अर्कैले केरमेट गरेको नोट समाउँदा पनि जेल जानु पर्ने !, बैंकिङ विज्ञ बिएन घर्तीको लेख




दसैंको सन्दर्भ परेकाले पुन: प्रकाशित गरिएको छ। कोभिड संक्रमणको जोखिम उच्च भएकाले नोट आदानप्रदान नगर्दा नै राम्रो।

हिन्दुहरुको महान चाड दसैं घरदैलोमा आइसकेको छ। त्यसैले हिन्दु धर्मालम्बीहरु दसैंको तयारीमा जुटिसकेका छन्। विदेश जानेहरु स्वदेश फिर्न थालेका छन्। स्वदेशमा बस्नेहरु पनि कर्मथलोबाट जन्मथलोतिर जाने तयारीमा जुट्न थालेका छन्। घर, मठ मन्दिर रंगाइदै छन्। गाउँघरका बाटामा वर्षाका पानीले बनाएका खाल्डा पुर्न थालिएको छ। बाटाहरु सफा गर्ने कार्यले पनि तीव्रता पाइसकेको छ।  

दसैंमा दक्षिणा दिनका लागि भरसक नयाँ नोट जुटाउने गरिन्छ। सर्बसाधारणले नयाँ नोट उपलब्ध गराइदिनका लागि बैंक कर्मचारीहरुलाई फोन गर्न थालिसकेका छन्। 

TaTa
TVS


नेपाल राष्ट्र बैंकले बर्सेनि झण्डै १२/१५ अर्ब रुपैयाँको नयाँ नोट आफैं र बैंक तथा वित्तीय संस्थाहरुबाट सर्वसाधारणलाई उपलब्ध गराउने गर्दछ। यसरी बजारमा पठाइएका नोटहरु दसैंको टीकासँगै लत्पतिछन्। त्यतिमात्र होइन, जतनपूर्वक नराख्नाले छिटै झुत्रा पनि भइहाल्छन्। कतिपयले त नोटमा अनावश्यक रूपमा लेख्छन्। केरमेट गर्दछन्। र, मुद्राको आयु घटाउँदछन्। तर, अब नयाँ संहिता आएसँगै यसरी केरमेट गरेमा भने सजायको भागिदार हुनुपर्ने भएको छ।

मुद्रा सम्बन्धि कसुर
२०७५ साल भाद्र १ गतेदेखि मुलुकी अपराध (संहिता) ऐन, २०७४ लागू भएको छ। त्यस्तैगरी, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू भएको छ। ऐन कार्यान्वयनमा आएपछि विभिन्न पेसाकर्मीले चासो व्यक्त गर्न थालेका छन्। केही पेसाकर्मीले प्रत्यक्षरूपमा विरोध पनि जनाइसकेका छन्।
 

 

मुद्रा सम्बन्धि कसुरलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ। अपराध (संहिता) ऐन, २०७४ को दफा २५६ देखि दफा २६६ अन्तर्गत मुद्रा सम्बन्धी कसुरका बारेमा उल्लेख गरिएको छ।

खोटा मुद्रा बनाउने, चलन गर्ने गराउनेदेखि लिएर बैंक नोटमा लेख्ने वा कोर्नेसम्मलाई सजाय हुने व्यवस्था ऐनमा गरिएको छ।  

मुद्रा भनेको के हो ?
करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड आदिलाई मुद्रा भनिन्छ। यसका अतिरिक्त नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी उल्लेख गरेका अन्य यस्तै प्रकारका मौद्रिक उपकरणलाई पनि मुद्रा भनिन्छ।

कस्तो मुद्रालाई खोटा मुद्रा भनिन्छ?
अनधिकृत रूपमा बनाइएका नक्कली मुद्रालाई खोटा मुद्रा (काउन्टरफिट करेन्सी) भनिन्छ। ती नक्कली मुद्रा झट्ट हेर्दा नेपाल सरकार वा नेपाल राष्ट्र बैंक वा विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने भान पार्ने खालको देखिन्छ। 

त्यसैले, खोटा मुद्रा भए पनि सक्कलीजस्तै देखिने भएकाले झुक्किएर विश्वास गर्न पुगिने सम्भावना रहन्छ। कसैले रकम दियो भने गन्ने चलन हुन्छ। तर, सक्कली वा नक्कली कस्तो हो भनेर नियालेर हेर्ने बानी हुँदैन। विशेष सीप नभएसम्म पत्ता लगाउन पनि सकिदैन। सर्वसाधारण मात्र होइन बैंकका कर्मचारीहरुलाई पनि नक्कली मुद्रा चिन्न असाध्यै गाह्रो हुन्छ। सजिलै चिन्न पनि सकिँदैन। विशेष सीप भएका पनि झुक्किने सम्भावना रहिरहन्छ। 

