युरोकप प्रसारण भइरहेको सोनीका च्यानलमा निर्वाध बज्दै भारतीय विज्ञापन,’क्लिनफिड नभए कारवाही’

बिजमाण्डू
२०७८ असार २ गते ११:०६ | Jun 16, 2021
युरोकप प्रसारण भइरहेको सोनीका च्यानलमा निर्वाध बज्दै भारतीय विज्ञापन,’क्लिनफिड नभए कारवाही’

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतीय च्यानल सोनी टेनका च्यानलहरुले क्लिनफिड उल्लंघन गरी जारी युरोकप २०२० को प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

भारतीय अपरेटरहरुले विगतदेखि नै स्पोर्ट्स् कार्यक्रमहरु क्लिनफिडसहित प्रसारण गर्न प्राविधिक कठिनाइ रहेको प्राविधिकहरुले बताउँदै आएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए।

'भारतीय विज्ञापन बज्नुमा क्लिनफिड दिन नसक्नु कारण होइन। यो टेक्निकल इरर हो,' आचार्यले भने। सोनीसँगै भारतीय अन्य च्यानलका अपरेटरहरुले नेपालमा उपकरणहरु राखेका छन्। उक्त उपकरणले भारतीय अपरेटरहरुले पठाउने फिडहरुमा विज्ञापन आएपछि पहिचान गर्छ। कहिलेकाहीँ उक्त उपकरणले विज्ञापन पहिचान गर्न 'मिस' हुने आचार्यको जिकिर छ।  

नेपालमा युरोकप फुटबलको प्रत्यक्ष प्रसारण सोनीसँगै नेपाली टेलिभिजन एक्सन स्पोर्ट्स् एचडीले गरिरहेका छन्।

एक्सन स्पोर्ट्स जस्तै भारतीय अपरेटरहरुले नेपाली च्यानललाई नै फिड वितरण गर्नुपर्ने आचार्यको मत छ। लागत केही महँगो भएपनि यसले क्लिनफिड कार्यान्वयनको ‍औचित्य पुष्टि गर्ने उनको दाबी छ। अन्य कन्टेन्टहरु नेपाली कन्टेन्टले विस्थापित वा नियन्त्रण गर्न सके पनि खेलकुदमा त्यो असम्भव प्राय: छ। ‌ 

विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मा छ। नेपाली च्यानललाई विदेशी फिड किनेर स्वदेशी विज्ञापन बजाउन छुट भए पनि विदेशी च्यानलहरुलाई विदेशी विज्ञापन नै बजाउन ऐनले रोक लगाएको छ। 

यदि कुनै विदेशी च्यानलमा विदेशी विज्ञापनसहित प्रसारण भइरहेको भए कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए। अहिलेसम्म बोर्ड भने सोनीमा प्रसारण भइरहेको युरोकप प्रतियोगितामा विदेशी विज्ञापन बजिरहेको बारे बेखबर देखिन्छ।