शेखर गोल्छाले प्रधानमन्त्री ओलीको गरे प्रशंसा, ‘बजेट र मौद्रिक नीतिले व्यवसाय तंग्रिन पायो’

शेखर गोल्छा
२०७७ चैत्र ६ गते १९:३२ | Mar 19, 2021
शेखर गोल्छाले प्रधानमन्त्री ओलीको गरे प्रशंसा, ‘बजेट र मौद्रिक नीतिले व्यवसाय तंग्रिन पायो’

Tata
GBIME
Nepal Life

गत वर्ष यसै समयमा हामी ठूलो अन्योलमा थियौं। लकडाउनको तयारी हुँदै थियो। त्यतिबेला हामीलाई जीवन यति चाडै लयमा फर्किएला जस्तो लागेको थिएन। तर आज हामी धेरैपछि यो जमघटमा उपस्थित हुन पाएका छौं।

सर्वसाधारणको अनुशासित जीवनशैली,प्रतिकुलताका बावजुद निजी क्षेत्रले उत्पादन र वितरणलाई दिएको निरन्तरता र सरकारको प्रभावकारी नेतृत्व एवं सहजीकरणले यो सम्भव भएको हो। आजको यो कार्यक्रममा विशेषगरि प्रधानमन्त्री ज्यू र सरकारलाई विगत एक वर्षमा कोभिड नियन्त्रण र खोप वितरणमा गर्नु भएको उदाहरणीय कामका लागि धन्यवाद दिन चाहन्छौ।

विशेषगरि गत वर्षको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तंग्रिन सहज भएको हो। चार महिना लामो लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा गत आर्थिक वर्ष र यस वर्षको पहिलो तीन महिना अर्थतन्त्र ऋणात्मक रह्यो। गत वर्ष दुई र यस वर्षको पहिलो त्रैमासमा करिब साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मक भयो।

तर दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार भएको छ। हिजो सम्ममा लक्ष्यको ५८ प्रतिशत राजस्व उठेको छ। मेरो बिचारमा यस वर्ष सरकारी लक्ष्य अनुसार नै राजस्व उठ्ने छ। बैंकहरुमा ऋणको माग बढेको छ। जसले तरलतामा चाप पर्न शुरु भइसकेको छ। यसले ब्याज बढाउने भए पनि यो अर्थतन्त्र सुधार हुँदै गएको संकेत पनि हो।

शोधानान्तर बचत विस्तारै घटन थालेको छ। यसको अर्थ हो मुलुकमा उत्पादन र उपभोग बढन थालेको छ। औद्योगिक कच्चापदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात अघिल्ला महिनाहरुको तुलनामा बढेकाले सोधनान्तर बचत घटन थालेको हो। गत वर्षको सात महिनामा र यस वर्षको सोही अवधिमा पनि आठ खर्बको आयात भएको छ। रेमिट्यान्स १० र निर्यात ८ प्रतिशतले बढेको छ।

बिषम परिस्थितिमा पनि निर्यात र रेमिट्यान्स बढी नै रह्यो। यसले बैंक वित्तिय संस्थामा तरलताको अवस्था सहज बनाइराख्न सहयोग पुग्यो। र सस्तोमा उद्यमी व्यवसायीले पुँजी पाउन सके र तंग्रिन सहज भयो। त्यसमा पुर्नकर्जा, पुर्नसंरचना एवं पुर्नतालिकीकरण आदिमा दिइएको सहुलियतको महत्वपूर्ण भूमिका छ।

तर लघु घरेलु साना तथा मझौला उद्यमलाई भने अझै व्यवसाय विस्तार कठिन छ। यस्ता उद्यमीहरुको अर्थतन्त्रमा २२ प्रतिशत योगदान छ। झण्डै २० लाखलाई रोजगारी दिएका छन। निर्यातमापनि ४० प्रतिशत हिस्सा छ। यो क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन पनि भएका छन्। सबको फरक फरक भनाइ छ। हाम्रो आकलनमा अझै ४० प्रतिशत यस्ता उद्यमीलाई कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ। कतिपय व्यवसाय त पूरै बन्द नै भइसकेका छन्।

