एक सातादेखि बरौनीबाट पेट्रोल लोड भएन, आठ जिल्लामा अभाव, ‘बुधबारदेखि सहज हुन्छ’

बिजमाण्डू
२०७८ कात्तिक २ गते १७:१८ | Oct 19, 2021
एक सातादेखि बरौनीबाट पेट्रोल लोड भएन, आठ जिल्लामा अभाव, ‘बुधबारदेखि सहज हुन्छ’

वीरगंज। दसैंको सप्तमीदेखि दशमी चार दिन भन्सार तथा आयल निगमको डिपो बन्द हुँदा प्रदेश २ को आठ जिल्लामा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ।

Tata
GBIME
Nepal Life

बारा-पर्सासँगै रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायत जिल्लामा पेट्रोलको चरम अभाव भएको पेट्रोलियम डिलर्स एशोसियन नेपालका वरिष्ठ उपाध्यक्ष विनोद चौरसियाले जानकारी दिए।

उनका अनुसार अमलेखगंज डिपोमा पेट्रोलको स्टक सकिएको र विदाको कारण बैंक तथा भन्सार कार्यालयबाट बरौनीबाट पेट्रोलको टयांकर लोड हुन नसक्दा पेट्रोलको अभाव भएको हो।

‘चार दिन भन्सार, बैंक तथा अन्य कागजी प्रक्रिया हुन सकेन। जसले गर्दा अहिले करिब ७ दिनदेखि पेट्रोल आएको छैन,’ उनले भने, ‘दैनिक १५ गाडी पेट्रोल पर्सा बारामा आवश्यक हुन्छ। तर माग अनुसार आपूर्ति हुन सकेन्।’

अतिआवश्यक एम्बुलेन्सले पनि नेपालमा पेट्रोल नपाउँदा भारतीय सीमावर्ती बजारबाट इन्धन भरेर आइरहेका छन्। ‘करिब तीन देखि अभाव खडकिएको हो। एक थोपा पनि पेट्रोल छैन। केही एम्बुलेन्स र मोटरसाइकलले भारतबाट पेट्रोल भरेर आइरहेको छन्,' उनले भने।

 नेपाल आयल निगम वीरगंजका प्रबन्धक पवन यादवले मंगलबार ८० वटा टयांकर तेल भर्न बरौनी गएकोले बुधबारदेखि पेट्रोलियम पदार्थ सहज हुने बताए। मंगलवार राती सम्म करिब डेढ लाख लिटर पेट्रोल आउने उनले बताए।