भाटभटेनीले सुरु गर्‍यो मेड इन नेपाल २०२१, स्वदेशी उत्पादन प्रवर्द्धनका लागि अभियानसँगै स्पेस

बिजमाण्डू
२०७७ पुष २६ गते १२:४१ | Jan 10, 2021
भाटभटेनीले सुरु गर्‍यो मेड इन नेपाल २०२१, स्वदेशी उत्पादन प्रवर्द्धनका लागि अभियानसँगै स्पेस

Tata
GBIME
Nepal Life

काठमाडौं। वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्याल शनिबार नक्सालको भाटभटेनीमा भीर मह चाख्दै थिए। 'लाग्छ नी, खाली पेट भए नखानुस्,' छेउमा उभिएमध्येका कसैले भन्यो।

उनले वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीतिर हेरेर भने 'भीर महको स्वादै फरक।' उनीहरुले मह मात्रै चाखेनन्, नेपाली केक, बिस्कुट, दालमोठ र चिया चाखे। 'हाम्रो उत्पादनको स्वादै मिठो,' प्रतिक्रिया थियो। उनीहरूले मार्केटभित्र गए, नेपाली उद्योगका बिक्रीका लागि राखेका उत्पादनहरूको अवलोकन गरे।

भाटभटेनीले 'स्वदेशी उत्पादनलाई माया गरौं'  भन्ने नाराका साथ 'मेड इन नेपाल २०२१' अभियान सुरु गरेको छ। जनवरी १ बाट सुरु भएको यो अभियान तीन महिनासम्म रहनेछ। नेपाली ३० कम्पनीले उत्पादन गरेका दैनिक उपभोग्य सामानहरुलाई मेड इन नेपाल अभियानमा भाटभटेनीले स्पेस उपलब्ध गराएको छ। उपत्यकाका ११ वटै स्टोरहरुबाट एक साथ यो अभियान थालिएको हो।

नेपाली सामाग्रीहरुलाई ठाउँ मात्रै दिएको छैन, भाटभटेनीले प्रचारका लागि स्टलहरु पनि राख्न दिएको छ। नेपाली कम्पनीबाट उत्पादित नुडल्स, बिस्कुट, चिप्स, अर्गानिक कफी, चिया, धुप, केक, पास्ता, चिया, साबुन, दालमोठ, भुजिया र ट्वाइलेटपेपर लगायतका सामानहरु राखिएका छन्। आफ्ना उत्पादन खरिद गर्नेलाई उत्पादक कम्पनीहरुले विभिन्न अफरसमेत दिएका छन्। सरकारी अधिकारीहरू यसैको अवलोकनमा पुगेका थिए।

भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले नेपाली प्रोडक्टलाई विश्व सामु चिनाउने अभियानअन्तर्गत 'मेड इन नेपाल २०२१' सुरु गरेको बताए।  'हामीले नेपाली उत्पादनलाई हाम्रा सुपरमार्केटबाट चिनाउन मात्र सके पनि स्वदेशी उत्पादन र क्वालिटीका विषयमा धेरैले जानकारी पाउछन्। केही उत्पादनहरु त विदेशीभन्दा राम्रा छन्,' उनले भने, 'सरकारले नीतिमार्फत नै सुपर स्टोरहरुले निश्चित प्रतिशत स्वदेशी उत्पादन बेच्नुपर्ने नियम ल्याउनुपर्छ।' 

उनका अनुसार भाटभटेनीले मात्रै वार्षिक ५० करोडको बिस्कुट बेच्छ। नेपाली उत्पादन डेढ/दुई करोड रुपैयाँको मात्रै छ। 'कम्तीमा २५ देखि ३० करोड रुपैयाँको पुर्‍याउने लक्ष्य राखौं,' उनले भने, 'यसले लोकल इकोनोमी चलायमान बनाउनुका साथै रोजगारीका अवसरहरु समेत सिर्जना गर्छ।' 

सचिव अर्यालले मेड इन नेपाल अभियान आफैंमा राम्रो भएको बताए। उनले लकडाउनको समयमा नाकाहरु बन्द हुँदा धेरै नेपाली उत्पादनले विदेशीलाई प्रतिस्थापन गर्न सक्ने देखिएको बताए।  सरकारले नीतिमार्फत नेपाली उत्पादनलाई प्राथमिकता दिएको उनले दाबी गरे। स्वदेशी उत्पादन क्षमता र बजार विस्तार गर्न सकिए व्यापारघाटा समेत कम गर्न सकिने उनले बताए।

'उत्पादन हुने सिजनमा खरिद र भण्डारण गर्न नसकेपछि धान बाहिर जान्छ। चैतमा हामीलाई चाहिएपछि चामल महंगोमा किन्नुपर्छ,' उनले भने, 'व्यवस्थापन गर्न सक्ने हो भने त किन खानु पर्‍यो र अर्काको लालकिल्ला चामल !' स्वदेशी उद्योगले उत्पादनको गुणस्तरलाई उपभोक्तामा रोजाइमा अब्बल ठहरिने बनाउन पनि ध्यान दिनुपर्ने उनले बताए।