वीरगंजका व्यवसायी मित्रुकामाथि मिटरब्याजीको आरोप, साढे १३ लाख दिएर डेढ करोड बनाए

बिजमाण्डू
२०७७ फागुन १० गते १०:१० | Feb 22, 2021

Tata
GBIME

वीरगंज। झापाको भद्रपुर नगरपालिका घर भई हाल वीरगंज–१० बस्ने मिटर ब्याजीका रूपमा चर्चित मुरलीमनोहर मित्रुका र उनका भाइ मदनमोहन मित्रुकाले दर्जनौं व्यक्तिलाई झुक्याएर ठगेको आरोप लागेको छ।

आइतबार पत्रकार सम्मेलन गरी भूपू प्रहरी निरीक्षक एमडी सहाबुद्दीन अन्सारीलगायतले मित्रुका दाजुभाइले कम रकम दिएर तेब्बर कपाली तमसुक बनाई लाखौंको जग्गा दृष्टिबन्धक गराएको आरोप लगाए।

धेरै सोझासाझा व्यक्तिलाई ऋण दिने नाममा ठगी गरिरहेको पनि उनले आरोप लगाएका छन्।

सामान्य खर्चको लागि लिएको रकम र त्यसको सहमति अनुसार ब्याज दिँदादिँदै पनि उनले बलजफ्ती दर्जनौं व्यक्तिमाथि मुद्दा लगाएर जमिन कब्जा गरेको गुनासो गरे।

दर्जनौं व्यक्तिहरूको जमीन तथा घर लिलाम गराई मित्रुका दाजुभाईले आफूहरुको बिल्लिबाठ बनाएको अन्सारीको भनाइ थियो।

अन्सारीका अनुसार मित्रुका दाजुभाईमध्ये मुरलीमनोहरले वीरगंज-१२ का नूर देवान, जयनुर नेसा देवानी, वीमनपा-२४ का छोटेलाल प्रसाद कुर्मी, वडा नं. १३ का महम्मद जाबिर अन्सारी, सखुवाप्रसौनी गाउँपालिका-६ का श्रीराम यादव, मन्जुर आलम, वीरेन्द्र गिरी, बाराको महागढीमाई नगरपालिका-१२ का रोशन खातुन, पोखरिया नगरपालिका-५ का शशिभूषण तिवारी गरी ११ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा लेनदेन तथा चेक अनादर मुद्दा दर्ता गराएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।

२ देखि ३ लाख रुपैयाँ ऋण लिएकोमा कपाली तमसुक र दृष्टिबन्धक गराई ५० लाखको सम्पत्ति लिलाम गराएको पनि प्रमाण भेटिएको पीडित अन्सारीको छोरा समिर आन्सारीले आरोप लगाए।

पत्रकार सम्मेलनमा लक्ष्मणवाका भोला यादवले लेनदेनको भरमा तीनजनाको सम्पत्ति लिलाम भएको बताए।

यादव मुरलीमनोहरले सञ्चालन गरेको गोकुल आइसक्रिममा कार्यरत थिए। उद्योग बिक्री गर्ने क्रममा मुरलीमनोहरले बैंकबाट ऋण पास गराइ दिने आश्वासनमा आइसक्रिम उद्योग आफू समेत अन्य कामदार नवीन देवान र शिवराम यादवको जिम्मा लगाएको बताए।

पछि उनले बैंकबाट ऋण दिलाउन नसकेको र आइसक्रिम उद्योग अन्यत्र सार्न भनेर आफूहरुसँग १५ लाख रुपैयाँ मागेको पनि उनले दाबी गरे।

पछि तीन जनासँग छुट्टाछुट्टै पाँच पाँच लाखको कागज गरेको र आफूहरु बसेको घर दृष्टिबन्धक गराई लिलाम गराइदिएको आरोप लगाए। आफूहरु दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएकोमा मुरलीमनोहरले ठगेको उनीहरुको गुनासो छ।

पत्रकार सम्मेलनमा सहभागीहरुले न्यायको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको जानकारी गराएका छन्।

                                                                       (पीडित अन्सारी)

पत्रकार सम्मेलनमा अन्सारीले १३ लाख रुपैयाँ ऋण लिएको तर  २६ लाखको कपाली तमसुक बनाएको बताए।

मुरलीमनोहरले आफ्नो नाममा २६ लाख रुपैयाँ कपाली तमसुक र २५ लाखमा डेढ करोड पर्ने जग्गा दृष्टिबन्धक बनाइ मुद्दा लगाएपछि समस्यामा परेको बताए।

जिल्ला प्रशासन कार्यालय, पर्साले उजुरी सम्बन्धमा मित्रुका दाजुभाईलाई कार्यालयमा झिकाएर तारेखमा राखेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

जिप्रकाले तारिखमा रहेकाहरुसँग आवश्यक कागजात प्रमाण जुटाउने काम भइरहेको  प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।