८ वर्षदेखि लगातार घाटामा रहेको भारतीय कम्पनी पेटिएमले रेकर्ड राख्दै जारी गर्‍यो आइपीओ

बिजमाण्डू
२०७८ कात्तिक २३ गते १९:२४ | Nov 9, 2021
८ वर्षदेखि लगातार घाटामा रहेको भारतीय कम्पनी पेटिएमले रेकर्ड राख्दै जारी गर्‍यो आइपीओ


दिल्ली कलेज अफ इन्जिनियरिङका विद्यार्थी विजयशेखर शर्मा, पहिलो दिन कलेज पुगेर फर्स्ट बेन्चमा बसे। जब सरले पढाउन सुरु गरे, उनको बोल्ती बन्द भयो। ट्वाल्ल परेर हेरिरहे, किनभने पढाएको केही बुझेनन्। सरले खरर अंग्रेजीमा पढाइरहेका थिए। अनि त्यो लवज हिन्दी मिडियम स्कुलबाट आएका विजयशेखरका लागि नयाँ थियो।  

Tata
GBIME
Nepal Life

भारतमा हिन्दी मिडियम स्कुलमा पढेका अन्य हजारौं बच्चाहरुको जस्तै साझा समस्या भोगेर इन्जिनियरिङ कलेजमा पनि टुलुटुलु सरको मुख हेर्न पुगेका विजयशेखर उनै हुन्, जो आज भारतकै सबैभन्दा कान्छा अर्बपति र हालै भारतकै सबैभन्दा ठूलो आइपीओ खोल्ने युनिकर्न कम्पनी पेटिएमका संस्थापक छन्। भारतमा नगदको कारोबारको प्रणालीलाई नै परिवर्तन गर्ने डिजिटल प्लाटफर्म निर्माण गर्ने व्यक्तिका रूपमा उनलाई चिनिन्छ। 

उनी भन्छन्- 'हिन्दी मिडियम स्कुल पढेर हुर्किएकाका लागि अंग्रेजी मिडियमको कलेजको क्लास लिनु साँच्चै नै संघर्षपूर्ण थियो।' 

अलिगढको सानो शहर हरदुवागंजमा जन्मे हुर्केका विजयशेखरका बाबु विद्यालयका शिक्षक थिए भने आमा गृहिणी। इन्जिनियरिङमा ग्राजुएट उनी आज पनि कक्षा लिन गरेको संघर्ष सम्झन्छन्- 'अंग्रेजी नजानेर कक्षाभित्र मात्र होइन बाहिर पनि मलाई उत्तिकै समस्या भयो। दिल्ली जस्तो शहरमा न्यु कमर भएर कुनै सानो गाउँ वा शहरबाट कलेज पढ्न पुग्नु। अनि अंग्रेजी भाषा दोस्रो वा तेस्रो भाषाका रुपमा मात्रै हुनेहरुका लागि त्यो शहर कतिको चुनौतीपूर्ण छ सबैले अनुमान गर्न सक्छन्। मैले पनि त्यहाँ एक आउटसाइडरको रूपमा संघर्ष गरेँ।' 

अंग्रेजी नजानेर उनले झेलेका समस्याहरु, एन्जाइटी, साथीभाइहरुको समूहमा पनि बाहिरियाको परिचय, उनीहरुसँग घुलमिल हुन नसक्नु अनि सबैभन्दा बढी त भविष्यमा जागिर नपाउने चिन्ता। यी सबैबाट गुज्रिएका विजयशेखरले अन्तत: यस्तै समस्याहरु नै उनलाई आफूभित्रको उद्देश्य पूरा गर्ने र अरुका लागि रोजगारी सिर्जना गर्ने माध्यम बन्यो। 

'म आफ्नो स्कुलबाट इन्जिनियर बन्ने दोस्रो विद्यार्थी थिएँ। त्यो भन्दा अघि सन् १९६४ मा एकजना विद्यार्थी इन्जिनियर भएका रहेछन्। स्कुल छँदा म लाइब्रेरी जान्थें र धेरै किताबहरु पढ्ने गर्थे। किताबमा भारतका बारेमा धेरै गौरवपूर्ण गाथाहरु हुने गर्थ्यो। तर ती सबै इतिहासका कथाहरु थिए। मलाई लाग्थ्यो फेरि त्यस्तै गौरवपूर्ण इतिहास रच्न सकिन्न होला? कसरी त्यस्तो इतिहास रच्न सकिन्छ होला भनेरै म सोचिरहन्थें।,' – उनै विजयशेखरले टेक इन्टरप्रेन्योरका रूपमा भारतमा इतिहास रचे। 

विजयशेखरले स्थापना गरेको कम्पनी पेटिएमले भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गरेको छ। र कम्पनी हाल चर्चाको शिखरमा पुगेको छ।

उनी आफ्नो काम र जीवनलाई असाध्यै गम्भीर र दार्शनिक रूपमा हेर्छन्। 'म जे मेरो जीवनमा आइपर्छ, म जे गर्छु त्यो सबै भगवानकै योजना अनुरुप भइरहेकोमा विश्वास गर्छु। यदि मेरो सामुन्ने कुनै चुनौती आउँछ भने त्यो मैले समाधान गर्नैपर्छ किनभने मेरो बाटोमा जे जे आइपर्छ त्यो मेरो उद्देश्य पूर्तिका लागि इश्वरमार्फत पठाइएको औजार वा स्रोत हो भन्ने मलाई लाग्छ।' 

उनलाई आफू अझै पनि जमिनमा उसैगरी उभिएको विश्वास गर्छन्। सफलताको मापन गर्ने हो भने अहिले उनी जहाँ छन् त्यहाँ पुग्दा 'अभूतपूर्व' महसुस भएको जस्तो उनलाई लाग्छ। 

तर उनको जीवनको टर्निङ प्वाइन्ट भनेको दिल्लीमा इन्जिनियरिङ पढ्दाताकाका तिनै दिन हुन् जहाँ उनी 'आउटसाइडर'का रूपमा छिरेका थिए।

भाषाको अवरोध भए पनि उनी आफ्नो स्कुलबाट दिल्ली कलेज अफ इन्जिनियरिङ पुग्ने एकमात्र विद्यार्थी थिए जसले त्यहाँको प्रवेश परीक्षा पास गरेका थिए। स्कुलका टपर भएपनि कलेजमा अंग्रेजीकै कारण उनी फर्स्ट बेन्चरबाट बाहिरिएर सबैभन्दा बढी समय लाइब्रेरी र कम्प्युटर ल्याबमा बिताउने विद्यार्थी बन्न पुगे।  

'सरले पढाएको मैले केही बुझ्दिनथें। मेरा सहपाठीहरुसँग पनि म निकट हुन सकिन। म उनीहरुको भाषा बोल्न वा बुझ्न सक्दिनथें। म कक्षामा असफल थिएँ तर ल्याबमा भने म हिरो। यस कुराले आफूलाई भविष्यप्रति चिन्तित बनाउँदै लगेको थियो। अब मैले कसरी जागिर पाउने होला भन्ने चिन्ताले मलाई सताउन थाल्यो। म स्कुल छँदा टपर थिएँ तर इन्जिनियरिङमा अंग्रेजी भाषामा समस्या भएकै कारण म बिभिन्न विषयमा फेल हुन थालें।'-उनी सम्झिँन्छन्। 

उनको चिन्ता कायमै थियो तर भित्रभित्रै उनलाई सिलिकन भ्यालीका उत्साहित बनाउने कथाहरुले पनि हौसला बढाइदिने गर्थ्यो, जहाँ त्यस्ता कतिपय मानिसहरु थिए जसले आफूलाई कलेज डिग्रीबिना नै अब्बल साबित गर्न सके। 

पढ्दापढ्दै यस्ता कथाहरुले उनलाई आफ्नै बिजनेस थाल्न प्रेरित गर्‍यो। कलेज छँदै उनले साथीसँग मिलेर 'होस्टल एलाई' बनाउने निर्णय गरे, जुन सिलिकन भ्यालीबाट प्रभावित थियो। विजयशेखर र उनका एक साथी मिलेर होस्टल बाहिर उनीहरुले एक कम्पनी खोले, जसको नाम थियो- एक्सएस कर्प्स्। उनीहरुको बिजनेस कार्डमा होस्टलको ठेगाना थियो भने फोन नम्बर कलेजकै कम्प्युटर सेन्टरको राखिएको थियो। 

अन्तत: पढाइ सकेपछि विजयशेखरले क्याम्पसमै राम्रो तलबमा रोजगारी पाए। तर त्यसबेलै उनले सोचिसकेका थिए त्यो उनको ठूलो लक्ष्य पूरा गर्नेतर्फको पहिलो कदम मात्र हो।'

'मैले त्यो जागिर किन थालें भन्नेमा म स्पष्ट थिएँ। मलाई कम्पनी संचालनबारे सिक्नु थियो। बिभागहरु कसरी संचालन हुन्छन् भन्ने बारे बुझ्न र व्यापारका विविध आयामबारे बुझ्नका लागि मैले त्यो जागिर स्वीकार गरेको थिएँ।'- उनका अनुसार त्यो जागिरले उनीलाई एउटा सिंगल युनिटभित्र हुने विविध व्यवसायिक पाटोहरुलाई ह्याण्डल गर्ने क्षमता दियो। 

सन् २००१ मा उनले ८ लाख रुपैयाँ ऋण लिए र वान ९७ कम्युनिकेसन्स नामक कम्पनी खोले, जुन पेटिएमको प्यारेन्ट कम्पनी हो। सन् २०१० मा उनले 'पे थ्रु मोबाइल पेटिएम' लञ्च गरे, जसले भारतमा कन्जुमर बिलिङ र पेमेन्ट प्रक्रियामा सिफ्ट नै ल्याउने गरी डिजिटल प्रणालीलाई स्थापित गर्‍यो। 