बैंकमा ठूलो मात्रामा नगद आएको हुन्छ। सबै एकएक गनेर बस्न सकिँदैन। त्यसैले नगद गन्न नोट काउन्टिङ मेसिनको साहयता लिइन्छ। र, उक्त प्याकेटलाई काउन्टरफिट नोट डिटेक्टिङ मेसिनमा राखिन्छ। तर, मेसिनले कहिलेकाँही कुनै संकेत नदिन पनि सक्छ। कुनै संस्थामा नोट डिटेक्टिङ मेसिन नहुन पनि सक्दछ। त्यसैले, प्याकेट भित्र नक्कली रहेछ भने पत्ता नलाग्न पनि सक्दछ।   

खोटा मुद्रा चलन गरे कस्तो सजाय हुन्छ?
कसैले खोटा मुद्रा हो भन्ने जानीजानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गरेमा, निकासी वा पैठारी गरेमा, लेनदेन गरेमा, सद्दे सरह चलनमा ल्याएमा वा त्यसको उद्योग गरेमा वा आफूसँग राखेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा रहेको छ।  

नोटलाई च्यातेमा वा नोटमा कोरेमा वा लेखेमा कस्तो सजाय हुन्छ?
बैंक नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले बैंक नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ। 



कहाँनेर छ जोखिम?
जानीजानी खोटा मुद्रा प्रयोग गरे वा आफूसँग राखेमा मात्र कसुर गरेको ठहरिने हो। तर, जानीजानी गरेको हो होइन भन्ने छुट्टयाउने आधार जजमेन्टल मात्र हुन्छ। कहिलेकाँही थाहा नै नपाइकन पनि त्यस्तो कुरामा फस्न सकिने यथार्थतालाई नकार्न सकिँदैन।  

एउटा उदाहरण लिऔं। मानौं कि शरीरको तापक्रम मापन गर्दा थर्मामिटरले १०१ डिग्री फरेनहाइट देखायो। सबैलाई थाहा छ समान्य अवस्थामा मानिसको शरीरमा औसत तापक्रम ९८.६ डिग्रीभन्दा तल हुने गर्दछ। तर यहाँ १०१ डिग्री देखियो। त्यसैले, ज्वरो आएको रहेछ भनेर किटेर भन्न सकिन्छ। 

तर, नोटमा केरमेट अर्कैले गरेको हुन सक्दछ। खोटा मुद्रा अर्कैले मिसाएर दिएको हुन सक्दछ। पछिल्लो पटक बैंक नोट होल्ड गर्ने व्यक्तिलाई 'केरमेट तिमीबाट नै भएको हो, नक्कली नोट तिमीसँग भएकाले तिमी यसमा संलग्न छौं' भनेर स्थापित गराउन खोजियो भने त्यहाँनेर डरलाग्दो जोखिम भने हुन सक्दछ। 

बैंक तथा वित्तीय संस्थाहरुले खोटा मुद्रा पहिचान गर्नका लागि सम्बन्धित कर्मचारीहरुलाई तालिम दिन्छन्। खोटा मुद्रा पहिचान गर्नका लागि आवश्यक पर्ने औंजारहरु पनि नगद विभागका कर्मचारीलाई उपलब्ध गराउँदछन्। 

तैपनि, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु खोटा मुद्रा पहिचान गर्न संघर्ष गर्दछन्। त्यसैले यहाँ प्रश्न उठ्छ कि सर्वसाधारणले कसरी खोटा मुद्राको पहिचान गर्ने? कसरी यस्ता जोखिमबाट बच्ने?

अझ बैंक तथा वित्तीय संस्थाका कर्मचारी वा अन्य व्यक्तिहरुले पनि १०० वटा नपुगेको खुद्रा नोटको प्याकेटमा कति नोट छ भनेर हेक्का राख्नका लागि नोटमा अंक लेखिहाल्ने बानी हुन्छ। उदाहरणका लागि खुद्रा नोट ७० वटा रहेछ भने ७० लेख्ने चलन चल्दै आएको छ। अब कसैले नोटमा लेख्यो भने पनि सजाय भोग्न सक्ने व्यवस्था ऐनमा छ। 



सफा नोट नीति
नेपाल राष्ट्र बैंकले २०६७  साउनबाट नै सफा नोट नीति लागू गरिसकेको छ। त्यसपछि केरमेट गरिएका नोट सर्कुलेसन जाँदैनन्। तर, पनि अझै कोरिएका र लेखिएका नोटहरु छ्याप्छ्याप्ती नै भेटिन्छन्। 

