जलविद्युतमा भारतीय लगानीको बढ्दो सम्भावनाः अरुण-३ पछि तल्लो अरुणमा पनि भारतीय कम्पनी

बिजमाण्डू
२०७७ माघ १७ गते ११:५१ | Jan 30, 2021
जलविद्युतमा भारतीय लगानीको बढ्दो सम्भावनाः अरुण-३ पछि तल्लो अरुणमा पनि भारतीय कम्पनी

Tata
GBIME
Nepal Life

काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना अघि बढाउन भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) छनोट भएको छ।

सतलज ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी हो। कम्पनीले अरुण तेस्रो निर्माण सुरु गरेको छोटो समयमै करिब ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ।

लामो समयसम्म राजनीतिक खिचातानीको सिकार भएको अरुण तेस्रोमा भारतीय लगानी भित्रिएसँगै नेपालको जलविद्युत क्षेत्रमा भारतीय लगानीका लागि ढोका खुलेको थियो।

सतलजले ९०० मेगावाटको अरुण तेस्रोको निर्माण नसक्दै ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माणमा पनि चासो दिनुले राजनीतिक स्थायित्व र सुरक्षाको ग्यारेन्टी हुने हो भने नेपालका अरु ठूला आयोजनामा पनि भारतीय लगानीको सम्भावना बढेको ऊर्जा क्षेत्रका जानकारहरु बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले तल्लो अरुण आयोजनालाई सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा अघि बढाउन एसजेभिएनलाई छनोट गरेको हो।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरुको मूल्यांकन गरी तल्लो अरुण निर्माणको लागि एसजेभिएन छनोट गरिएको लगानी बोर्डले जनाएको छ।

प्रदेश १ को संखुवासभा र भोजपुर जिल्लाको सिमानामा बग्ने अरुण नदिमा आयोजना निर्माण हुनेछ। अरुण तेस्रोबाट विद्युत उत्पादन गरेर निस्कने पानीलाई प्रयोग गरेर तल्लो अरुणबाट समेत विद्युत उत्पादन गर्न सकिने छ।

तल्लो अरुण आयोजनाको लागि छुट्टै बाँध निर्माण गर्नु नपर्ने भएकाले आयोजनाको लागत समेत निकै कम हुने देखिन्छ। 

यी आयोजनामा पनि छ भारतीय लगानीको सम्भावना
लगानी बोर्ड स्रोतका अनुसार ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगवाटको एसआर-६ मा पनि भारतीय लगानीकर्ताले चासो देखाएका छन्।

९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले यसअघि नै पाइसकेको छ। कोरोना महामारीका कारण बंगलादेशसँग विद्युत खरिद-बिक्री सम्झौता हुन ढिलाइ भएको असर आयोजनाको वित्तीय व्यवस्थापनमा पनि परेको थियो।

तर अहिले बंगलादेशले माथिल्लो कर्णालीको ९०० मेगावाट मध्ये ५०० मेगावाट विद्युत किन्ने ग्यारेन्टी गरिसकेको छ। 

भारतीय सरकारी कम्पनी एनएचपीसी र नेपालमा जलविद्युत आयोजनामा लगानी गर्दै आएको एचआइडीसीएल बीच नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता समेत भइसकेको छ।

एचआइडीसीएलमार्फत साना ठूला सबै खाले आयोजनामा भारतीय लगानी भित्रिने सम्भावना पनि रहेको जानकारहरु बताउँछन्।

उत्पादनसँगै खपतमा पनि ध्यान दिन निर्देशन
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगै खपतको पनि योजना बनाउनुपर्ने बताएका छन्। त्यसका लागि पूर्वाधार निर्माणका आयोजनाहरु समयमै सम्पन्न गर्न सरोकारवाला निकायलाई ओलीले निर्देशन दिएका छन्।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरे बमोजिम लगानीबोर्डको रणनीतिक योजना, परियोजना बैंक, वेबमा आधारित एकलविन्दु सेवा र नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) का वारेमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए।