फिसिङ स्क्यामबाट कसरी जोगिने, दूरसञ्चार प्राधिकरणको यस्ता छन् टिप्स

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ बैशाख ४ गते ११:४३ | Apr 17, 2021
फिसिङ स्क्यामबाट कसरी जोगिने, दूरसञ्चार प्राधिकरणको यस्ता छन् टिप्स

Tata
GBIME
Nepal Life

काठमाडौं। बैंक खाता, इमेल, सोसल साइट आदि जे चलाउनुस् अब कम्प्युटर वा ल्यापटप खोज्नुपर्दैन, हात हातमा भएको एउटा स्मार्टफोनमा सबैथोक छ।

सूचना प्रविधिको विकासले मारेको फड्कोले यति सुविधा सहज गराउँदा हर्षित भएर चलाउनेहरुले सचेत भने हुनैपर्छ। तपाइँका युजरनेम, पासवर्ड ह्याक गर्न बल्छी थापेर बसेकाहरूले इन्टरनेटमा चिहाइरहेका छन्। तिनको पासोमा परियो भने बैंक खाता खाली गरिदिने मात्रै होइन अनेकौ झमेला आइलाग्न सक्छ।

अर्काको गोप्य सूचना ह्याक गर्ने गिरोह बढेपछि सामाजिक सञ्जाललगायतका माध्यमबाट हुनसक्ने फिसिङ स्क्यामबाट सचेत रहन आग्रह गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले विज्ञप्ति नै जारी गरेको छ।

पछिल्लो समयमा नाम चलेका कम्पनीहरुको सामाजिक सञ्जालमा नक्कली पेज बनाएर प्रयोगकर्ताहरुको फेसबुकलगायत अन्य खाताहरु ह्याक गर्ने गिरोह सक्रिय छ। त्यसैलाई मध्यनजर गर्दै प्राधिकरणले सावधानी अपनाउन प्रयोगकर्ताहरुलाई आग्रह गरेको हो। आवश्यकताअनुसार आफ्ना सबै कानुनी दस्तावेज डिजिटलाइज गरेर स्मार्टफोनमा राख्नेहरूले अझ सचेत हुनुपर्ने भएको छ। अनधिकृतरूपमा ती दस्तावेज अरु कसैले प्रयोग गरेर झमेलामा फसाइदिन सक्ने जोखिम बढेको छ। 

फिसिङ स्क्याम के हो?
यो एक प्रकारको साइबर हमला हो। जसको प्रयोग गरेर साइबर अपराधीहरुले इन्टरनेट प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण, इमेल तथा पासवर्ड, बैंकको खाता नम्बर तथा पिन कोड आदि प्राप्त गर्ने गर्छन्। कुनै प्रलोभन वा डर धम्की देखाएर बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न लगाउने जस्ता प्रयासहरु गर्ने प्राधिकरणले जनाएको छ। 

प्रयोगकर्ताहरुको विवरण हत्याउन साइबर अपराधीहरुले इमेल पठाउने, असली जस्तै देखिने नक्कली वेबसाइटको प्रयोग गर्ने, सन्देश पठाउने र फोनकलको समेत प्रयोग गर्ने गरेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।

फिसिङ स्क्याम वा फिसिङ हमलाबाट कसरी बच्ने? 
प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएको शंकास्पद इमेललाई नखोल्न अनुरोध गरेको छ। शंकास्पद इमेलको एट्याचमेन्ट र अपरिचित व्यक्ति वा संस्थाबाट आएको इमेलमा रहेको लिंकहरुमा क्लिक नगर्न र नखोल्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ।

अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्काल डिलिट वा ब्लक गर्न भनेको छ। इमेल रिप्लाइ वा रेस्पोन्स गर्नुपर्ने अवस्था आए ब्राउजरमा वेबसाइटको नाम टाइप गरेर सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। 

त्यसैगरी, पुरस्कार, उपहार, चिट्ठालगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिएर पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाइ नगर्न पनि प्राधिकरणले सचेत गराएको छ। चिनेको व्यक्ति, संस्था वा नचिनेको व्यक्ति, संस्थाबाट आएको इमेलमा पीडीएफ, टेक्स्ट, सीएसभी जस्ता स्ट्यान्डर्ड फर्म्याटबाहेकका इएक्सइ, भीबीएसलगायत एक्स्टेन्सनका फाइलहरु नखोल्न आग्रह गरेको छ। 

प्राधिकरणले आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन/सब-डोमेनबाट आएका इमेलहरुलाई नखोली डिलिट गर्न भनेको छ। अनावश्यक मेलिङ लिस्टमा सब्स्क्राइब नगर्ने र यदि गरेको भए अनसब्स्क्राइब गर्न आग्रह गरेको छ। 

यस्तै, प्राधिकरणले इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर, पिन कोडलगायतका विवरण नपठाउन अनुरोध गरेको छ। कुनै पनि वेबसाइटको पहिचान नगरी युजरनेम र पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बरलगायतका व्यक्तिगत पहिचानयुक्त सूचना सेयर नगर्न आग्रह गरेको छ। 

आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइसमा एन्टीभाइरस सफ्टवेयर प्रयोग गर्न पनि प्राधिकरणले प्रयोगकर्ताहरुसँग अपिल गरेको छ।