मौद्रिक नीति समीक्षाअघि अर्थमन्त्री र गभर्नरबीच अर्थमन्त्रालयमा एक घण्टा बढि छलफल 

बिजमाण्डू
२०७८ कात्तिक २८ गते १६:०१ | Nov 14, 2021

काठमाडौं। शुक्रबार २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहित अर्थमन्त्री जनार्द्धन शर्माले डाकेको बैठकमा पुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार फेरि अर्थमन्त्रीलाई भेटेका छन्।

Tata
GBIME
Nepal Life

सिंहदरवारस्थित अर्थमन्त्रालयमा कार्यालय समयमा शर्मा र अधिकारीबीच करिव एक घण्टा छलफल भएको हो। बैंकरसँगको बैठकमा गभर्नर अधिकारीले केही पनि बोलेका थिएनन्।

चालु बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा नजिकिँदै गर्दा अर्थमन्त्री र गभर्नरबीच भेट भएको हो। गत शुक्रबारको कार्यक्रममा अर्थमन्त्रीले गभर्नरलाई देखाउँदै 'राष्ट्र बैंकले नरोके आँफूले केही राम्रो काम गर्न खोजेको' बताएका थिए।

लगत्तै आइतबार अर्थमन्त्री शर्माले गभर्नर अधिकारी भेटेका हुन्। 

चालु बर्षको मौद्रिक नीतिले सेयर ऋण ४-१२ करोड गरेको छ भने सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो ९० प्रतिशत नाघ्न नहुने ब्यवस्था गरेको छ। सेयर ऋणमा गरिएको कडाइ प्रति केही सरोकारवालाहरु खुसी छैनन् भने सीडी लागू भएपछि तरलता अभाव भएको आरोप राष्ट्र बैंकले खेपिरहनु परेको छ। 

अर्कोतर्फ बैंक ऋण उच्च दरले बिस्तार भएर आयात बेपत्ता बढ्दा मुलुकको बिदेशी मुद्राको सञ्चिति घटेको छ। शोधनान्तर घाटा ८३ अर्ब रुपैयाँ नाघेको छ। आयातमा नियन्त्रण गर्नु पर्ने आवाज उठ्न थालेका बेला गभर्नरसँग शर्माले एक घण्टा छलफल गरेका हुन्।

यसै सन्दर्भमा अर्थमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। 'गभर्नर र अर्थमन्त्रीबीच बिहान १० बजेपछि भेट भएको' अर्थमन्त्रीका प्रेस सहयोगी सचिन रोकाले पुष्टी गरेका छन्।