चिनीको मूल्य कतै ८० कतै ८८ हुँदा आयात गर्न डराए व्यापारी, ‘महंगोमा ल्याएर बेच्दा के फाइदा?’

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ भदौ ३० गते ०९:३२ | Sep 15, 2021

विराटनगर। विराटनगरका सबैजसो मुख्य किराना पसलमा चिनीको मूल्य प्रतिकिलो ८० देखि ८२ रुपैयाँसम्म छ । तर ट्याक्स बिल काटेर चिनी खरिद गर्ने संगठित क्षेत्रले प्रतिकिलो ८८ रुपैयाँ तिरिरहेको कारोबारीहरुले बताएका छन्। 

Tata
GBIME
Nepal Life

कर कार्यालयमा कारोबारको विवरण बुझाउनुपर्ने होटल, बिस्कुट-कन्फेक्सनरी र जुस उद्योग, मिठाई पसल, डेरीजस्ता संगठित कारोबारीले महँगोमा चिनी खरिद गर्नुपरेको जानकारी दिएका छन्।

चिनीका अधिकृत बिक्रेता देवकीनन्दन अग्रवालका अनुसार किराना पसलमा बिक्री गरिने चिनी भारतबाट अनधिकृत रूपमा आयात गरिएको हो। त्यसैले उनीहरूले किलोको ८० देखि ८२ रुपैयाँसम्ममा बिक्री गर्दा पनि नाफा लिइरहेका छन्।

सीमावर्ती भारतीय बजार जोगबनीमा अहिले चिनीको खुद्रा मूल्य किलोको नेपाली रुपैयाँ ६५ पर्छ।

तर संगठित क्षेत्रका कारोबारीले खरिद गर्दा भने कुनै व्यक्ति वा गृहिणीले खरिद गरेजस्तो नभई कारोबारको ट्याक्स बिल अनिवार्य राख्नुपर्छ।

व्यवसायी अग्रवालले सुनसरीको इस्टर्न सुगर मिलले मौज्दात सकिएपछि चिनी बिक्री गर्न छाडेको र आफूले जनकपुरको एभरेस्ट सुगर मिलसित किलोको ८५ रुपैयाँ ५० पैसाका दरले चिनी खरिद गरेको जानकारी दिए।

अग्रवालले भने, ‘त्यसमा किलोको १ रुपैयाँ ५० पैसा ढुवानी भाडा पनि लाग्छ र गोदाममा आइपुग्दा ८७ पर्न जान्छ। त्यसैले किलोको ८८ मा बिक्री गरिएको हो।’

क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले हाल आफ्नो उद्योगले किलोको ८८ रुपैयाँमा चिनी खरिद गरिरहेको जानकारी दिए।

उता विराटनगरको व्यस्त गुदरी बजारस्थित पवन किरानाका सञ्चालक विवेक अग्रवालले चिनीको खुद्रा मूल्य किलोको ८० देखि ८२ रहेको उल्लेख गरे।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले गत वर्ष नेपालका उद्योगले १ लाख २० हजार टन मात्र चिनी उत्पादन गरेको बताए।

उनका अनुसार २०७७ को भन्दा २०७६ को सिजनमा ८० हजार टन बढीले चिनी उत्पादन गरिएको थियो।

२०७६ मा नेपालमा २ लाख टन चिनीको उत्पादन भएको उनले उल्लेख गरे। नेपालमा चिनीको खपत वर्षमा २ लाख ७० हजार टन हुने गरेको उनको भनाइ छ। अध्यक्ष अग्रवालको दाबी छ- ‘अहिले तस्करीको चिनीले धानिरहेको छ।’

डराए पूर्वका आयातकर्ता

पूर्वका आयातकर्ता यस वर्ष चिनी आयात गर्न डराएका छन्।

आयातकर्ता जीवन रिजालका अनुसार भारतको चिनी भन्सार काटेर विराटनगरको गोदाममा आइपुग्दा प्रतिकिलो ८९ रुपैयाँ पर्न जान्छ।

रिजालले सुनाए, ‘भारतीय चिनी उत्तर प्रदेशबाट ल्याउनु पर्छ। त्यहाँका उद्योगले जोगबनी भन्सारसम्म चिनी सीआईएफ गरेको प्रति क्विन्टल भारु ३५ सय अर्थात् नेरु ५ हजार ६ सय लिन्छन्। यसको ४० प्रतिशत भन्सार महसुल २ हजार २ सय ४० जोड्दा ७ हजार ८ सय ४० रुपैयाँ पुग्छ। यसमा १३ प्रतिशत मूअकर तिर्दा क्विन्टलको १ हजार १९ रुपैयाँ २० पैसा थपिन्छ। यसरी क्विन्टलको ८ हजार ८ सय ५९ रुपैयाँ २० पैसा भन्सारमै पर्छ। यो चिनी विराटनगरको गोदामसम्म ल्याउँदा क्विन्टलको ८ हजार ९ सय अर्थात् किलोको ८९ रुपैयाँ पर्न जान्छ।’

रिजालले प्रश्न गरे, ‘एकातिर तस्करीको चिनी खुद्रामा ८० रुपैयाँ किलोमा बिक्री भइरहेको छ भने अर्कातिर परल मूल्य नै ८९ पर्ने चिनी आयात गरेर के फाइदा ?’