सेयर बजारले देख्यो एक सातापछि रातो रंग, सूचक र कारोबार रकम दुवै ओरालो

बिजमाण्डू
२०७७ भदौ ३० गते १६:०९ | Sep 15, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । भदौ २३ देखि लगातार बढेको सेयर बजारमा एक सातापछि सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक र कारोबार रकम दुवै खस्किएको हो ।

सेयर बजारको स्वास्थ्य जनाउने नेप्से परिसूचक ४.४७ प्रतिशतले घट्दा कारोबार रकम एक अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । सोमबार ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

भदौ तेस्रो साताको मध्यबाट उकालो लाग्न थालेको नेप्से परिसूचक १५१० अंकसम्म पुगेपनि अर्थमन्त्रीबाट युवराज खतिवडा हटेपछि बजारमा उछाल आउने अनुमानविपरित भदौ १८-२२ बीचका सबै कारोबार दिनमा घटेर १४८८ विन्दुनजिक ओर्लिएको थियो । 

तर, त्यसयता अघिल्लो मंगलबारबाट लगातार उकालो लागेको सेयर बजारको कारोबार सूची बोर्डमा आज रातो रंग देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने १२ उपसमूहमध्ये होटल, जीवन बीमा र सामुहिक लगानी कोषबाहेक अन्य सबैको सूचक आज घटेको छ । विकास बैंक (१४.५५), ट्रेडिङ (१३.७५) र उत्पादन (१२.४६) समूह क्रमश: सूचक धेरै घट्नेमा रहेका छन् ।

पछिल्लो केही दिनयता लगातार सबैभन्दा धेरै सेयर किनबेच भइरहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर नै मंगलबार पनि सर्वाधिक रकमको किनबेच भएको छ । मंगलबार सबैभन्दा धेरैपटक (२६९१) कारोबार हुनेमा समेत रहेको यस कम्पनीको ११ करोड २२ लाख रुपैयाँ हाराहारीको सेयर खरिदबिक्री भएको हो ।

संख्याका हिसाबले कुमारी बैंकको सेयर धेरै (३३४६५४ एकाइ) किनबेच भएको छ । प्रतिशत आम्दानीका दृष्टिले दिव्येश्वरी हाइड्रोपावर लिमिटेड (१०%), एनआरएन लघुवित्त (९.९२%), रिलायन्स लाइफ इन्योरेन्स (९.८६%) मंगलबारका सर्वाधिक कमाउने कम्पनी हुन् । 

अर्कोतर्फ, माउन्टेन हाइड्रो नेपाल, राधी विद्युत कम्पनी, गुर्खाज् फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य कारोबार भएका अन्य कम्पनीहरुको भन्दा धेरै प्रतिशतले घट्यो ।