हामीले हाम्रो पर्समा राखेका नोटहरु निकालेर हेर्‍यौं भने पनि धेरै नोट लेखिएका नै भेटिन्छन्। अब, त्यस्ता नोट लिने कि नलिने? त्यसैले नोटलाई सफापूर्वक राख्न र केरमेट नगर्नका लागि व्यापकरूपमा जनचेतना जगाउने खालका कार्यक्रम गर्नु पर्ने आवश्यकता देखिइसकेको छ। 

कसरी जोखिम न्यूनीकरण गर्ने?
बैंक नोटलाई कसरी सफा राख्ने र जतन गर्ने भन्ने एउटा पाटो छ। अर्कोतिर खोटा मुद्रा लिन र दिनबाट बच्नु पर्ने अर्को महत्वपूर्ण विषय छ। 

नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटमा सूचना प्रकाशित त गरेको छ। दसैंका बेलामा अलि बढी नै प्राथमिकताका साथ चेतनामूलक सन्देश पनि प्रकाशन र प्रसारण गर्ने गर्दछ। बैंक तथा वित्तीय संस्थालाई सफा नोट नीति पूर्णतया लागू गर्न निर्देशिका पनि जारी गरेको छ। 

तर, घर घरमा र जनजनमा यो सन्देश नपुगेसम्म नोटमा केरमेट गर्ने क्रम रोकिँदैन। त्यसैले यसलाई अभियानका रूपमा सबै सम्बद्ध पक्षले लैजानु पर्दछ। यसो गर्न सकियो भने पक्कै पनि खोटा मुद्रा प्रयोग हुन नदिने र नोटलाई जतन गर्ने कार्यमा टेवा पुर्‍याउन सकिन्छ। 

बैंक तथा वित्तीय संस्थाले के गर्न सक्दछन्?
बैंक तथा वित्तीय संस्थाले सफा र झुत्रा नोटलाई सर्टिङ गरी नेपाल राष्ट्र बैंक पठाउने गर्दछन्। शंकास्पद नोट पाइएमा त्यसलाई पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाउँछन्। 
 

 

तर, नोट सर्टिङ कार्यमा मात्र सीमित नरहेर मुद्रा सम्बन्धी जनचेतना जगाउने कार्य गर्न सकिन्छ। यसका लागि तालिम प्राप्त र विशेष सीप भएका कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ। सामाजिक उत्तरदायित्व वा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यालय वा टोल सुधार समिति वा उपभोक्ता समिति वा नगरपालिका वा गाउँपालिका आदि कार्यालयमा गएर यस्ता कार्यक्रम गर्न सकिन्छ। 

बचत गर्नु पर्दछ भन्ने खालका कार्यक्रम मात्र वित्तीय साक्षरता अन्तर्गतका कार्यक्रम होइनन्। मुद्रा सम्बन्धी जनचेतना जगाउने कार्यक्रम लिएर सर्वसाधरणका बीच पुग्न सकियो भने पनि बैंकको ब्राण्डिङ भइहाल्छ। त्यसपछि, सर्वसाधारणहरु त्यो बैंक तथा वित्तीय संस्था खोज्दै पुगिहाल्छन्।   

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका मात्रै झण्डै ४ हजार ५ सय शाखा पुग्न लागिसकेका छन्। एउटा शाखाले एउटा कार्यक्रम मात्रै गरे पनि झण्डै ४ हजार ५ सय वटा कार्यक्रम आयोजना हुन जान्छ। र, त्यस्ता कार्यक्रमलाई नीरन्तरता दिन सकियो भने धेरै ठूलो जनसमूहलाई चेतना जगाउन सकिन्छ। 

ती कार्यक्रम गरिएका विद्यालयका शिक्षक/विद्यार्थीहरुले वा उपभोक्ता समितिका व्यक्तिहरुले वा टोल सुधार समितिका व्यक्तिहरुले थप कार्यक्रम चलाएर व्यापकता दिन सक्छन्। र, बिस्तारै मुद्रालाई जतन गर्ने र खोटा मुद्राबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने कार्यले अभियानको रूप लिन सक्दछ। 

हामीले संयुक्त प्रयासबाट नोट छाप्दा खर्च हुने ठूलो धनराशीमा कमी ल्याउन सक्दछौं। हामी सबैले सफा नोट प्रयोग गर्न पाउँदछौं। खोटा मुद्राबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै जान पनि सक्दछौं। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell