कोभिडकै बीचमा संचालनमा आयो मारुती फूड पार्क, घण्टामै पाँच टन चामल उत्पादन गर्ने

बिजमाण्डू
२०७७ मंसिर ५ गते १४:४२ | Nov 20, 2020
कोभिडकै बीचमा संचालनमा आयो मारुती फूड पार्क, घण्टामै पाँच टन चामल उत्पादन गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नवलपरासीको रामग्राममा ६५ करोड लगानीमा मारुती फूड पार्क स्थापना भएको छ। यो फूडपार्कमा चामल, खानेतेल, मैदा, आँटा, जुस,  दाल, चकलेट लगायतका खाद्यान्न उत्पादन हुनेछ।

धनत्रयोदशीका दिनमा संचालनमा आएको यो फूड पार्कमा सुरुवातमा चामल उत्पादन भएको छ। ‘देशकै नमूना उद्योग बनाउने उद्देश्यसहित हामीले काम थालेका छौं। यो पहिलो फूडपार्क हुने हाम्रो विश्वास छ। त्यही भएर कोभिडका बेलामा समेत कामलाई निरन्तरता दिएका थियौं,’ कम्पनीका संचालक धिरज अग्रवालले बिजमाण्डूसँग भने, ‘पाँच वर्षभित्र हामीले धेरै उद्योग संचालनमा ल्याउनेछौं।’  उनका अनुसार दालका लागि प्लान्ट अर्डर भइसकेको छ।

यो फूडपार्कमा धिरजसँगै वीरेन्द्र अग्रहरि, धनपत यादब र विनोद अग्रहरि संचालक छन्। चार जना नै लगानीकर्ता यसअघि खाद्यान्न उद्योगमा संलग्न हुन्। उनका अनुसार चामल उद्योग पनि सिंगल युनिटमा सबै भन्दा ठूलो हो। ‘हाम्रो प्लान्ट घण्टामा पाँचदेखि ६ टन चामल उत्पादन गर्न सक्छ,’ अग्रवालले भने, ‘यो नेपालकै ठूलो चामल उद्योग हो।’ यो उद्योगबाट वार्षिक पाँच लाख क्विन्टल धान क्रसिङ हुनेछ।

 थाइल्याण्डमा बनेको मेसिनरी प्लान्ट लगाइएकोले गुणस्तरीय चामल उत्पादन हुने उनले जिकिर गरे। ‘खाद्यान्नमा सम्भावना देखेर यति ठूलो लगानीमा यो फूड पार्क संचालनमा ल्याएका हौं। त्यही भएर हामीले प्लान्टमा पनि कुनै सम्झौंता गरेका छैनौं,’ उनले भने, ‘प्लान्ट जापानिज टेक्नोलोजी भएकाले गुणस्तर अझ राम्रो हुनेछ।’ उद्योगबाट काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल लगायत ब्राण्डमा चामल बजारमा ल्याएको छ। यो उद्योगमा दुई सय जनाले रोजगारी पाएका छन्। तीन विघा जग्गामा उद्योग स्थापना गरिएको छ।

भारतीय चामलसँग प्रतिस्पर्धा

भारतमा खेतीका लागि अनुदान दिने भएकाले धान उत्पादन सस्तो पर्छ। भारतबाट सस्तोमा चामल आउने भएकाले स्वदेशी उद्योगलाई प्रतिस्पर्धा गर्न भने कठिन हुन्छ।

‘भारतीय चामल सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न सहज छैन्। तर दीर्घकालीन लगानीको रूपमा हेरेर गुणस्तरीय उत्पादन गर्न सकियो भने प्रतिस्पर्धा कठिन छैन,’ धिरज भन्छन्, ‘हामीले त्यही भएर थाइल्याण्डमा बनेको प्लान्ट ल्याएका छौं। सर्ट टर्म हेरेर लगानी गर्नु उद्योगका लागि उचित पनि होइन।’