यो प्रिपेड मोबाइल र डाइरेक्ट टु होम रिचार्ज प्लाटफर्मका रूपमा सुरुवात भएको थियो। सन् २०१३ मा पुगेपछि त्यसमा मोबाइल र ल्याण्डलाइन पेमेन्ट सिस्टम थप गरियो। सन् २०१४ मा कम्पनीले पेटिएम डिजिटल वालेट लञ्च गर्‍यो। 

सन् २०१६ मा भारतका प्रधानमन्त्रीले घोषणा गरेको नोटबन्दीपछि भने पेटिएमले पछाडि फर्कनु परेन। उसको व्यापारमा तीव्र रूपमा वृद्धि भयो। भारतमा मोदीको नोटबन्दीपछि डिमोनिटाइजेसनको अवधारणा अघि सारियो जसले पेटिएमको व्यापार आश्चर्यजनक रूपमा बढाउँदै लग्यो। सन् २०१७ मा पेटिएम १० करोडभन्दा बढी डाउनलोड हुने भारतकै पहिलो पेमेन्ट एप बन्यो।

उनले पेटिएम स्थापना गरेको एक दशकमै कम्पनीले १६ अर्ब डलरको बजार मूल्य बनाएको छ। 

नोयडामा केन्द्रीय कार्यालय रहेको डिजिटल पेमेन्ट फर्म सन् २०२० मा हुरुन ग्लोबल युनिकर्न लिस्टको १३ नम्बर र्‍याकिङमा पर्न सफल भएको थियो।  

फोर्ब्स बिलेनियर इन्डेक्सका अनुसार कम्पनीका सीइओ विजयशेखरको रियल टाइम नेटवर्थ २.४ अर्ब डलर रहेको छ। हाल पेटिएमको ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् भने दैनिक २ करोड ५० लाख कारोबार हुने गर्छ। सन् २०२० मा आएको एक प्रतिवेदनअनुसार वान ९७ कम्युनिकेसन्सको पेमेन्ट एप कम्पनी पेटिएमको ब्राण्ड भ्यू ६३० करोड डलर छ, जुन सबै पेमेन्ट ब्राण्डहरुमध्ये सबैभन्दा धेरै हो। 

हालै पेटिएमले भारतमा अहिलेसम्मकै ठूलो रकमको आइपीओ जारी गरेको छ। नोभेम्बर ८ देखि १० तारिखसम्म भर्न सकिने गरी ल्याएको पेटिएमको आइपीओ अहिले भारतभर नै चर्चाको विषय बनेको छ। 

यसअघि सन् २०१० मा भारतमा सरकारी कम्पनी कोल इन्डियाले १५,४७५ करोड भारु बराबरको आइपीओ जारी गरेको थियो। 

पेटिएमको आइपीओ १८,३०० करोड भारुको छ, जसअन्तर्गत ८,३०० करोड भारुको नयाँ सेयर जारी हुनेछ। १० हजार करोड भारुको सेयर अफर फर सेल अर्थात ओएफएस अन्तर्गत बिक्री हुनेछ। यसका लागि कम्पनीले प्राइस ब्याण्ड २ हजार ८० देखि २१ सय ५० (भारु) तोकेको छ। कम्पनीले ६ सेयरको लट साइज तय गरेको छ, जसअनुसार लगानीकर्ताले न्यूनतम १२ हजार ९ सय भारु लगानी गर्नुपर्नेछ। आइपीओबाट जुटाइने ४,३०० करोड भारुबाट कम्पनीले आफ्नो इकोसिस्टम बलियो बनाउने बताएको छ। 

यति धेरै चर्चा र सफलता पाएको तथा अलिबाबा र सफ्ट बैंकले लगानी गरेको  भएपनि लगातार आठ वर्षदखि पेटिएमको ब्यालेन्ससिट भने नोक्सानमै छ। गत जनवरीमा विजयशेखरले  कोरोनाका कारण डिजिटल कारोबारमा वृद्धि देखिएकाले आशावादी हुन सकिने भने पनि हालको नतिजा पनि नेगेटिभ नै छ। आर्थिक वर्ष २०२१ मा कम्पनीले आफ्नो खुद नोक्सानी ४२ प्रतिशतले कम गरे पनि कम्पनी नाफामा भने जान सकेन। 

डिजिटल पेमेन्ट पायोनियर कम्पनी पेटिएमले यस आइपिओबाट २.२ अर्ब डलर उठाउने लक्ष्य राखेको छ। कम्पनीले सन् २०१७ मै विजयशेखरलाई अर्बपतिको सूचीमा पुर्‍याइदिएको थियो, जतिबेला उनी जम्मा ३८ वर्षका थिए। आइपिओ जारी गरेपछि उनको पनि व्यक्तिगत सम्पत्ति वृद्धि हुने बताइएको छ। आइपीओपछि पेटिएमको मार्केट क्याप २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।