काठमाडौं । पछिल्लो समय उत्तरीनाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या बढेको छ । चाडपर्वलाई लक्षित गर्दै उत्तरी दुई नाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या बढाएर तोकिएको हो।
गत महिनानै महावाणिज्य दूतावास तिब्बत र चिनियाँ वाणिज्य मन्त्रालयबीच नेपाल आउने कन्टेनरको संख्या बढाउने निर्णय भएको विभागका निर्देशक तथा सुचना अधिकारी पुण्यविक्रम खड्काले बताए । चाडपर्वको लागि व्यवसायीहरुले अर्डर गरेका वस्तुहरु सिण्डिकेटका कारण समयमै आउन सकेन। व्यवसायीहरुले कन्टेनरको संख्या बढाउन माग गर्दै आएका थिए । यही कुरालाई ध्यानमा राख्दै कन्टेनरको संख्या बढाइएको हो।
तातोपानीमा दैनिक २० वटासम्म र रसुवा नाकाबाट १४ वटा कन्टेनरहरु नेपालतर्फ प्रवेश गर्न दिने निर्णय भएको सूचना अधिकारी खड्काले जानकारी दिए। अहिले नाकाहरुमा यो निर्णय कार्यान्वयन हुन थालिसकेको छ ।
दशैंअघिसम्म नाकाहरुमा दैनिक ५ देखि ९ वटासम्म कन्टेनरहरु भन्सारमा भित्रिने गरेको थियो । कोटा प्रणालीले गर्दा उत्तरी नाकामा पहिले जस्तो चिनियाँ सामानहरु आउन कम भइसेको छ । केही समयदेखि तातोपानी भन्सारमा दैनिक ७ देखि १४ वटासम्म चिनियाँ कन्टेनर भित्रिन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । यो संख्या बढेर २० वटा सम्म पुग्ने पनि उनले जानकारी दिए।
यति बेला तातोपानीमा ठूलो परिमाणमा रसायनिक मल आइरहेको छ । हाल ३ सय गाडी रसायनिक मल रहेको बताइएको छ । उक्त मल ल्याउन पनि समय लाग्छ । मलको ल्याब टेष्ट पछि नेपाल भित्रिने कन्टेनरको संख्या थप बढेर आउने गौतमले बताए। शुक्रबारमात्र तातोपानी नाकाबाट १२ गाडी विद्युतीय कार नेपाल भित्रिएको छ भने स्याउ, मेशिनरीलगायतका सामानहरु आउने क्रम जारी रहेको भन्सार प्रमुख गौतमले जानकारी दिए ।
पछिल्लो समय आयात सहज बनाउनका लागि दुबै पक्षबीच कुराकानी भैरहेको उनको भनाई छ। लामो समयदेखि रोकिएको निर्यातसम्बन्धमा भने कुनै पनि निर्णय नभएको पनि उनले स्पष्ट पारे।