ड्राइपोर्टमा पाँच वर्षका लागि नयाँ सञ्चालक, सेवाको गुणस्तर फेरिँदै, दैनिक १२ घन्टा सञ्चालनमा

बिजमाण्डू
२०७७ असोज २४ गते १३:२७ | Oct 10, 2020
ड्राइपोर्टमा पाँच वर्षका लागि नयाँ सञ्चालक, सेवाको गुणस्तर फेरिँदै, दैनिक १२ घन्टा सञ्चालनमा

Tata
GBIME
Nepal Life

वीरगन्ज। व्यवस्थापनमा नयाँ ठेकेदार कम्पनी आएपछि वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सारको सेवामा परिवर्तन आउन थालेको छ। बन्दरगाहमा माल लोड-अनलोडको काम दिनको १२ घन्टा निर्वाध चल्न थालेको छ।

सिर्सिया मुलुकको एकमात्र बन्दरगाह हो, जहाँ बिभिन्न प्रकारका सामान रेलले ल्याउँछ। कन्टेनरलाई यहाँ उतारेर ट्रकहरूमा गन्तव्यमा पठाइन्छ। लकडाउनयता यहाँ पनि सेवा प्रभावित थियो। संक्रमणको दर घट्नुका साथै नयाँ कम्पनीलाई ठेक्का दिएपछि माल-लोड अनलोड सहज भएको छ।

बन्दरगाह सञ्चालनको ठेक्का प्रिन्सटाइन भ्याली ड्राइपोर्ट प्रालिले पाँच वर्षका लागि पाएको छ। गत साउन २२ देखि काम थालेको उक्त कम्पनीले निषेधाज्ञा हटेसँगै मालसामान भित्र्याउन र बाहिर पठाउने प्रक्रियामा सरलीकरण गर्दै लगेको छ। दिल्लीको प्रिन्सटाइन र काठमाडौंको भ्याली लजिस्टिक मिलेर बन्दरगाहको व्यवस्थापन ३ अर्ब ३३ करोडमा ठेक्का लिएका हुन्। 

प्रिन्सटाइन भारतमा लजिस्टिक व्यवसायमा उदीयमान कम्पनी हो, जसमा रजनीश कुमार र अमित कुमारको लगानी छ। यस्तै नेपाली कम्पनी भ्याली लजिस्टिकमा बाबुराज रावलको लगानी छ। पछिल्लो ५ वर्ष बन्दरगाहको व्यवस्थापन ७९ करोडमा मात्र ठेक्का लागेको  थियो। ३ लाख ८० हजार वर्गमिटर क्षेत्रफलको बन्दरगाह सञ्चालन गर्न यसपटक लागेको ठेक्का अहिलेसम्मकै महंगो हो। 

उद्योगी-व्यवसायीहरूले सेवाको स्तरमा क्रमिक परिवर्तन आए पनि बन्दगाहमा नयाँ कम्पनी आएपछि शुल्क तथा भाडा महंगो पारेको गुनासो गरेका छन्। माल लोड-अनलोडको परम्परागत कामलाई ठेकेदारले सुधारका निहुँमा शुल्क बढाएको उनीहरूको भनाइ छ। बन्दरगाहमा आइपुगेका मालवस्तु तत्काल यार्डबाट बाहिरिँदैनन्। प्रक्रिया पुर्‍याउन र बिभिन्न कारणले अलि ढिला गरि छुटाइने मालवस्तुको भाडा महंगो भएको उनीहरूको गुनासो छ।

नेपाली व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयात गरेका मालसामान सुक्खा बन्दरगाहमा आइपुग्छन्। बन्दरगाह परिसरको भन्सारले जाँचपास गरेपछि त्यस्ता सामान गन्तव्यमा पुग्छन्। कतिपय व्यवसायीले बन्दरगाहमा आइपुगेको सामान निकै ढिला गरि छुटाउँछन्। कागजात नपुगेका सामान भन्सारले रोक्छ। त्यसलाई पछि छुटाउँदासम्म लाग्ने शुल्क महंगो पारिएको गुनासो व्यवसायीको छ।

