तीन दशकको बैंकिङ करिअरमा ज्ञानेन्द्र ढुंगानाको अल्पविराम: ‘म रिटायर्ड भएको हो टायर्ड होइन’

बिजमाण्डू
२०७८ पुष २८ गते १०:१३ | Jan 12, 2022
तीन दशकको बैंकिङ करिअरमा ज्ञानेन्द्र ढुंगानाको अल्पविराम: ‘म रिटायर्ड भएको हो टायर्ड होइन’


काठमाडौं। संस्थापक सेयर बेचेर बाहिरिने बंगलादेशी लगानीकर्ताको तयारीबीच नेपाल बंगलादेश बैंक (एनबी)का लागि महत्त्वपूर्ण निर्णयको घडी आएको छ। एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। 

Tata
GBIME
Nepal Life

एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय ढुंगाना अब के गर्छन्? 

नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय जिम्मेवारी हुँदै एनबीसम्म आइपुगेको हो। 

राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष 'सेकेन्ड म्यान' को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका हुन्।

पुस १२ मा एनबी बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नयाँ भूमिकामा देखा परे भने बैंकरहरुबीच नौलो घटना मानिने छैन। किनभने उनी वित्तीय क्षेत्रमा काम गर्न अनुभवी र ऊर्जाशील मानिन्छन्। 

उनी जुनबेला एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए- त्यसबेला बैंकको खराब ऋण अनुपात (एनपीए) १८ प्रतिशत थियो। ४ अर्ब रुपैयाँ जति बिग्रिएको ऋण वासलातबाट हटाइएको (राइट अफ) थियो। बैंक नोक्सानीमा थियो। पुँजी पर्याप्तता अनुपात (सीएआर) ४ प्रतिशतमा झरेको थियो।

ऋण जम्मा ९ अर्ब रुपैयाँ थियो। निक्षेप ११ अर्ब रुपैयाँ थियो। सञ्जाल १२ वटा थिए। व्यापार व्यवसाय गर्न राष्ट्र बैंकले रोक लगाएको थियो। वित्तीय अवस्था असाध्यै खराब थियो।

त्यस्तो बैंकलाई आज ढुंगानाले नाफामा मात्र होइन, सबै वित्तीय सूचकलाई राम्रो बनाएका छन्। हरेक वर्ष लाभांश बाँड्ने क्षमतामा पुर्‍याएका छन्। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्था (एक संस्थामा बढीमा दुई कार्यकाल) अनुसार उनी अवकाश भएका हुन्। ३० वर्ष लामो बैंकिङबाट ढुंगानाले अल्पविराम लिएका छन्। उनी वित्तीय क्षेत्रमै फर्किने र योगदान गर्ने योजनामा छन्। यद्यपि राष्ट्र बैंकको 'कुलिङ पिरियड' ले उनलाई ६ महिना भने रोक्छ।

'म अहिलेलाई रिटायर्ड भएको हो, टायर्ड होइन,' उनले बिजमाण्डूसँग भने। बजारमा भएको चर्चालाई पत्याउने हो भने- उनले जेठपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुने छन्। 

उनले नेतृत्व गरेको बैंकलाई देशको पहिलो विदेशी संयुक्त लगानीको नबिल बैंकले प्राप्ति गर्ने लगभग तय भएको छ। एनबि बैंकको मुख्य साझेदार रहेको बंगलादेशको आएएफआइसी बैंकले आफ्नो सबै सेयर गर्ने सम्भावित खरिदकर्तासँग सम्झौता गरिसकेको छ। कम्पनीले खरिदकर्ताको नाम नखुलाए पनि नबिल बैंकको मुख्य साझेदार चौधरी समूहकी सदस्य सारिकाले सबै सेयर खरिद गर्दैछिन्।

सबै कुरा टुंगो लागिसकेका हिसाबले दुवै संस्थाबीच चाँडै मर्जरको औपचारिक समझदारी हुँदैछ।  