अब धेरै व्यवसाय बन्द नहोउन र जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस् भन्नका लागि अझै सहयोग आवश्यक छ। जस्तो कि साना उद्यम लक्षित पुर्नकर्जा सहज रुपमा वितरण हुनुपर्‍यो। व्यवसाय निरन्तरता कर्जा पाउन कठिन भएको गुनासो आइरहेको छ। त्यो सहज हुनुपर्‍यो। यस वर्ष साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिइरहनु पर्नेछ।

यी र यस्तै विषय समेटेर साना तथा मझौला उद्यम पुनरोत्थान कार्यक्रम आवश्यक छ। जुन हामीले चैत्र २८ गते सार्वजनिक गर्न लागेको भिजन पेपरमा पनि समेटिएको छ। यसमा हामी सरकारसंग सहकार्य गर्न चाहन्छौ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले पहिले पनि जानकारी गराइसकेका छौं। यहाँबाट कार्यान्वयनका लागि जनाउनु भएको प्रतिबद्धताका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु। यसले हामीलाई उत्साही बनाएको छ।

भिजन पेपरमा हामीले सन २०३० सम्ममा एक अर्ब डलरको अर्थतन्त्र पुग्ने आधार, प्राथमिकताका क्षेत्र र इनिसिएटिभ्स पहिचान गरेका छौं। दोहोरो अंकको आर्थिक वृद्धि मार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना सकिने हामीले देखेका छौं। त्यसका लागि तत्काल ४१ वटा इनिसिएसनमा भने काम थाल्नुपर्ने देखिन्छ। मैले माथि भनेको साना मझौला उद्योगसँगै पर्यटन क्षेत्र पुनरोत्थान कार्यक्रम पनि आवश्यक पर्नेछ। पर्यटन क्षेत्रमा आश्रित उद्यमलाई पनि समस्या छ।

व्यवसायमाथि विश्वास सिर्जना गर्न भ्याक्सिनको पहुँच विस्तार र निजी क्षेत्रलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि म आग्रह गर्दछु। यी विषय कोभिड पछिको पुनरोत्थानका लागि आवश्यक छन् भन्ने हाम्रो बुझाइ हो। सरकारले भ्याक्सिन ल्याउन देखाएको तदारुकता र यसको सहज वितरणका लागि म प्रधानमन्त्री ज्यू र अन्य संलग्न निकायलाई धन्यवाद पनि दिन चाहन्छौं। आजसम्मको व्यवस्था उत्कृष्ट थियो। अब निजी क्षेत्रले पनि सहज रुपमा आयात गरी बिक्री वितरण गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसमा सरकारले सहजीकरण शुरु पनि गरिसकेको छ।

कोभिडपछिको पुनरोत्थानसँगै १० वटा प्राथमिकताका क्षेत्रहरु पहिचान गरेका छौं। जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम व्यवस्थापन, साना उद्यमको प्रवर्द्धनलगायतका विषय छन्। भिजन पेपर हाम्रो आगामी वार्षिक साधारणसभा तथा वाणिज्य दिवसका अवसरमा चैत २८ गते सार्वजनिक गर्ने तयारी गरेका छौं। विमोचनका लागि हामीले सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष पत्रमार्फत् आग्रह गरिसकेका छौं। अहिले म पुनः प्रधानमन्त्रीज्यूसमक्ष साधारणसभामा प्रमुख आतिथ्यता ग्रहण गरि भिजन पेपर विमोचन गरिदिन हुनविनम्र अनुरोध गर्दछु। सदा झैं यहाँको सदभाव रहने अपेक्षा गरेको छु।

आजको यस कार्यक्रममा मलाई पनिबोलाई दुइ शब्द राख्नु अवसर दिनुभएकोमा म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। (प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्योगी व्यवसायीसँग गरेको छलफलमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले दिएको मन्तव्यको सारसंक्षेप)