समुद्रीमार्ग बिशाखापटनम र कोलकाता आइपुगेका तेस्रो मुलुकका सामान रेलमार्फत सुक्खा बन्दरगाहमा आइपुग्दा ट्रकमै ल्याउनुभन्दा ढुवानी भाडा रेलबाट सस्तो पर्छ। त्यसैले धेरै सामान कन्टेनरमा रेलबाटै बन्दरगाह ल्याइन्छ। बिभिन्न उद्योगका लागि कच्चा पदार्थ र काठमाडौं पुग्ने धेरै मालवस्तु कन्टेनरमा सिर्सिया बन्दरगाह आइपुग्ने गरेको छ। 

वीरगन्ज सुक्खा बन्दरगाहको प्रभावकारिता हेर्दै सरकारले मुलुकका अन्य सीमावर्ती शहरमा पनि यस्ता बन्दरगाह थप्ने योजना बनाएको छ। तर बजेट व्यवस्थापनको अलमलले कञ्चनपुर र भैरहवाका परियोजना अघि बढेका छैनन्।

वीरगन्ज सुक्खा बन्दरगाह व्यवस्थापन जिम्मा पाएको कम्पनीले सेवाको गुणस्तरसँगै शुल्क परिमार्जन गरिनुलाई जायज रहेको दाबी गरेको छ। विद्यमान संरचनामा सुधारको सुझाव पनि दिएको उक्त कम्पनीले बिस्तारै व्यवसायीलाई आफ्नो कार्यालय वा घरबाटै आफ्ना मालवस्तुको अवस्था बुझ्न दिने व्यवस्था गर्न लागेको जनाएको छ।

प्रिन्सटाइन भ्याली ड्राइपोर्टका प्रमुख स्ट्रेटजी अफिसर आदित्य रोयका अनुसार पहिलेभन्दा हाल यार्डमा कन्टेनर लोडिङ-अनलोडिङको कामलाई सहज बनाइएको छ। ‘अहिले सबै कन्टेनर लेयर मिलाएर चक्लाबन्दीमा राखिएको छ, कुन व्यवसायीको माल कहिले आयो, कहाँ छ भन्ने सहजै थाहा हुन्छ,’ उनले भने, ‘हामी १५ वर्षदेखि यार्ड स्लोटिङको अनुभव संगालेका छौं। चाडैं एउटा सफ्टवेयर पनि अपरेसनमा ल्याउँदैछौं। त्यसपछि घर बसेर व्यवसायीले आफनो समान तथा कन्टेनरको मोबाइलबाट ट्रयाकिङ गर्न सकिने छन् ।’ 

रोयका सहयोगी चिफ अपरेसन अफिसरमा अतुल शर्मा र वाणिज्य प्रमुख विकास शर्मा गरी अन्य कर्मचारीले यसका लागि काम गरिरहेको उनले बताए। दैनिक १२ घण्टा काम भइरहेको उनको दाबी छ। काम जिम्मा लिएयता नेपालको कानुन र उदयोगी-व्यवसायीको चासो अनुसार सेवा सहज बनाउन प्रयास जारी रहेको उनले सुनाए।

'मासिक रूपमा पहिले रेलले १ सय १० वटा डिब्बामा समान लिएर आउँथ्यो। अहिले मासिक ७० वटा डिब्बामा सामान आइरहेको छ,' उनले भने, 'सहजै समान ह्याण्डलिङको काम भइरहेको छ।' अहिले विशाखापटनमबाट ६५ प्रतिशत र ३५ प्रतिशत समान कोलकात्ताबाट आइरहेको उनले जानकारी दिए। 

'पहिलेभन्दा दुई गुणा छिटो सामान ह्याण्डलिङको काम भइरहेको छ,' उनले भने। उक्त कम्पनीले अगामी दिनमा यार्ड विस्तार गर्नुपर्ने र कम्तिमा दुई वटा रेल्वे ट्रयाक पनि सरकारले थप्नु पर्ने सुझाव दिएको छ।