
काठमाडौं। नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।
साझेदारीपछि नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराउने भएको छ। बैंक र विश्वविद्यालयबीचको यो पहलले उद्यमशीलता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए। उद्यम गर्ने सोचसँगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उनले बताए।
त्यस्तै, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसको विकासमा विश्वविद्यालयको सधैं सहयोग रहने बताए।
सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन्।
नबिल बैंकले गत असार १५ गते धान दिवशको अवसरमा नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो। सरकारको दिगो विकास लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरु गरेको छ।
बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशीलता विकासका लागि ल्याएको जनाएको छ। कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिने बताइएको छ।