कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त, पृथ्वीसुब्बाको दाबी अस्वीकृत

बिजमाण्डू
२०७८ जेठ २९ गते १८:१७ | Jun 12, 2021
कृष्णचन्द्र पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त, पृथ्वीसुब्बाको दाबी अस्वीकृत

Tata
GBIME
Nepal Life

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्।

गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए। शुक्रवार प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

शुक्रवार नै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित दाबी पेश गरेका थिए। कांग्रेसका १५ प्रदेशसभा सदस्य, नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका २ जना, जनता समाजवादी पार्टी नेपालका २ जना र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ सहित ३१ जनाको समर्थनमा उनले दाबी पेश गरेका थिए।

विश्वासको मत पाउन असफल भएका पृथ्वीसुब्बा गुरुङले समेत प्रदेश प्रमुख समक्ष फेरि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर, प्रदेश प्रमुखले पोखरेलको दाबीलाई स्वीकृत गरेकी हुन्।

संघमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधसभा विघटन गरेजस्तै गण्डकीमा पनि प्रदेशसभा विघटन हुन सक्ने अनुमानबिच विपक्षी गठबन्धनले दिनभर प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना र प्रदर्शन गरेका थिए। 

प्रदेश प्रमुख कार्यालय बाहिर विपक्षी गठबन्धन धर्ना बसिरहेको बेला पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेको खबर बाहिरिएको थियो। धर्नामा बसेका नेताहरुले भने आधिकारिक पत्र नआएसम्म विश्वास नगर्ने भनेका थिए। यसबिच प्रदेश प्रमुखको कार्यालय बाहिर नै पोखरेललाई गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त भएकोमा नेताहरुले शुभकामना दिएका थिए।