आईओसीले अबदेखि बरौनी डिपोबाट मात्र पेट्रोल पठाउने, रक्सौलबाट हवाई इन्धन मात्र

सरला सुवेदी/बिजमाण्डू
२०७७ पुष २८ गते १५:१६ | Jan 12, 2021

Tata
GBIME

काठमाडौं। रक्सौलको डिपो संचालन योग्य नभएको  भन्दै नेपाल आयल निगमले केही समय बरौनीबाट पेट्रोल ल्याउने भएको छ।

गत मंसिरदेखि भारतीय आयल निगम अन्तर्गतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओआइएसडि) ले रक्सौल डिपो संचालन योग्य नभएको जानकारी गराउँदै आएको थियो।

रक्सौलस्थित डिपो जीर्ण बनिसकेकाले भारतीय आयल निगमले नेपाल आयल निगमलाई बरौनीबाट पेट्रोल लिन अनुरोध गरेको जनाएको छ।
रक्सौल व्यापारिक क्षेत्र भएकोले मानिसको भिडभाड सँगै सवारी चाप हुने गरेको छ। साथै बाक्लो बस्ती भएकाले उच्च जोखिम भन्दै भारतीय आयल निगमले सुरक्षाको कारण देखाउँदै आएको थियो।

आईओसीले बरौनी डिपोबाट पेट्रोल लिन पटक पटक अनुरोध गरेको नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए।

जनवरीको मध्यदेखि रक्सौलको डिपोबाट वितरण हुँदै आएको पेट्रोल र डिजेल उपलब्ध बरौनीबाट आउने पनि उनले जानकारी दिए।

हाल रक्सौलबाट आंशिक मात्र पेट्रोल उपलब्ध हुँदै आएको छ।

आयल निगमले रक्सौलबाट नजिक पर्ने सबैलाई वितरण गर्न सहज हुने भएकाले पहिले जस्तै रक्सौल डिपोबाट दिन आग्रह गर्दै आएको थियो। तर ओआइएसडीले नमानेकाले अबदेखि बरौनीबाट पेट्रोलको आपूर्ति हुने निश्चित भएको प्रवक्ता उपाध्यायको भनाइ छ।

अमलेखगञ्ज, जनकपुर, वीरगंज, पोखरा र काठमाडौंका लागि आवश्यक पर्ने पेट्रोल अबदेखि बरौनीबाट नै ल्याउनुपर्ने भएको छ।

हाल आपूर्ति भइरहेको पेट्रोल ५० प्रतिशत रक्सौलबाट र ५० प्रतिशत बरौनीबाट आउँथ्यो। यस अघि बरौनी अमलेखगञ्ज र रक्सौलबाट पेट्रोल आउने गरेको थियो। अबदेखि बरौनीबाट मात्र पेट्रोल आयात गर्ने भएको छ। बरौनीदेखि पेट्रोल आयात गर्दा रक्सौलको भन्दा बढी लागत पर्ने प्रवक्ता उपाध्यायले बताए।

भारतीय आयल निगमले हाल मोतीहारीमा बनाइरहेको नयाँ टर्मिनल तयार भएपछि भने मोतीहारीबाटै पेट्रोल आयात गर्ने पनि उनले जानकारी दिए।

यसैगरी भारतीय आयल निगमले दिँदै आएको डिजेलको परिमाणमा पनि कटौती गरेको छ। आइएसओडीले अबदेखि अमलेखगञ्जबाट मात्रै डिजल दिने भएको छ। यसअघि रक्सौलबाट पनि डिजल दिँदै आएको थियो।

अमलेखगञ्जमा पाइपलाइनबाट सिधै डिजेल आउने भएकाले रक्सौल जानु नपर्दा यसबाट निगमलाई फाइदा भएको पनि उनले बताए।

गत डिसेम्बरमा पहिलोपटक पेट्रोलियम पाइपलाइनको माध्यमबाट १ लाख किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा आएको थियो। निगमले उक्त डिजेल त्यहीबाट सम्बन्धित क्षेत्रहरुमा वितरण गरेको थियो।

हाल अमलेखगञ्जबाट दैनिक एक लाख किलोलिटर डिजेल आइरहेको छ। 'उक्त परिमाणले नपुगेको खण्डमा भारतीय आयल निगमले थप परिमाण पाइपलाइनबाट पठाउने छ।

नेपालले मागे जति डिजेल दिन भारतीय आयल निगम तयार छ,' उपाध्यायले भने। नेपालमा दैनिक करिब एक लाख २५ हजार लिटर पेट्रोल आवश्यक पर्ने देखिन्छ।

यसअघि ७० हजार देखि ८० हजार किलोलिटर डिजेल दिँदै आएको थियो। गत डिसेम्बरबाट डिजेलको परिमाण बढाएर एक लाख किलोलिटर पुर्‍याएको हो। रक्सौल नाकाबाट भने अब हवाई इन्धन मात्र आउने जानकारी पनि उपाध्यायले दिएका छन्।