संयोगले बैंकर

वित्तीय क्षेत्रमा सक्रियताअघि ढुंगानालाई बैंकर हुन्छु भन्ने कहिल्यै लागेको थिएन। तर करियर ३० वर्ष नाघ्दै गर्दा उनलाई बैंकिङ छाडेर अर्को क्षेत्रमा जान मन पनि छैन।

'मैले आइकम पढ्दा नै सीए पढ्छु भन्ने सोचेको थिएँ। बीकम सकिएपछि सीए पढ्न इन्डिया हिडेँ,' सञ्चारको पहुँच नभएको बेला तेह्रथुमबाट काठमाडौं पढ्न आएका उनले भने, 'त्यसैले  घरमा सल्लाह नै गर्न पाइएन। साथीभाइसँग हिँडे।' 

साथीहरु शेखर सिटौला, अरुण पराजुलीलगायत थिए। अनल भट्टराई (पूर्व बैंकर) अगाडि नै गइसकेका थिए। त्यसैले उनीहरुसँग दिल्लीमै भेट भयो। दिल्लीमा आफैं डेरा खोज्ने, पढाइका लागि भर्ना हुने सबै काम आफैं गरे। उनी एक पटक फेल नभइ सीए पास भए।

सीए पढेर नेपाल आइसकेपछि एक/दुई महिनाकै अन्तरालमा बैंक अफ काठमाण्डू दर्ता हुने प्रक्रियामा थियो। 

बैंक अफ काठमाण्डूले मान्छे मागेको थियो- खासगरी सीए। ज्ञानेन्द्रले जाँच दिए। अन्तर्वार्ता भयो। उनी पास भए अनि सुरु भयो अविराम बैंकरको करिअर।

'सीए पढिसकेपछि कि त आफ्नै फर्म खोलेर प्राक्टिस गर्ने भन्ने हुन्थ्यो, नभए जागिर खाने भन्ने हुन्थ्यो। सुरुमै बैंकमा छिरेपछि बैंकमै रस बिझिहाल्यो,' उनले भने, 'जागिर चाहिएको थियो, त्यही बेला जागिर खुल्यो। म संयोगले बैंकर बने। अरुतिर जागिर खुलेको भए अरुतिरै खान सकिन्थ्यो होला।' उनी बैंक अफ काठमाण्डू सिनियर अफिसरमा छिरेका थिए। 

त्यसपछि बीचमा नेपाल बैंकमा फर्स्ट क्लासमा जागिर खुल्यो। उनले आवेदन दिए, छनोट पनि भए। तर, त्यहाँका कर्मचारीले उनलाई बस्ने सिट नै दिएनन्। त्यसको एक सातामा राजीनामा गरेर उनी पुन: बैंक अफ काठमाण्डू फर्किए। बैंक अफ काठमाण्डूमा उनी जनशक्ति व्यवस्थापन विभाग, कम्पनी सचिव, सामान्य सेवा विभागमा बसेर काम गरे। 'त्यहाँ सात वर्ष मैले काम गरेपछि उनको नाम नियामक नेपाल राष्ट्र बैंकमा निस्कियो। बैंक छाड्दा उनी प्रबन्धक भइसकेका थिए र क्रेडिट विभाग हेर्थेँ,' उनले भने। 

'बैंक भनेको नदि थियो, राष्ट्र बैंक सागर। त्यसैले एकपटक राष्ट्र बैंकमा पनि काम गर्ने रहर भयो। केन्द्रीय बैंकको ओभरल कन्ट्रीको मनिटरी पोलिसी बनाउने, वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण गर्ने रोल देखेर म लोभिएको थिएँ,' उनले भने, 'त्यहाँ राष्ट्रिय/अन्तर्राष्ट्रिय एक्सपोजर थियो।' 

