एक वर्षमा भित्रियो ३७ अर्ब रुपैयाँको मोबाइल फोन, जेठभन्दा असारमा ७५ लाख थान बढी भित्रियो

बिजमाण्डू
२०७८ साउन ११ गते १७:४९ | Jul 26, 2021
एक वर्षमा भित्रियो ३७ अर्ब रुपैयाँको मोबाइल फोन, जेठभन्दा असारमा ७५ लाख थान बढी भित्रियो


Tata
GBIME
Nepal Life

काठमाडौं। स्मार्टफोनको आयात नेपालमा दोब्बरले बढेको छ। आव २०७६/७७ को तुलनामा गत आव २०७७/७८ मा दोब्बर मूल्यले मोबाइल आयात उकालो लागेको हो।

मोबाइल सेटको संख्या पनि आव २०७६/७७ भन्दा २०७७/७८ मा साढे २६ लाख थानभन्दा बढी भित्रिएको तथ्यांक भन्सार विभागको छ। 

आव २०७६/७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँबराबरको ४३ लाख ६५ हजार ९९० थान फोन आयात भएको थियो। गत आव २०७७/७८ मा भने करिब ३७ अर्ब रुपैयाँबराबरको ७० लाख ३० हजार ३६६ थान सेट भित्रिएको छ। 

गत वर्ष सरकारले मोबाइल आयातबाट झण्डै ६ अर्ब रुपैयाँ भन्सार संकलन गरेको तथ्यांक भन्सार विभागको छ। आव २०७६/७७ सरकारले मोबाइल आयात वापत दुई अर्ब ८७ करोड ९१ लाख ४२ हजार रुपैयाँ मात्रै भन्सार महसुल संकलन गरेको विभागले जनाएको छ। 

असारमा भित्रियो २.७५ अर्बको फोन
असार २०७८ मा दुई अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यबराबरका चार लाख ७६ हजार ४३ थान फोन आयात भएको छ। कोरोना महामारी नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै फोन आयात र बिक्री बढ्दै गएको छ। असारमा सरकारले ४३ करोड ६२ लाख २७ हजार रुपैयाँ फोन आयातबाट भन्सार संकलन गरेको भन्सार विभागले जनाएको छ।  

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले गत असार आठ गतेदेखि हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मोबाइल पसल खोल्न अनुमति दिनु र क्रमसँगै निषेधाज्ञा खुकुलो बनाएपछि मोबाइल आयात र बिक्री उकालो लाग्दै गएको मोबाइल बिक्रेताहरुले बताएका छन्। 

जेठमा दुई अर्ब रुपैयाँबराबरका करिब दुई लाख मोबाइल सेट आयात भएको थियो। शैक्षिक गतिविधिहरु अहिले पनि भर्चुअल्ल माध्यमबाट भइरहेकाले मोबाइल सेटको माग नघटेको बिक्रेताहरुको भनाइ छ।

गत आव २०७६/७७ मा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट भित्रिएको विभागले जनाएको छ। २२ अर्ब ८३ करोड रुपैयाँबराबरको ५७ लाख ७५ हजार थान मोबाइल सेट चीनबाट भित्रिएको छ। भारतबाट १२ अर्ब ५० करोड रुपैयाँबराबरको साढे ९ लाख थान मोबाइल सेट भित्रिएको विभागले जनाएको छ। 

भियतनामबाट एक अर्ब २६ करोड रुपैयाँबराबरको करिब तीन लाख थान मोबाइल सेट भित्रिएको आँकडा विभागको छ। नेपालमा अमेरिका, युरोपदेखि खाडी मुलुकहरुबाट पनि फोन भित्रिने गरेको विभागले जनाएको छ। 

कोरोनाले चम्कियो फोनको आयात र व्यापार
२०७६ चैतमा सरकारले कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाएसँगै बजारमा २० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोन अभाव हुन पुगेको थियो। सरकारले पटकपटक लकडाउनको समयावधि थप्दै लगेपछि उपभोक्ताहरुले घरमा लामै समय थुनिनु पर्ने आकलन गर्दै सम्भव भएसम्म बजारबाट फोन उठाउँदा अभाव चुलिएको थियो। 

लकडाउनको समयमा घरमा समय बिताउने सबैभन्दा उपयुक्त माध्यम स्मार्टफोन बन्न पुग्यो। घरका सबै सदस्यलाई एउटा कुनै न कुनै विद्युतीय डिभाइस अनिवार्य जस्तै बनाउन लकडाउन बहाना बन्यो।

गत आव मोबाइल व्यापार र बिक्रीका हिसाबले अघिल्लो दुई आवको भन्दा उत्साहजनक भएको मोबाइल फोन इम्पोर्टस् एसोसिएसन एवम् सामसङ फोनको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए।

कोरोना महामारीका कारण मोबाइल फोन तथा ट्याबलेटको माग अत्यधिक बढेकाले आव २०७७/७८ मोबाइल बजारका लागि सुखद बनेको उनको प्रतिक्रिया छ।  

केही समय पछि सरकारले भर्चुअल माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएपछि मोबाइल फोनको बिक्री आव २०७७/७८ मा चम्किन पुग्यो। शैक्षिक मात्रै नभएर व्यवसायिक तथा कार्यालयहरु पनि 'वर्क फ्रम होम' हुन थालेपछि फिचर फोनबाट स्मार्टफोनमा रुपान्तरण हुनेदेखि मोबाइल सेट अपग्रेड गर्नेको संख्या बढ्दै गएको बिक्रेताहरुको भनाइ छ। 

सभा, सम्मेलन तथा अन्य सबै कार्यक्रमहरु भर्चुअल माध्यमबाट हुने क्रम चलिनै रहेकाले आव २०७६/७७ को भन्दा आव २०७७/७८ फोन आयात र व्यापारका हिसाबले सफल भएको बुझ्न सकिन्छ। 

मोबाइल बिक्रेताहरुको निकै टाउको दुखाइको विषय फोनको अवैध आयात 'ग्रे मार्केट' आव २०७७/७८ मा नियन्त्रण भएको बुझिएको छ। 
नेपाल दूससञ्चार प्राधिकरणले प्रारम्भिक रुपमा साउन १ बाट लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आए चालू आव पनि मोबाइल व्यापारका लागि सकारात्मक बन्न सक्ने प्रतिक्रिया मल्होत्राले दिए। एमडीएमएस पूर्ण रुपमा कार्यान्वयनमा आउन भने अझै दुई तीन महिना लाग्ने देखिन्छ।

कोरोना महामारी कै कारण सरकारले भारतसँगको सीमा नाका सिल गर्नेदेखि अन्य देशहरुको हकमा हवाई उडानमा प्रतिबन्ध लगाएकाले अवैध माध्यमबाट नेपाल भित्रिने मोबाइल फोन संख्यामा कमी आएको बिक्रेताहरुले बताएका छन्।

स्थानीय प्रशासनले गत वैशाख १६ दखि जारी गरेको निषेधाज्ञाले भने मोबाइल बिक्री र आयातमा केही असर परेपनि समग्र वर्ष सकारात्मक रहेको मल्होत्राको टिप्पणी छ। गत आवमा सबैभन्दा धेरै १५ देखि ३० हजार रुपैयाँ पर्ने मोबाइल सेटको बिक्री बढी भएको उनले जानकारी दिए।