अर्थतन्त्रलाई गतिशील कसरी बनाउने? अर्थमन्त्री शर्माले मागे पूर्व अर्थमन्त्रीसँग सुझाव

बिजमाण्डू
२०७८ साउन १० गते २०:२६ | Jul 25, 2021

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई गतिशील बनाउन लिनुपर्ने रणनीतिका बारेमा पूर्व अर्थमन्त्रीसँग छलफल गरेका छन्। छलफलमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनका बारेमा समेत उनले राय लिएका थिए।

Tata
GBIME
Nepal Life

छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालय वा अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। व्यापार क्षेत्रबाट रोजगारी सिर्जना नहुने भएकाले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले सुझाव दिए। कोभिड महामारीका कारण अर्थतन्त्रको भावी परिदृश्य गतिलो नदेखिएको भन्दै पूर्वमन्त्री पाण्डेले वर्तमान सरकारले खर्च कटौतीमा समेत विशेष ध्यान केन्द्रीत गर्नुपर्ने सुझाए।

पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गर्न सुझाव दिए। कोभिडको असर अझै बाँकी रहेको र तेस्रो लहरको जोखिमसमेत देखिने अनुमान भइरहकाले राष्ट्रिय गौरवका आयोजना र अन्य केही प्राथमिकताका आयोजनामा ध्यान केन्द्रीत गरी खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताए। पूर्वमन्त्री पुनले कोभिडबाट नराम्ररी प्रभावित भएको उत्पादनमूलक क्षेत्रको लागि राहत प्याकेज ल्याउन सुझाव दिए।

यस्तै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अध्यादेश बजेट नै अघि बढाउनुपर्ने अवस्था आएमा त्यसको पूरकका रूपमा केही आर्थिक कार्यक्रमहरु समेटिएको नीतिपत्र जारी गरेर काम गर्न सकिने सुझाव दिए। अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै उनलेे कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सकिने धारणा व्यक्त गरे।

उनले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न सकिने सुझाव दिए। पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले विकासे मन्त्रालयहरुको काम कार्वाहीमा निरन्तर झकझक्याउने शैली अपनाउनुपर्ने पूर्वमन्त्री कोइरालाको भनाइ छ। कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले अर्थतन्त्रको वर्तमान स्थितिको झलक प्रस्तुत गरेका थिए।