हिन्द टर्मिनलपछि प्रिस्टिनले ल्यायो सुक्खा बन्दरगाहमा रेल, भाडा एक कन्टेनरमै २५ हजार घट्यो

बिजमाण्डू
२०७८ मंसिर १४ गते १३:१३ | Nov 30, 2021
हिन्द टर्मिनलपछि प्रिस्टिनले ल्यायो सुक्खा बन्दरगाहमा रेल, भाडा एक कन्टेनरमै २५ हजार घट्यो

वीरगंज। तीन महिनाअघि नेपाल र भारतका सरकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्ट(आरएसए)पछि दोस्रो निजी कम्पनी प्रिस्टिनले सामान बोकेको रेल वीरगंजस्थित सुक्खा बन्दरगाहमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

भारतको प्रिस्टिनले सुक्खा बन्दरगाह संचालनको जिम्मा पाएको छ। यसअघि भारतीय हिन्द टर्मिनल प्रालि(एचटीपीएल)ले पहिलोपल्ट हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेको रेल सुक्खा बन्दरगाहमा ल्याएको थियो।

भारतसँगको सम्झौतापछि निजी क्षेत्रको रेल संचालन गर्ने बाटो खुलेको थियो। यसअघि भारत सरकारको स्वामित्वको कोंकणको मात्रै रेल संचालन हुन्थ्यो।

प्रिस्टिन भ्यालीका संचालन प्रमुख अतुल शर्माका अनुसार २० फुटे ९० वटा कन्टेनर बोकेको रेल सुक्खा बन्दरगाहमा बिहान आइपुगेको हो। उनले आफ्नो कम्पनीको साप्ताहिक दुईपटक रेल आउने जानकारी दिए।

निजी क्षेत्रले रेल संचालन गर्न थालेपछि ढुवानी भाडा समेत सस्तिएको छ। अहिले  २० फुटे कन्टेनरको भाडा ६५ हजार रुपैयाँ छ। कोंकण मात्रै हुँदा २० फुटे कन्टेनरको भाडा ९० हजार रुपैयाँ थियो। निजी कार्गो रेल कम्पनीले ढुवानीमा प्रतिस्पर्धा थपेको बताउँदै नेपालको भारत तथा तेस्रो मुलुकसँगको व्यापारमा सहजता थपेको नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंज शाखाका प्रमुख कमल ज्ञवालीले बताए।

अहिले कोंकणले समेत भाडा घटाएर ६५ हजार रुपैयाँ लिन थालेको छ। नेपालमा भ्याली समूहसँग संयुक्त लगानीमा पाँच वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँमा सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको थियो।