पेट्रोलियमको ढुवानी ठप्प पारेपछि ट्यांकर चालकले पाए कोभिड खोप, आजैबाट पेट्रोलियम उठाउने

बिजमाण्डू
२०७८ असार १ गते १६:५८ | Jun 15, 2021
पेट्रोलियमको ढुवानी ठप्प पारेपछि ट्यांकर चालकले पाए कोभिड खोप, आजैबाट पेट्रोलियम उठाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि ट्यांकर चालक र सहचालकले कोभिड-१९ को खोप लगाउन पाउने भएका छन्। सरकारले असार २ गतेबाट उनीहरुलाई खोप उपलब्ध गराउने भएको छ। 

नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच मंगलबार भएको वार्तामा बुधबारदेखि खोप दिने सहमति भएको हो।

निगमबाट जारी परिचयपत्रका आधारमा प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्यांकर चालक र सहचालकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

निर्णयपछि पेट्रोलियम पदार्थको लोड/अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्द आजैबाट फिर्ता लिइ ट्यांकरले री-डिपो अपरेशन कार्य सुचारु गर्ने सहमति भएको उनले जानकारी दिए। 

ट्यांकर चालक संघको अगुवाइमा जेठ ३० गतेदेखि अमलेखगंज र काठमाडौंमा तेल ढुवानी बन्द भएको थियो।

निगमसँग आबद्ध एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई क्रमिक रूपमा खोप लगाउँदै जाने सहमतिसमेत भएको निगमले जनाएको छ।