्टुरेन्ट भित्र पस्नेबित्तिकै तपाईको आँखा कृत्रिम हरियालीले भरिएको भित्तामा ठोकिनेछ। उक्त भित्ता कृत्रिम घाँस लगायत ट्रोपिकल क्षेत्रमा पाउने विभिन्न रुखबिरुवाहरूको रंगीचंगी पातहरूले सजिएको छ। यहाँ प्रवेश गर्ने बित्तिकै कर्मचारीले मुस्कानका साथ स्वागत गर्छन्।
फिरोजा नीलो, प्राय: हरियो, नीलो र क्रिमी सेतो रंगलाई प्रमुख थिम राखेर पुरै रेस्टुरेन्ट नै यही रंगहरूको डेकोरेसन र फर्निसिनङले सजिएको छ। यी रंगहरूले रेस्टुरेन्टको वातावरण नै समुन्द्र तटमय बनाएको छ।
सन् २०१०मा ब्रिटेनको एक युनिभर्सिटीबाट हस्पिटालिटी र टुरिजममा स्नातक गरेका उत्सव दाहालले लामो समय दुबईको पाँचतारे होटलहरूमा काम गरेको र नेपालको हस्पिटालिटी क्षेत्रमा पनि चार वर्षको अनुभव लिएका दाहालले नेपालीलाई ट्रोपिकल भाइब्स दिने र ल्याटिन अमेरिकन कुजिनको स्वाद पस्कने उद्देश्यले कोपाकावाना रेस्टुरेन्ट खोलेका हुन्।
‘साउथ अमेरिकन कुइजिनमा वेस्ड रेस्टुरेन्ट काठमाडौंमा औंलामा गन्न मिल्ने जति छ। त्यसैले पनि हामीले यो कुइजिन रोजेको हो। त्यस माथि पनि मलाई सधैं एउटा ट्रोपिकल भाइब्स दिने खालको रेस्टुरेन्ट खोल्नु थियो। त्यही भिजनअनुसार हामीले यो रेस्टुरेन्ट डिजाइन गरेका हौं,’ उत्सव बताउँछन्।
रेस्टुरेन्टको नाम ‘कोपाकावाना’को भावलाई दर्साउने गरी रेस्टुरेन्ट प्रवेश गर्दै गर्दा दायाँ पट्टिको भित्तामा समुन्द्र तटमा देखिने विभिन्न रंगहरूको मिश्रणमा रियो दि जेनेरियो लेखिएको ठुलो आर्टवर्क पनि छ। त्यसको ठीक अगाडि पट्टि आठदेखि १०जना सम्म अट्ने मीटिङ रूम छ।
अलि अगाडि बढ्दै जाँदा ठिक अगाडि फुल-बार, बार नपुग्दै दायाँ पट्टि लाइम हरियो फोमको भित्तामा अंग्रेजीमा कोपाकावाना र रेस्टुरेन्टको लोगो सहितको डिजिटल साइन बोर्ड छ, जसले रेस्टुरेन्टको सुन्दरतालाई अझै उकासेको छ। त्यसको मुनि फराकिलो जोइन्ट सिटिंङ र बाँया दुई पट्टिको भित्तामा दुइटा एलइडी टीभी, भित्ताभरि समुन्द्री जीवन दर्साउने विभिन्न समुन्द्री जीवहरूको तस्बिर भएको वालपेपर। त्यस अगाडि खुल्ला आकाश मुनि ट्रफन सिसाको छात र सिटिङ एरिया।
फुटबल र क्रिकेटको म्याचहरू भइरहेको बेला लाइभ स्ट्रिमिङकको लागि प्रोजेक्टरको पनि व्यवस्था छ। रेस्टुरेन्टको बाँया लाइभ म्युजिकका लागि फराकिलो स्पेस छ, त्यस अगाडि काठे भर्यांङ चढ्दै माथिलो तल्लामा पुग्न सकिन्छ।
राजस्थानी पेब्ब्लसको फ्लोरिङ र म्याक्रेम लेसमा झुन्डिएको गमलाहरू र म्याक्रेम लेसक डोरीका लच्छाहरू, पुरै भित्ता नै छोपिने सुन्दर समुन्द्र तटको वालपेपर, गमलामा पाल्मका स-साना बोटबिरुवाहरू, आँखालाई आनन्द दिने आकर्षक ट्रोपिकल ह्यांगिङ लाइट्स तथा वार्म लाइट्स र खुल्ला आकाश। यहाँ समुद्र तटमा महसुस गर्न सकिने जस्तै हावाको झोकाहरू महसुस गर्न सकिन्छ । यहाँको हरेक सजावटहरूले समुन्द्र तटको झल्को दिन्छ।
काठमाडौंको दृश्य ३६० डिग्रीमा देखिने
आज भोलि खानको लागि भन्दा पनि फोटोको लागि रेस्टुरेन्टहरू जाने ट्रेन्ड बढ्दै छ। यही ट्रेन्डलाई मध्यनजर गरेर फोटो खिच्न कै लागि भनेर राडियमको फोटोबुथ पनि माथिल्लो तल्लामा छ। पृष्ठभूमिमा काठमाडौं उपत्यकालाई राखेर ट्रफेन सिसाको छतमा उभिएर पनि मज्जाको फोटो खिच्न धेरैले रुचाउने उत्सवले बताए।
