जितपुरमा आरएमसी समूहको खाद्यान्न उद्योग धमाधम बन्दै,९ महिनाभित्रै संचालनमा आउने

बिजमाण्डू
२०७८ मंसिर १० गते १३:२४ | Nov 26, 2021

वीरगंज। व्यापारिक घराना आरएमसी समूहको करिब एक अर्ब लगानीको खाद्यान्न उद्योगको निर्माण काम धमाधम भइरहेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज-पथलैया औद्योगिक करिडोरको जितपुर सिमरा-८ लोहसान्डा रमौली(ईमलीप्रति)मा उक्त उद्योग निर्माण भइरहेको हो।

बिसं २०६७ मा समूहले किनेको करिब साढे १० बिघा क्षेत्रफलमा उक्त उद्योगको निर्माण कार्य शुरु भएको हो। ९ महिनामा परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ वीरगंजको बालाजी कन्स्ट्रक्सन प्रालिले दुई महिनादेखि उद्योग निर्माणको काम थालेको निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक सन्जय श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार हाल प्रारम्भिक चरणको काममा हस्क यार्न, बोइलर, पर्खाल तथा ट्यांकी निर्माणको काम भइरहेको छ। एक महिनापछि मेशिनको जडानको काम पनि थाल्ने उनले बताए। प्रशोधित खानेतेल उत्पादनको मुख्य लक्ष्यसहित निर्माणाधीन उद्योगबाट पछि चामल, दाल, पिना लगायत पनि  प्रशोधन र प्याकेजिङका काम हुनेछन्। 

हाल सोयाविन, सनफ्लावर, पाम तेल प्रशोधन गर्ने प्लान्ट सेटअपको काम भएको प्राविधिकहरुले बताएका छन् । दैनिक ६० देखि सयजना कामदार उद्योग निर्माणमा खटिएका छन् ।

राजेश अग्रवाल सञ्चालक रहेको उद्योगको सूर्यमुखी र भटमास गरी दैनिक अढाई सय टन प्रशोधित खाने तेल उत्पादन गर्ने क्षमता छ भने पामको दैनिक २ सय टन प्रशोधित तेल उत्पादन गर्ने क्षमतामा उद्योग विस्तार भइरहेको छ।

व्यवस्थापन पक्षका अनुसार हाल तेल प्लान्टको लागि करिब ४० करोडको लगानी भइरहेको छ भने उद्योगमा चामल र दालको प्लान्ट लगाएपछि करिब एक अर्ब लगानी पुग्छ। उद्योगमा ६० जनाभन्दा बढीले रोजगारी पाउने बताइएको छ।

आरएमसी समूहले जितपुरमा राजेश मेटल सञ्चालन गर्दै आएको छ। त्यसैगरी, सिमरामा आरएमसी सिमेन्ट, सुनवलमा क्लिंकर उत्पादन गर्ने ग्राइन्डिङ युनिटसहितको पाल्पा सिमेन्ट सञ्चालनपछि खाद्यान्न उद्योगमा हात हालेको हो। हाल यो समूहले फलामजन्य निर्माण सामाग्री र सिमेन्ट उत्पादन गर्दै आएको छ।