काठमाडौं। विश्वको ठूलो स्मार्टफोन निर्माताको ताज सामसङले एप्पलबाट पुनः खोसेको छ। चिनियाँ स्मार्टफोन निर्माता साओमी तेस्रो स्थानमा छ।
रिसर्च फर्म क्यानालिसकाअनुसार चालु वर्ष २०२१ को पहिलो त्रैमासमा दक्षिण कोरियाली ब्राण्ड सामसङले सात करोड ६५ लाख थान स्मार्टफोन सिपिङ गरेर मार्केट सेयर २२% पुर्याएको छ। अमेरिकी ब्राण्ड एप्पलले भने पाँच करोड २४ लाख थान आइफोन सिपिङ गरेको जनाएको छ। सामसङले बढी मात्रामा स्मार्टफोन सिपिङ गर्दा एप्पलको मार्केट सेयर १५% मा खुम्चिएको छ।
एप्पलको आइफोन-१२ भन्दा सामसङको ग्यालेक्सी एस-२१ स्मार्टफोन सिरिज लोकप्रिय बनेपछि एप्पल पछि परेको बताइएको छ।
यस्तै, चिनियाँ ब्राण्ड साओमीको स्मार्टफोन सिपमेन्ट ६२% ले बढेर चार लाख ९० लाख थान पुगेको छ। साओमीको मार्केट सेयर १४% रहेको बताइएको छ।
२०२१ को पहिलो त्रैमासमा विश्वभर स्मार्टफोनको बिक्री २७% ले बढ्दै ३४ करोड ७० लाख थान पुगेको छ। चीनमा कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खुलेको र अमेरिकामा कोरोनाविरुद्धको खोप तीव्ररूपमा वितरण भइरहेकाले आर्थिक सुधार भएर स्मार्टफोनको बिक्री बढेको छ।
कुनै समय पहिलो नम्बरमा रहेको चिनियाँ ब्राण्ड हुवावे सातौं स्थानमा झरेको छ। अमेरिकालगायतका देशहरुको प्रतिबन्धका कारण हुवावे निरन्तर ओरालो लाग्दै गएको छ। हुवावेले गत वर्ष एक करोड ८६ लाख थान अनर ब्राण्ड बिक्री गरेको थियो। मार्च २०२१ मा ओप्पो, भिभो लगायतका ब्राण्डको सिपमेन्ट पनि बढेको क्यानालिसले जनाएको छ।