रहरकै कारण उनले केन्द्रीय बैंक ताके। बैंक अफ काठमाण्डूमा पाइरहेको सुविधाका तुलनामा राष्ट्र बैंक आकर्षक भने थिएन। उनले पाइरहेको तलबभन्दा ७५ प्रतिशत कम सेवा सुविधा भएको राष्ट्र बैंक उनी उपनिर्देशकमा छिरेका थिए। त्यो बेला राष्ट्र बैंकले निर्देशक पनि बाहिरबाट नियुक्त गर्थ्यो। अहिले भने सहायक निर्देशकभन्दा माथि बाहिरबाट लिँदैन। 

उनले राष्ट्र बैंकमा १० वर्ष काम गरे। त्यसबीचमा उनले धेरै विभागमा काम गर्न पाए। सुपरिवेक्षण विभागमा काम गरे, पोखरा सरुवा भयो त्यसपछि। त्यहाँ काम गरेपछि उनको बढुवा भएर निर्देशक भए। त्यसपछि उनी केही समय लघुवित्त विकास विभागमा गए। अनि राष्ट्र बैंकबाट पढ्नका लागि अष्ट्रेलिया गए। त्यहाँ  फाइनान्सियल डेरिभेटिभ र बैंक म्यानेजमेन्टमा उनले स्नातकोत्तर गरे। फर्किएर आएपछि दुई वर्ष राष्ट्र बैंकमा काम गरे बैंकिङ विभाग थापाथलीमा। उनलाई काठमाडौं छाडेर बाहिर काम गर्न मन थिएन तर राष्ट्र बैंकमा उनको सरुवा नेपालगञ्ज भयो। सरुवामा उनी सहमत थिएनन्, त्यसपछि जान नसक्ने भन्दै राष्ट्र बैंक छाडे।

'पैसाका लागि राष्ट्र बैंक छाडेर निजी बैंकमा आएको होइन। अलिकति व्यक्तिगत कारण भयो। निजी क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर सोचिरहेको थिएँ। त्यो बेला कुलिङ पिरियड थिएन। मैले अवसर पाएँ पनि,' उनले भने, 'छैटीले कहाँ लेखेको छ त्यतै जाने रैछ। राष्ट्र बैंक बसेको भए थप बढुवा हुन्थ्यो होला। अब निजी क्षेत्रमा आएपछि किन पछुतो गर्नु र !'

उनले राष्ट्र बैंक छाडेको ११ वर्ष भयो। उनी सुरुमा एनसीसी बैंकमा गए। त्यसपछि एनबीमा बैंकमा सीइओ खाली भयो र उनी त्यहाँ आए। 

'पहिलो दुई वर्ष मेरो कार्यकाल परीक्षण अवधिजस्तै थियो। बैंकको सुधार पनि त्यही दुई वर्षमा गरियो। त्यहाँ गरिएको कामका कारण परफर्मेन्स राम्रो देखेपछि मलाई ४ वर्षको गरेर दुई कार्यकाल थप भयो,' उनले भने। 

शिक्षित परिवार

उनका बुबा उसबेलैका स्नातक हुन्। २०१४ सालमा बुबाले एसएलसी पास गरेका थिए। त्यसैले पढ्नु पर्छ भनेर बुबाले हौस्याउने भएर ज्ञानेन्द्र कहिले पनि दोस्रो हुनु परेन। एक कक्षाबाटै  फर्स्ट ब्वाइ थिए। 

तर एसएलसीसम्म ठिकठाक गरेका उनले बुबाको इन्जिनियर बनाउने सपना भने पुरा गर्न सकेनन्। 

बुबाको इच्छा इन्जिनियर पढाउने थियो। तर इन्जिनियरिङमा नाम निस्किएन। नाम ननिस्किएपछि बुबाले नै कमर्स पढ्न प्रेरणा दिए। बुबाले नै  चार्टर्ड एकाउन्टेन्ट पढ्नु पर्छ भनेर पनि हौस्याइरहे। 

