
काठमाडौं। दरबारमार्गको लण्डन पब 'ह्याङआउट'को नयाँ थलोका रूपमा परिचित बन्दैछ। अन्तर्राष्ट्रिय शैली पछ्याउँदै अण्डरग्राउण्डमा तयार पारिएको पब नाइट लाइफमा रमाउने वर्गका लागि नयाँ गन्तव्य हो।
साथीभाईसँग जमघट गर्ने स्थान खोज्नेहरुका लागि मात्र नभई एक्लै रमाउन चाहनेहरु पनि लण्डन पब जान सक्छन्। दरबारमार्गमा नारायणहिटी संग्रहालय छेवैको दरबार वान मलमा छ लण्डन पब।
सुन्तले रंग लगाइएको भित्ताभरी बिटल्स लगायतका विभिन्न अन्तर्राष्ट्रिय संगीत समूहका फोटो हेर्दै अघि बढ्दा भित्र मधुरो प्रकाश देखिन्छ। बाँया झलमल बार, ड्राफ्ट बियरको ब्यारल, दायाँपट्टि राखिएको डार्ट्स मेसिन (गेम) अनि लाइभ स्ट्रिमिङ भइरहेको एलइडी टीभी। सिलिङमा प्रयोग गरिएको कालो रङ र भित्तामा लगाइएको सुन्तले रंगले वातावरणलाई अझ बढी आकर्षक बनाएको छ।
'पब' को विदेशी शैली अनुसार नै लण्डन पब अण्डरग्राउण्डमा तयार गरिएको हो। नेपालमा पनि पब कल्चर बढ्दै गर्दा लामो समय विदेश बसेर हस्पिटालिटी अनुभव लिएका प्रकाश घिमिरेले लण्डन पब खोलेका हुन्। नेपाल आउने विदेशी पर्यटकले खोजे जस्तो पब सञ्चालन गर्नु र नेपालीहरुलाई पनि विदेशी पबको जस्तै अनुभव दिने उद्देश्यले लण्डन पब खोलेको प्रकाश बताउँछन्।
पेसाले सिभिल इन्जिनियर प्रकाशले २५ वर्ष निर्यात व्यवसायको क्रममा बिभिन्न देशहरुमा समय बिताए। दिनभर काममा ब्यस्त बनेपनि साँझको रिफ्रेसमेन्टमा उनी आफैं पनि निकै रुचि राख्ने स्वभावका थिए। विदेश बसाइका क्रममा उनले जापानमा पनि रेष्टुरेन्ट सञ्चालन गरे। जापानको रेष्टुरेन्ट पनि पब शैलीमै आधारित थियो।
खासमा पब भनेको के हो त?
पब शैलीबारे प्रकाश यसरी बुझाउँछन् – 'पब भनेको यस्तो ठाउँ हो जहाँ मानिस आउँदा मानिस साथीभाईसँग मात्र होइन एक्लै पनि रमाउन सक्छ। सबै किसिमको स्वभाव भएका मानिसलाई समेट्न सकिने ठाउँ हो पब। दोहोरी, गजल वा लाउन्जमा एकैनासको रुचि वा उमेर समूह भएकाहरु जाने गर्छन्। तर पब भने सबै उमेर समूहका लागि उपयुक्त ह्याङआउट गर्ने ठाउँ हो। यहाँ एक्लै आउँदा पनि एक्लोपन महसुस हुँदैन।'
प्रकाशका अनुसार विदेशमा दिनभरीको थकान मेट्न पब जाने चलन छ। जहाँ खानु पिउनुसँगै गेम खेल्ने, लाइभ ब्याण्डको गीतसंगीत सुन्ने अनि लाइभ स्ट्रिमिङमा रमाउन सकिन्छ। दरबारमार्गको पबमा पनि यस्तै शैलीको वातावरण तयार पारिएको उनले जानकारी दिए।
पब कल्चर बेलायतबाट सुरु भएकै कारण यो पबको नाम नै 'लण्डन पब' राखिएको उनी बताउँछन्। आफ्नै परिकल्पनामा दुई वर्ष अघि सुरु भएको पबको इन्जिनियरिङ र इन्टेरियरमा उनले आफ्नै ज्ञान र सीप प्रयोग गरेका छन्। नेपालमा आफूले विशुद्ध पब कल्चर नभेटेकै कारण यो पब सञ्चालनमा ल्याएको उनको भनाइ छ। पबमा आउने विदेशीहरुले साँच्चै उतैको जस्तो पबको झल्को पाएको प्रतिक्रिया दिँदा सफल भएझैं लाग्ने उनी बताउँछन्।
