अर्थमन्त्रीले श्वेतपत्र लेखन अगाडि बढाए: श्रेष्ठ र उप्रेतीलाई लेखनको जिम्मा, कस्तो छ तयारी?

बिजमाण्डू
२०७८ साउन ४ गते १३:१७ | Jul 19, 2021
अर्थमन्त्रीले श्वेतपत्र लेखन अगाडि बढाए: श्रेष्ठ र उप्रेतीलाई लेखनको जिम्मा, कस्तो छ तयारी?


Tata
GBIME
Nepal Life

काठमाडौं। केपी शर्मा ओली सरकारले ४१ महिना नेतृत्व गरेर छाडेको अर्थतन्त्रको तस्बीरसहित आगामी मार्गचित्र देखाउँदै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्ने भएका छन्।

श्वेतपत्र तयार पार्नका लागि उनले दुई जना विज्ञलाई जिम्मा दिइसकेका छन्। योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अर्थशास्त्री डा. सुरेन्द्र उप्रेतीको समूहले श्वेतपत्र लेखनको काम सुरु गरेको छ।

आफ्नो अनुकूलमा तथ्यांकको प्रयोग गरेर पूर्ववर्ती सरकारहरुले अर्थतन्त्र अत्यन्तै खराब अवस्थामा पुर्‍याएको भन्दै ओली क्याबिनेटका अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेततपत्र जारी गरेका थिए। निरन्तर सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै आएको पूर्ववर्ती सरकारको बेलामा अर्थतन्त्र संकटमा परेको उनले आरोप लगाएका थिए।

खतिवडाले साढे ८ प्रतिशतसम्मको आर्थिक वृद्धि गर्ने लक्ष्यसहितको तीन वर्षको बजेटसमेत ल्याएका थिए। जबकी खतिवडा आएपछि अर्थको लय नै बिग्रिएर थप संकुचन आएको थियो। उनी बिदा हुँदाहुँदै कोरोना संक्रमण फैलिएर लकडाउन गर्नु परेकाले उनले सबै दोष कोरोना महामारीलाई लगाएर पन्छिएका थिए।

शर्माले सरकारले विश्वासको मत पाउने बित्तिकै श्वेतपत्र जारी गर्ने बताएका थिए। त्यसैअनुसार लेखनको काम थालिएको हो। पछिल्लोपटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा श्रेष्ठ योजना आयोगको उपाध्यक्ष बनेका थिए। उप्रेतीबाट जनार्दन शर्माले ऊर्जा मन्त्री हुँदा विज्ञका रूपमा सल्लाह लिने गरेका थिए। डा. उप्रेती कर्णाली प्रदेश सरकारका आर्थिक सल्लाहकार पनि हुन्।

श्वेतपत्रमा ओली सरकारले तीन वर्षमा अर्थतन्त्रमा पारेको प्रभाव, असारका बारेमा उल्लेख गरिने छ। साथै आगामी कार्यदिशाका बारेमा पनि श्वेतपत्रमा उल्लेख गरिने छ।

ओली नेतृत्वको सरकार बाहिरिँदै गर्दा देशको बाह्य अवस्था निकै बिग्रिएको थियो। शोधनान्तर दुई वर्षपछि घाटामा गएको छ भने विदेशी मुद्राको सञ्चिति घटेको छ। चालु खाता घाटा जीडीपीको साढे सात प्रतिशत नाघिसकेको छ। मूल्यवृद्धिमा समेत चाप पर्न थालेको छ। राजस्व संकलन लक्ष्य अनुसार कम भएको छ। बजेट खर्च निकै कमजोर छ। आर्थिक वृद्धि दर ऋणात्मकसम्म भएको छ। 

खतिवडा अर्थमन्त्री भएर आउँदा उनले जारी गरेको श्वेतपत्रमा आफू अनुकूल तथ्यांक मात्र प्रयोग गरिएको थियो। यसको खुबै आलोचना भएको थियो।