थप ३ रुपैयाँ महँगियो पेट्रोल-डिलेज, एलपी ग्यास ७५ रुपैयाँले महँगो, १२ दिनमा दोस्रोपटक बढ्यो

बिजमाण्डू
२०७८ कात्तिक २४ गते २०:५९ | Nov 10, 2021
थप ३ रुपैयाँ महँगियो पेट्रोल-डिलेज, एलपी ग्यास ७५ रुपैयाँले महँगो, १२ दिनमा दोस्रोपटक बढ्यो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा आकासिएको पेट्रोलियमको मूल्यले मासिक औसत घाटा चुलिँदै ६ अर्ब नाघ्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई हप्ता पनि नबित्दै फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन इत्यादिका साथै एलपी ग्यासको मूल्य पनि बढाएको हो। 

Tata
GBIME
Nepal Life

पेट्रोल, डिजेल, मट्टीतेल तीनवटै पेट्रोलियमको मूल्य निगमले लिटरको ३ रुपैयाँले बढाएको छ भने ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरेको छ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १३६ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको ११९ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिन्डरको १५७५ रुपैयाँ पुगेको छ।

यस्तै, आन्तरिक हवाइ इन्धन मूल्यमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। बढाइएको मूल्य अनुसार अब हवाइ इन्धनको भाउ १०१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य पनि प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुर्‍याइएको छ। 

बढेको मूल्य कात्तिक २४ गते राती १२ बजेदेखि लागु हुनेछ।

आयल निगमले पछिल्लो १२ दिनमा पेट्रोलियम पदार्थको मूल्य दोस्रोपटक बढाएको हो। यसअघि निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) ले असोज ३० मा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड रुपैयाँ पुगेको भन्दै कात्तिक १२ गते राती १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले नै र एलपी ग्यासको प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो। 

अहिले पुनः बढेर आएको मूल्यअनुसार समायोजन नगरे निगमको घाटा चुलिँदै १५ दिनकै ३ अर्ब २ करोड पुग्ने भएकाले मूल्य केही बढाएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेशनले गत कात्तिक १५ (नोभेम्बर १) मा नै पठाएको मूल्यसूची अनुसार असोज ३० मा पठाएको मूल्यको तुलनामा निगमलाई औसतमा पेट्रोलमा प्रतिलिटर ७.४२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.९२ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर ११.४९ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ४.११ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २४६.९७ रुपैयाले थप मूल्य बढेर आएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ। यो नयाँ बढाएर पठाएको मूल्यका आधारमा नै १५ दिनको घाटा ३ अर्ब (अर्थात मासिक औसत ६ अर्ब) नाघ्ने अवस्था बनेपछि मूल्य समायोजन गरेको निगमको भनाइ छ। 

इन्धनको मूल्य छोटो अवधिमै यस्तरी उकालो लाग्दै जाँदा यसको असर वस्तु तथा सेवा उत्पादन, ढुवानी र उपभोक्ता मूल्यसम्म पर्ने हुँदा यसले मुद्रास्फीति (महँगी) को पारो उकालो लाग्ने सम्भावना बलियो बनेको छ। यसले गर्दा नेपाल राष्ट्र बैंकलाई चालु वर्षमा महँगी वृद्धिदर ६.५ प्रतिशतको सीमाभित्र बाँध्ने लक्ष्य भेट्न कठिन हुन सक्नेछ।