विराटनगर। नेपालमा निम्न र निम्न मध्यम वर्गले घर छाउन र घरमा ट्रस हाल्न प्रयोग गर्ने कर्कट पाताको मूल्यमा वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै स्टिलको मूल्य आकासिएका कारण त्यसको असर नेपालमा सर्वसाधारणले प्रयोग गर्ने जस्तापातामा पनि परेको हो । कर्कटपातामा भएको मूल्य वृद्धिले सर्वसाधारणको निर्माण खर्चमा अनपेक्षित वृद्धि भएको छ ।
विराटनगरको गोयल हार्डवेयरका सञ्चालक राजु गोयलका अनुसार गत वर्षको साउन महिनासम्म लकडाउनका कारण कर्कट पाताको बिक्री हुन सकेको थिएन । गत भदौदेखि लकडाउन खुकुलो भएसँगै निर्माण सामग्रीको पनि विक्री वितरण हुन थाल्यो ।
गोयलले भने, ‘गत वर्षको भदौमा सादा जस्ता पाताको मूल्य प्रति बन्डल ८ हजार ९ सय र रंगीनको १० हजार ३ सय थियो । छ महिनापछि आइपुग्दा फागुनमा सादाको मूल्य प्रति बन्डल ९ हजार ९ सय र रंगीनको ११ हजार ३ सय भयो । त्यसको दुई महिनापछि अहिलेको मूल्य सादाको ११ हजार ९ सय र रंगीनको १३ हजार ३ सय छ ।’
विराटनगरमा जस्ता पाताका ठूला खरिदकर्तामा उद्योगी भएको गोयलले बताए । उद्योगमा सेड, गोदाम आदि बनाउन ठूलो परिमाणमा जस्ता पाताको आवश्यकता हुन्छ । ग्रामीण क्षेत्रमा भने जस्ता पाताको मुख्य ग्राहक निम्न र निम्न मध्यम वर्ग हो । उच्च वर्गको ढलाइ गरेको घर चुहियो भने मात्र उनीहरू ट्रसका लागि जस्ता पाता खरिद गर्छन् ।
कर्कट पाता उत्पादन गर्ने हुलास स्टीलका सञ्चालक हितेश गोल्छाले एक वर्षयता जस्ता पाताको कच्चा पदार्थको मूल्यवृद्धि भएको अनुपातमा तयारी वस्तुको मूल्य वृद्धि नभएको दाबी गरे ।
‘गत वर्ष अर्थात् २०७७ वैशाखमा जस्ता पाताको मुख्य कच्चा पदार्थ एच्आर सीट (हट रोल्ड सीट)–को मूल्य प्रति मेट्रिक टन ४ सय ९६ अमेरिकी डलर थियो’, उद्यमी गोल्छाले भने, ‘उक्त मूल्य ११ महिनापछि अर्थात् २०७७ चैतमा आइपुग्दा ८ सय डलर भएको छ । यसरी हेर्दा कच्चा पदार्थको मूल्यमा साढे ३७ प्रतिशतले वृद्धि देखिन्छ ।’
हितेशले थपे, ‘यस १ वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि त भयो नै, सँगसँगै अमेरिकी डलरको मूल्य पनि वृद्धि भयो । गत वर्ष नेपालमा डलरको मूल्य १ सय १८ रुपैयाँ रहेकोमा यस वर्ष १ सय २० रुपैयाँ पुगिसकेको छ ।’
त्यस्तै २०७७ वैशाखमा हुलास स्टीलले ग्याल्मनाइज्ड सादा कर्कट पाता प्रति किलोग्राम १ सय १६ रुपैयाँमा विक्री गरेको थियो । अहिले प्रति किलोग्राम १ स य ५१ मा विक्री गरिरहेको छ ।
त्यस्तै रंगीन जस्ता पाता गत वर्ष प्रति किलोग्राम १ सय ३७ मा विक्री भएकोमा हाल १ सय ७२ रुपैयाँमा विक्री भइरहेको छ ।
गोल्छाले कच्चा पदार्थको मूल्यमा साढे ३७ प्रतिशतले वृद्धि हुँदा उद्योगले तयारी वस्तुको मूल्य ३५ प्रतिशतले मात्र गरेको उनको तर्क छ।
जस्ता पाताका अर्को उत्पादक आरती स्ट्रिप्सका उपाध्यक्ष अश्विनी शर्माले अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्यवृद्धि भएर तयारी वस्तुको मूल्यमा पनि असर परेको बताए। कम्पनीको कच्चा पदार्थ र तयारी वस्तुको तुलनात्मक मूल्यसूची उपलब्ध गराउन भने उनले इन्कार गरे ।








