सेयर बजार दुई महिनादेखि स्थिर, मौद्रिक नीति फेरबदल भए तत्काल बढ्न सक्ने, अरु यस्ता छन् कारण

बिजमाण्डू
२०७८ मंसिर ९ गते ०५:०९ | Nov 25, 2021

काठमाडौं। दुई महिना अघि सेयर बजार २७५० बिन्दुको वरिपरि थियो। दुई महिना पछि आउँदा पनि बजार  २७३५ बिन्दुमा रोकिएको छ।यो बीचमा बजार न्युनतम २५११ बिन्दु सम्म आयो भने अधिकतम २८४८ बिन्दु सम्म पुग्यो।

Tata
GBIME
Nepal Life

दुई महिना सम्म ३०० अंक घटबढ भएर स्थिर जस्तै देखिएको बजार तीन महिना अघि भने ३२०० बिन्दुसम्म पुगेको थियो।

पछिल्लो एकहप्तामा सेयर बजार ६५ अंक घटेर एउटा बिन्दुमा अडिग देखिएको छ। अघिल्लो बुधबार सेयर बजार २८०१ बिन्दुमा बन्द भएको थियो। उक्त दिन १६ अंकले बढेको बजारमा साढे पाँच अर्बको सेयर किनबेच भएको थियो।

त्यसपछि ओरालो यात्रामा लागेको सेयर बजार ठीक एकहप्तापछि २७३५ बिन्दुमा झरेको छ। कारोबार रकम घटेर सवा चार अर्ब रुपैयाँमा सीमित भएको छ।

यो बीचमा दुई दिन सेयर बजार सामान्य अंकले बढेर बन्द हुँदा बाँकी दिन दोहोरो अंकमा घटेर बन्द भएको छ। अर्थात बढ्दा एकल अंकमा बढ्ने बजार घट्दा भने ३२/३३ अंक सम्म घटेको थियो।

पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्ने हो भने यो सूचक उच्चतम बिन्दुबाट ४६५ अंक तल आएको छ। ठीक ६ महिना अघिको बिन्दुबाट पनि ८८ अंक तल छ। तीन महिना अघि सेयर बजार ३२०० बिन्दुमा पुगेको थियो भने ६ महिना अघि २८२३ बिन्दुमा रहेको थियो।

६ महिना अघि दैनिक १३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो भने तीन महिना अघि  करिब २० अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो। अहिले कारोबार रकम भने चार अर्ब रुपैयाँ हाराहारी मात्रै भइरहेको छ।

किन रोकिएको छ सेयर बजार?
लगानीकर्ताहरु अहिले मौद्रिक नीतिमा परिवर्तन हुने भनेर पर्ख र हेरको अवस्थामा रहेको नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

'मौद्रिक नीतिको समिक्षामा सीडी र सीसीडी रेसियो तथा सेयर धितो कर्जाको ४-१२ को सीमामा केही परिवर्तन हुन्छकी भन्ने सोचेरै लगानीकर्ताहरु पर्खिरहेका हुन्,' रौनियारले भने, 'मौद्रिक नीतिमा केहि फेरबदल भए तत्काल बजार बढ्न सक्छ।'

४-१२ करोडको सीमा हेरफेर नगरेपनि १२ करोड एउटै बैंकबाट लिने व्यवस्था मात्रै गरिदिएपनि लगानीकर्तालाई ठूलो राहत हुने उनको भनाई छ।

नियामक निकायहरु सेयर बजारलाई  नियमन गर्न छोडेर नियन्त्रण गर्नतिर लागिरहेको रौनियारको आरोप छ। 'उनीहरुले नियन्त्रण गर्न छोडेर नियमन मात्रै गरिदिने हो भने बजारले सबै अवरोध चिरेर अघि बढ्न सक्छ,' उनले भने।

अहिले सेयर बजारका नियमक निकाय धितोपत्र बोर्ड र नेप्से नेतृत्वबिहिन हुँदा त्यसले पनि बजारको विकासमा बाधा पुगेको छ। यसको नेतृत्वमा  नयाँ व्यक्ति आउँदा बजारले अभिवाक पाउने र एउटा गतिमा अघि बढ्ने सम्भावना रहेको रौनियारको भनाई छ।

नीतिमा परिवर्तन नभएपनि बजार बढ्छ, बजारकै लागि नीति परिवर्तन होस भन्नुहुन्न
राष्ट्र बैंकले सेयर बजार सम्बन्धि नीतिमा  केहि परिवर्तन नगरेपनि सेयर बजार माथिनै जाने बजार विश्लेषक अनलराज भट्टराईले बताए।

'अहिलेको सेयर बजारको अवस्था भनेको सबै अप्ठ्यारा र नराम्रा कुराहरु पचाएर बसेको अवस्था हो,' भट्टराईले बिजमाण्डुसँग भने, 'मौद्रिक नीतिमार्फत बजारसँग सम्बन्धित केही विषय परिवर्तन गरिदियो भने बजार तत्कालै बढ्न सक्छ। परिवर्तन गरेन भने पनि बजार आफ्नै लयमा अघि बढ्छ। यो भन्दा नराम्रो हुने अवस्था अरु देख्निन।'

५१ कम्पनीको लिस्ट, ४-१२ को सीमा, तरलताको संकट, ब्याजदरको वृद्धि लगायत कयौं नकारात्मक कुरा  हुँदा पनि सेयर बजार यो बिन्दुमा स्थिर हुनु धेरैनै सकारात्मक कुरा भएको पनि उनले बताए।

विगतमा प्यान नम्बर अनिवार्य गर्दा अव बजार खत्तमै हुने भो भनेर सोचिएपनि बजारले त्यसलाई केहि समयमै पचाएर अघि बढेको भट्टराईले स्मरण गरे।

अहिले ४-१२ को सीमा लगायतका नकारात्मक कुराहरु पनि बजारले पचाई सकेको बताउँदै भोलिका दिनमा बजार सकारात्मक दिशामै अघि बढ्ने भट्टराईको विश्वास छ। त्यसकारण सेयर बजारका लगानीकर्ताले बजार बढ्नको लागि राष्ट्र बैंकले नीतिमा परिवर्तन गर्नुपर्छ भनेर सोच्न नहुने पनि उनले बताए।