इन्जिनियरिङमा नाम ननिस्किएन। अरु कलेजमा पनि भर्न हुने समय टरिसकेको थियो। उनी धरानमा हानिए। त्यहाँ चिनेजानेकालाई भनेर धरानको कलेजमा भर्ना भए। त्यसपछि ट्रान्सफर गरेर काठमाडौं आए। 

एनबी बैंकमा अप्ठ्यारा काम

एनबी बैंकमा पुँजी पर्याप्तता अनुपात कम भएकाले शीघ्र सुधारात्मक कारवाहीमा परेको थियो, त्यसो हुँदा व्यापार गर्न पाइँदैन। शीघ्र सुधारात्मक कारवाहीपछि बैंकलाई सुधार गर्न निकै गाह्रो हुन्छ। बैंक समस्याको अर्को चक्रमा फस्छ। 

त्यो बेला गभर्नरमा डा. युवराज खतिवडा थिए। उनले पुँजी पर्याप्तता अनुपात तोकिएको सीमा अर्थात १० प्रतिशतमाथि ल्याउन तीन महिनाको समय ज्ञानेन्द्रलाई दिए। 

उनले बैंकलाई ठिक ठाउँमा ल्याउन सक्दो प्रयास गरे र सफल भए। त्यो बेला केही सञ्चालकहरुलाई नै कालोसूचीमा राखेर उनले ऋण उठाएका थिए। 

'त्यो निकै अप्ठेरो काम थियो। ती कदम नचालेको भए बैंक बचाउन सकिँदैन थियो,' उनले भने, 'जति पनि एनपीए थिए ती यसैगरी सृजित थिए। रिकभरी कारवाही गर्न अप्ठेरो हुने व्यक्तिको लिष्ट थियो। त्यो हिम्मत नगर्ने भए बैंक टिक्दैन थियो,' उनी भन्छन्।

उनले क-कसले कर्जा नतिर्नेहरुको सूची तयार पारे। कर्जा उठाउने व्यक्तिको मापदण्ड तयार पारे। त्यो मापदण्डमा को पर्छ को पर्दैन भनेर हेरेनन्। 

त्यसरी बनाएको मापदण्डमा पूर्व गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठ नै परे। उनलाई बैंकले कालोसूचीमा राख्यो। ऋण तिर्न आउने सार्वजनिक सूचना नै जारी गर्‍यो। नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष चण्डीराज ढकाल, एनबी समूह, जो बैंकको सञ्चालक समितिमा थियो, त्यसका सदस्यहरुलाई कालोसूचीमा राखे। 

'पहिलो वर्ष नै घाटाबाट नाफामा गयौं। दोस्रो वर्षदेखि नै लाभांश दिन थाल्यौं,' उनले भने। आज फर्किएर हेर्दा बैंकले यो बीचमा ११२ प्रतिशत बोनस सेयरसहित र १५६ प्रतिशत कुल लाभांश दिइसकेको छ। सेयर मूल्य १०७ रुपैयाँ थियो। बोनस सेयरबाट पुँजी बढाइयो, एक पटक ८० प्रतिशत हकप्रद जारी गर्नु पर्‍यो। १०७ रुपैयाँको मूल्य आज चार गुणा र नेटवर्थ त्यसैगरी बढेको छ। 

'यो भनेको नै मेरो सफलता हो,' उनले भने। उनले बैंकको ब्राण्ड इमेज सुधारका लागि नाम फेर्न खोजेका थिए। नेपाल र बंगलादेशको नाम भएकाले परिवर्तन गर्न गाह्रो भयो। तर त्यही नाम बोकेर पनि आज नेपाल बंगलादेश देशको सबल र सुदृढ बैंकका रूपमा गनिन्छ। 'अब नयाँ जेनरेसनले पहिले के भएको थियो भनेर थाहा पाउँदैन। पुरानालाई मात्र थाहा हुने हो,' ढुंगानाले भने, 'सुरक्षित तवरले अवतरण गराउनु भनेको त्यो ठूलो सफलता हो। यो बैंकले मलाई पनि दियो। म्यानेजर अफ दि इयर भएँ। एनबीएको प्रेसिडेन्ड भएँ। मैले पनि बैंकलाई त्यो अवस्थाबाट यो अवस्थमा ल्याइ पुर्‍याउँदा खुसी लाग्छ।'

