डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको बुढानिलकण्ठ हेरिटेजलाई ९० करोड ऋण, पुसबाट सञ्चालन

बिजमाण्डू
२०७८ भदौ २७ गते ११:५६ | Sep 12, 2021
डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको बुढानिलकण्ठ हेरिटेजलाई ९० करोड ऋण, पुसबाट सञ्चालन

काठमाडौं। आगामी पुसबाट सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको बुढानिलकण्ठ हेरिटेज होटलले ९० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ। होटलले दीर्घकालिन ऋणको रेटिङ गरेको हो। 

Tata
GBIME
Nepal Life

होटलको निर्माण २०१९ मार्चबाटै सुरु गरिएको हो। होटलको सबै निर्माण काम सकिसकेको छ। डेढ अर्ब रुपैयाँ लगानी हुने होटलको काम कोभिडका कारण थोरै प्रभावित भएको थियो। होटल निर्माणको आरसीसीसम्बन्धी सबै काम सकेर अहिले मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङसहित इन्टेरियरको काम सुरु भइसकेको छ। 

प्रालिमा दर्ता भएको होटललाई पब्लिक कम्पनीमा लैजाने तयारी पनि गरेको छ। नारायण गोपाल चोकबाट पाँच किलोमिटरको दूरीमा ११ रोपनी ११ आना जग्गामा निर्माण भइरहेको यो होटलमा १०२ वटा कोठा रहने छ।

तीन वटा भवनसहितको उक्त होटलका १०२ कोठामध्ये दुई वटा प्रेसिडेन्सियल, तीन वटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठाहरु रहने छन्। आगामी जनवरी १ मा होटल उद्घाटन गर्ने योजना कम्पनीको छ। 

होटलमा विभिन्न क्षेत्रका ३१ जनाले लगानी गरेको छ। यो प्रोपर्टीमा पाँच तारे होटलसँगै दुई वटा पार्टी भेन्यू पनि निर्माण गरिने बताइएको छ। ठूलो हलमा करिब चार सय र सानोमा एक सय ५० जना अट्ने पार्टी भेन्यू निर्माण हुनेछ। होटलमा दुई सयवटा गाडी अट्ने पार्किङस्थल हुने छ। 

होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन,योगा तथा ध्यान केन्द्र निर्माण हुने बताइएको छ। पार्टी भेन्यूलगायत हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन,योग तथा ध्यान केन्द्र विशेष रुपमा आन्तरिक पर्यटकलाई र १०२ कोठाहरु विशेष रुपमा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गर्ने योजना रहेको छ।