काठमाडौं। तीनदिनसम्म चलेको १८औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगितामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल हस्तकला महासंघले काठमाडौंमा गरेको कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको जानकारी दिए।
पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेको उनले बताए। दोस्रो दिन शनिबार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न हम्मे हम्मे परेको शाक्यको भनाइ छ ।
महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिद्धता व्यक्त गरिन्। सो अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएकी थिइन् भने पुन महर्जन दोस्रो र आशा माया महर्जन तृतीय भइन्।
त्यस्तै परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय भएका थिए।
पहिलो दोस्रो तेस्रो क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। पुरस्कृतहरुको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए।
मेलामा विभिन्न हस्तकला विधाका एकसय २० भन्दा बढी स्टल रहेका थिए ।
मेलामा हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदा, उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी लगायतका कार्यक्रमहरु गरिएको आयोजकले जानकारी दिएको छ।