यहाँबाट पाँचवटा पाँचतारे होटल (अलोफ्ट, म्यारियट, एम्बेसेडर, रेडिसन, विभान्ता), नारायणहिटी दरबार, शिवपुरी, चन्द्रागिरि हिल्स, वाइट गुम्बा, स्वयम्भू लगायत काठमाडौं उपत्यकाको ३६० डिग्री दृश्य हेर्न सकिन्छ।
३२ सय वर्ग फीटमा दुई तलामा फैलिएको यो रेस्टुरेन्टमा ११० जनाको लागि कम्फर्टेबल सिटिङ्स छ भने इभेन्ट र पार्टीहरूक लागि २४० जनासम्म एकै साथ सर्व गर्ने क्षमता भएको उत्सवले बताए।
‘सामान्यतया विद्यार्थीदेखि लिएर उच्चस्तरीय व्यक्तित्व, सेलिब्रेटीसम्म सबै वर्गका मानिसहरू यहाँ आउँछन्। हामीले कुनै मार्केटिङ नगरेको हुनाले, हाम्रा करिब ८० प्रतिशत ग्राहकहरू दोहोरिएका छन्। र, धेरै जना यहाँ वर्ड अफ माउथले गर्दा पनि आउनु हुन्छ,’ उत्सव भन्छन्।
उत्सवका अनुसार ग्राहकहरू दोहोरिनुमा यहाँको रमाइलो वातावरण, न्यानो आतिथ्यता, खाना को स्वाद, र उचित मूल्यको ठूलो हात छ। ‘हामी सबै ग्राहकहरुलाई समान रुपले व्यवहार गर्छौं, चाहिँ त्यो हजारौ रुपैया खर्च गर्ने हाई प्रोफाइल पर्सनालिटी होस् या एउटा कोक मात्रै खाने पढ्दै गरको एउटा विद्यार्थी । कस्टमर सर्भिसदेखि लिएर खानाको स्वादसम्म सबैलाई समान हुनुपर्छ,’ उनी भन्छन्।
खानाको कुरा गर्दा यहाँ स्टार्टरदेखि डेजर्टसम्म गरि ८० भन्दा बढी परिकारहरू पाइन्छ, जसमध्ये करिब ४० प्रतिशत मेनु ल्याटिन अमेरिकन खानाले ओगटेको छ। साथै कोपाकावाना रेस्टुरेन्टले फुल बार पनि अफर गर्छ, जहाँ ग्राहकहरूले कफीदेखि सबै खालका मकटेल, ककटेल र ड्रिंकहरु इन्जोय गर्न सक्छन्।
यहाँको बारको पनि एउटा खासियत छ। बारको स्याल्बमा रेजिङको प्रयोग गरेर समुन्द्रमा छालहरू उछालिरहेर समुन्द्र तटतिर आए जस्तै गरेको आर्टवर्क छ, जुन निकै आकर्षक छ।
ल्याटिन अमेरिकी खानासँगै इन्डियन, नेपाली, इटालियन र कन्टिनेन्टल
‘पुरा मेनु नै ल्याटिन अमेरिकी खानामा आधारित भएर बनाउदा हामी आयातमा निकै भर पर्न पर्ने हुँदा हामीले केही इन्डियन (बिरयानी), केही नेपाली (छोइला, खाना सेट), केही इटालियन (पिज्जा, पास्ता), केही कन्टिनेन्टल खानाहरू पनि मेनुमा राखेका छौं,’ उत्सवले सुनाए।
‘ल्याटिनो खानाको वास्तविक स्वादलाई कायम राख्छौं, हामी जिब्रोले रुचाउने खानाहरू पनि पस्कन प्रयास गर्छौं। हामी हयालपिनो खुर्सानी, श्रीम्प पेस्ट, ल्याटिनो मसलाहरू प्रयोग गर्छौ, जुन ल्याटिनो खानको विशेषता हो,’ उनले भने।
उत्सवका अनुसार सेभिचे सलाद, खांगी चिकन, एन्चिलाडा, नाचोस, बफेलो विङ्स, ड्रम्स अफ ब्राजिलियन, बिरयानी, सिजलर ग्राहकहरूले सबैभन्दा बढी रुचाएका परिकाहरू हुन् ।
साढे दुई करोडको लगतमा बनेको यो रेस्टुरेन्टमा पार्किङको पनि राम्रो व्यवस्था छ। उक्त भवन कै अन्डर ग्राउन्डमा रहेको पार्किङमा ५० ओटा दुई पांग्रे र ४ वटासम्म ४ पाङ्ग्रे गाडी पार्क गर्न मिल्छ भने त्यहाँबाट दुई मिनेटको पैदल दूरीमा पार्किङ कै लागि ठूलो स्पेस नै छ।
‘हामीसँग अहिले २० जना कर्मचारी हुनुहुन्छ। धेरैजसो विद्यार्थी हुनुहुन्छ। पार्ट टाइम वर्क कल्चरको विकास गर्नको लागि पनि हामीले विद्यार्थीहरूलाई काममा राखेका हौं। यसरी पढाई साथै उनीहरूसँग कामको पनि अनुभव जम्मा हुने भयो,’ उनले भने।
४ महिनाअघि खोलेको रेस्टुरेन्टलाई केही समयपछि पोखरा र झम्सिखेलमा पनि बिस्तार गर्ने उत्सवको सोच छ। यो रेस्टुरेन्ट खानाको साथै फोटोको पारखीहरूको लागि निकै नै आकर्षक गन्तव्य छ।