बैंकको संरचनामा परिवर्तन

बैंकको सबैभन्दा ठूलो युटर्न भनेको सेयरधनीको संरचना परिवर्तन हो। स्थानीय साझेदारको सेयर उनले बंगलादेशको बैंकलाई बिक्री गराए त्यो पनि २६० रुपैयाँ प्रति कित्ताका दरमा। यो नै बैंकको टर्निङ प्वाइन्ट थियो। 'त्यसपछि हस्तक्षेप नगर्ने सञ्चालक समिति बन्यो, यसले गर्दा बैंकलाई अगाडि बढाउन सजिलो भयो,' उनले भने। 

उनकै पहलमा बैंकबाट बंगलादेशको आइएफआइसी बैंक बाहिरिँदैछ। 'यसलाई टुङ्ग्याउने मेरो रहर थियो। बैंक एउटा सुरक्षित हातमा जाओस् भन्ने थियो। मेरो कार्यकालमा त्यो सम्भव नभएपछि प्रस्थान बिन्दुमा पुर्‍याएको छु,' उनले भने।

उनलाई नेपाल बंगलादेश बैंकको व्यापार अरु बैंकजस्तरी बढाउन नसकेकोमा भने केही दुःख लाग्छ। उनी व्यापार बढाउन चाहिरहेका थिए। त्यही बेला कोभिड सुरु भयो। बंगलादेशी साझेदारले अहिले जोखिम उठाउने बेेला होइन भनेर उनलाई रोके। 

'उनीहरु नेपाल आउजाउ गर्न पनि गाह्रो। यसले गर्दा व्यापार बढाउन सकिएन। त्यही भएर लोकल (स्थानीय) साझेदार भइदिए हुन्थ्यो भन्ने खोजेका थियौं,' उनले भने, 'यसका लागि कि मर्जरमा लैजानुपर्ने कि मेजोरिटी बिक्री गर्नुपर्ने अवस्था थियो।' कोभिड अवधिभर ज्ञानेन्द्र ढुंगाना बैंकर पनि र सुशासनमा बसेको समूह पनि खोज्नतिर लागे। 'सेयर बिक्री गर्न सक्ने अवस्थामा पुर्‍याउन हामीलाई डेढ वर्ष लाग्यो। मेरो सोचाइ म हुँदै भइसक्छ भन्ने थियो,' उनले भने। 

उनका अनुसार, अब बैंक सुरक्षित हातमा पुग्ने छ। 

'बाहिरको साझेदारले हामी नेपालमा नबस्ने भनेपछि हामीले यहाँबाट राम्रो पहल गरिदिने हो। ४१ प्रतिशत सेयर लिने अर्को मान्छे बैंकर हो भने उसले मर्जर नै गर्ने उद्देश्यले गर्छ। नाम हराउला तर कर्मचारी सेयरधनी निक्षेपकर्ता र ऋणीको हित हुने गरी मर्जर हुन्छ। यो समयको माग पनि हो,' उनले भने। 

उनी नबिल र एनबी बैंकको मर्जर प्रक्रियामा नजिकबाट सहभागी छन्। दुवै बैंक मर्जरका लागि औपचारिक समझदारी गर्ने चरणमा छन्। ज्ञानेन्द्र आफ्नो सबै शक्ति मर्जर सफल बनाउन खटिएका छन्। 

६ महिना कुलिङमा रहेका ढुंगानाले अन्त्यमा भने- 'भोलि परिस्थिति राम्रो बन्यो, अवसर आयो भने बैंकिङ नै गर्ने हो। ३० वर्षदेखि गरेको क्षेत्र यही हो। त्यसैले अहिलेलाई म रिटाययर्ड भएको हो टायर्ड होइन।'