लण्डन पब एकैपटक एक सय ६० जना अट्ने गरी तयार पारिएको छ। तीन हजार वर्गफिटमा तयार पारिएको एम्बियन्समा पार्टी इभेन्ट गर्दा भने चार सय जना क्षमता रहेको उनले जानकारी दिए। यहाँ हरेक दिन सबै उमेर वर्ग लक्षित सुगम संगीत, रक पप, साल्सा लगायत लाइभ इभेन्ट आयोजना हुने गर्छ। पबमा महिनाको एकपटक चर्चित नेपाली कलाकारले लाइभ प्रस्तुति दिने गरेका छन्। पबमा युवाहरु मात्र होइन वयस्क र वृद्धहरु पनि आउने गरेको प्रकाशले बताए।
हस्पिटालिटीको २५ वर्षे अनुभव पबमा
अढाइ दशक सेवा क्षेत्रमा बिताएका प्रकाश आतिथ्यतालाई प्राथमिकतामा राख्छन्।
'पसल होस् या रेष्टुरेण्ट आतिथ्यताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जुन सेवा र आतिथ्यता विदेशी पबमा दिइन्छ, त्यही स्तरको सेवा यहाँ पनि दिने मेरो लक्ष्य हो,' उनी भन्छन्, 'यहाँ धेरै रेष्टुरेण्ट र लाउन्ज छन्। परिकार, पेय पदार्थ पनि सबैमा उस्तै नै छन्। अरुभन्दा राम्रो बन्ने नै सेवा, आतिथ्यता र अथेन्टिक कल्चरले हो। ५ सय खर्च गर्ने हुन् वा ५० हजार प्रत्येक ग्राहकले एउटै आतिथ्यता पाउनुपर्छ।'
उनले हरेक ग्राहकले गेटबाटै कम्फर्ट फील गराउन स्टाफहरुलाई त्यसै अनुसार तयार पारेको बताए। फर्कँदा पनि उसैगरी 'सी यु एगेन' अनुभूति गराउन सक्नु आफूहरुको खुबी भएको उनको भनाइ छ। पबमा २० जना कार्यरत छन्।
एक हजारमै पबको अनुभव
पबमा प्रवेश गरिसकेपछि ग्राहकले जुनसुकै स्वदेशी र विदेशी ब्राण्डको पेय पदार्थ लिन सक्नेछन्। कुनै पनि कम्पनीसँगको सम्झौतामा सीमीत ब्राण्डमात्र नराखिएको उनले बताए। पबमा खानाको तुलनामा ड्रिंक्सलाई उच्च प्राथमिकता दिइएको हुन्छ। रियल पबमा लाउन्ज, रेष्टुरेण्टको जस्तो विविध फुड मेनु दिइएको हुँदैन।
'डिनरै गर्न भनेर कोही पब जाने पनि होइन। त्यसैले फुड मेनुमा प्राय फ्राइज आइटम राखिएको छ। लाइट र इजी फुड राखिएको छ।' उनले भने।
नेपाली शैली र माग अनुसार पिज्जा, बर्गर, फ्रेन्च फ्राइ, नाचोज सँगै बिरियानी, पाथ थाइ लगायत मेनु थपिएको उनले जानकारी दिए। प्रकाशले आफ्नै रेसिपीमा चिकेन 'पाङ्ग्रा' को आइटम पनि बनाएका छन्। लण्डन पब जानेले पाङ्ग्रा र बिरियानीको कम्बिनेसन रुचाएको उनले बताए।
पबमा ग्राहकले न्यूतम एक हजार रुपैयाँमै स्न्याक्स र ड्रिङ्क्सको मेनु लिन सक्ने छन्। 'पब' भन्ने बित्तिकै महंगो होला भन्ने आम बुझाइलाई चिर्न रिजनेबल रेटको मेनु तयार पारिएको प्रकाशको भनाइ छ।
दरबारमार्गमा मात्र सञ्चालनमा आएको लण्डन पब देशका अन्य पर्यटकीय शहरहरुमा पनि बिस्तार गर्ने योजनामा पनि प्रकाश काम गरिरहेका छन्। उनी भन्छन्-'त्यसअघि यहीँ लण्डन पबलाई स्थापित गर्नु छ। नेपालमा पब कल्चरको पर्याय नै बनाउनु छ।'