सुनको मूल्य बढ्ने क्रममा ब्रेक, दोस्रो दिन तोलामा आठ सयको गिरावट, चाँदी पनि लाग्यो ओह्रालो

बिजमाण्डू
२०७७ पुष २७ गते ११:२९ | Jan 11, 2021
सुनको मूल्य बढ्ने क्रममा ब्रेक, दोस्रो दिन तोलामा आठ सयको गिरावट, चाँदी पनि लाग्यो ओह्रालो

Tata
GBIME

काठमाडौं। बढ्ने क्रममा ब्रेक लाग्दै चालु साताको दोस्रो दिन पनि सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको भन्दा ८ सय रुपैयाँले घटेर सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ भएको छ। 

गत शुक्रबारका तुलनामा आइतबार तोलामा २३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा आइपुगेको थियो। लगातार बढिरहेको सुनको मूल्य यो साता घट्न थालेको हो।

चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ। सोमबारका लागि चाँदीको कारोबार मू्ल्य प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारका तुलनामा ६० रुपैयाँको गिरावट आउँदा आइतबार चाँदी प्रतितोला एक हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बजारमा सुनचाँदीको कारोबार न्यून रहेको महासंघले जनाएको छ।

सुनको मूल्यमा अस्थिरतासँगै उपभोक्ताले खरिद बिक्री घटाएका छन्। पछिल्लो समय सेयर बजार बलियो हुन थालेपछि सुनको मूल्य घट्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८३१.५४ डलर र चाँदी २४.६५ डलरमा कारोबार भएको छ। आइतबार सुन प्रतिऔंस १८४९.१५ र चाँदी २५.४३ डलरमा कारोबार भएको थियो।