आरएमसी सिमेन्टको कारोबार खुम्चिँदै, चार बर्षअघि सवा अर्बको कारोबार ३४ करोड रुपैयाँमा झर्यो

बिजमाण्डू
२०७८ कात्तिक ५ गते ११:३५ | Oct 22, 2021

काठमाडौं। आरएमसी सिमेन्ट प्रालिको कारोबार खुम्चिँदै गएको छ। कम्पनीका अनुसार, पछिल्लो चार बर्षयता निरन्तर खुम्चिरहेको छ।

Tata
GBIME

चालु बर्ष (२०२१ अनुमानित) कुल कारोबार (बिक्री) ३३ करोड ७० लाख रुपैयाँमा झरेको छ। अघिल्लो बर्ष ८१ करोड ९० लाख रुपैयाँ थियो। त्यसअघिको बर्ष एक अर्ब १० करोड ४० लाख रुपैयाँको बिक्री भएकोमा चार बर्षअघि एक अर्ब ३० करोड ४० लाखसम्म भएको थियो।

सन् २००९ मा स्थापना भएको कम्पनीले पीएससी र ओपीसी सिमेन्ट उत्पादन गर्छ। सिमरामा फ्याक्ट्री छ। श्रवणकुमार अग्रवाल र उनका दुई छोराहरु राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको नाममा कम्पनी छ। 

प्रतिस्पर्धा बढ्दै गएपछि कम्पनीको बिक्रीमा कमी आएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। कम्पनीले पनि आफ्नो क्षमता बृद्धि गरेको छ। यद्यपी कोभिडका कारण पैसा उठाउन समस्या भएकाले पनि बिक्री कम देखिएको जनाइएको छ। 

कम्पनीले ३५ करोड रुपैयाँ ऋण लिनका लागि रेटिङ गराएको छ। कम्पनी आफ्नो क्षमताभन्दा कम उत्पादन गरेका कारण पनि सामान बजारमा पठाउन समस्या भएको जनाइएको छ।