अधिकारका विषयमा सहमति नहुँदा एनआइबिएल र हिमालयनबीच मर्जर सम्झौता ढिला, मुख्य सीइओ र सीइओ दुई पद

बिजमाण्डू
२०७८ बैशाख १२ गते १०:४६ | Apr 25, 2021

काठमाडौं। मुख्य प्रमुख कार्यकारी अधिकृतका रूपमा अशोक राणालाई के-कति अधिकार दिने भन्ने विषय आज-भोलि टुंग्याएर मंगलबारसम्म हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज गर्न औपचारिक सहमति गर्ने तयारी भएको छ।

Tata
GBIME
Nepal Life

टीआर उपाध्याय एकाउन्टिङ फर्मले इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयनको १०२ रुपैयाँ ५० पैसा सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गरिसकेको छ। दुवै संस्थाबीच बराबरी अर्थात एक बराबर एककै अनुपातमा मर्जरमा जाने सहमति भइसकेको छ।

अन्य प्रविधिक विषयहरु पनि मिलिसकेको छ। हिमालयन बैंकका अहिलेका प्रमुख कार्यकारी राणालाई नै मर्जरपछिको बैंकमा पनि निरन्तरता दिने भन्नेमा पनि सहमति भइसकेको छ। तर उनलाई के-कति अधिकार दिने भन्ने विषयमा सहमति भइसकेको छैन- खासगरी राणाको पक्षबाट। यही कारण सहमति केही पछि सरेको स्रोतको दाबी छ। 'झिनो विषयले मर्जरको समय पछि सरेको हो। अधिकारको टुंगो आजभोलि नै लाग्छ,' स्रोतले भन्यो।

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे दोस्रो वरीयतामा बस्ने पनि अनौपचारिक सहमति भइसकेको छ। 'मुख्य प्रमुख कार्यकारी र प्रमुख कार्यकारी अधिकृत पद राख्ने बारेमा सहमति भइसकेको छ,' स्रोतले भन्यो।

अहिलेसम्मको सहमति अनुसार, आगामी मंगलबार दुवै संस्थाबीच मर्जरका लागि हस्ताक्षर हुने छ। एकाउन्टिङ फर्मले करिब तीन महिना लगाएर सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (प्रतिवेदन) दुवै वाणिज्य बैंकहरुले अध्ययन गरेको थियो। दुई संस्थाको मर्जरमा राष्ट्र बैंकको विशेष चासो छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीदेखि अन्य वरिष्ठ पदाधिकारीहरुले मर्जरका लागि के-कस्तो सहयोग चाहिन्छ भनेर बेलाबेला सोधिरहेको दुवै बैंकका सञ्चालकहरुले बताए।

सम्झौताको दुई महिनापछि सम्पूर्ण प्रक्रिया सकेर एकीकृत कारोबार गर्ने योजना रहेको स्रोतले जानकारी दियो। सञ्चालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुनेछन्। राणा र पाँडे नातामा साला-भिनाजु हुन्। 

अहिले इन्भेष्टमेन्टले फिन्याकल सफ्टवेयर चलाउँछ भने हिमालयनले टी-२४ चलाउँछ। यसमध्ये कुनलाई निरन्तरता दिने भन्ने बारेमा पनि छलफल हुनेछ। यस बारेमा हिमालयन बैंकको सञ्चालक समितिमा पनि छलफल हुनेछ। 

अहिले नेपाल इन्भेष्टमेन्ट र हिमालयनको पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ। दुवै बैंकका सम्बद्ध स्रोतहरुका अनुसार, कर्मचारी व्यवस्थापन के कसरी गर्ने र संस्थालाई कसरी छरितो बनाउने भन्नेबारेमा छलफल हुन थालेको छ। यसअघि मर्जरका लागि प्रक्रिया निक्कै अगाडि बढेको थियो। त्यही बीचमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम बिरामी भएर लामो समय अस्पताल बसेपछि प्रक्रिया रोकिएको थियो।

दुवै पुराना बैंक भएकाले कर्मचारीहरु पनि पुराना छन्। हिमालयन बैंकको तुलनामा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ। यसको पुनरावलोकन के कसरी गर्ने भनेर पनि छलफल भएको छ। औपचारिक सम्झौताअघि नै यी कुरा टुंग्याएर एक चरण 'स्वेच्छिक अवकाश योजना' मा जाने दुवैबीच समझदारीजस्तो बनेको छ।