
काठमाडौं। मौद्रिक नीति लगत्तै बिजमाण्डूसँगको अन्तर्वार्तामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भनेका थिए, 'अहिले हामी मर्जरभन्दा पनि कोभिडलाई प्राथमिकतामा राखेर हिँडिरहेका छौं। त्यसकारण अहिले मर्जरलाई हामीले छोएको मात्र हो। कोभिडबाट बाहिर आइसकेपछि (मर्जरमा) थप प्रभावकारी कुराहरु आउँछन्।'
तर, गभर्नर अधिकारी यो बीचमा कोभिडमा मात्रै केन्द्रित छैनन्, उनी कोभिडको चुनौतीबीच मर्जरलाई पनि 'ट्याक्टफुल्ली इन्डोर्स' गरिरहेका छन्। र, त्यो सन्देश उनी आफैं र राष्ट्र बैंकको टीमले विभिन्न माध्यमबाट बैंकका लगानीकर्ता, बोर्ड र व्यवस्थापनका कर्मचारीलाई दिइरहेको छ।
बिजमाण्डूसँगको अन्तर्वार्तामा गभर्नर अधिकारीले भनेका थिए,'हामीकहाँ को नै बिग छ र ? बिग मर्जर भन्ने ! त्यति बिग नभनौं। भोलि बिग नै भएछन् भने भनौंला। देश भित्रका ठूला भन्न सकियो।'
पढ्नुस् गभर्नर महाप्रसाद अधिकारीको अन्तर्वार्ता
देशका ठूला अर्थात गभर्नरको चाहना नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर होस् भन्ने छ। यी दुईका साथमा उनले पर्फमेन्समा पुछारतिर रहेको अर्को एउटा बैंक पनि मर्जर होस् भन्ने सन्देश हिमालयन र इन्भेष्टमेन्टको बोर्ड र व्यवस्थापनलाई दिइसकेका छन्।
यस पछाडि राष्ट्र बैंकका तीन वटा उद्देश्य देखिन्छन्।
पहिलो, नेपाल इन्भेष्टमेन्ट र हिमालयनबीच साझा लगानीकर्ता छन्। यो दुई बैंकका लगानीकर्ता र व्यवस्थापनमा परिवार पनि जोडिएका छन्। दुवै बैंकको वर्किङ कल्चर, व्यापार र ग्राहक उस्तै छन्। यसकारण यो मर्जर अरु बैंकबीचका मर्जरभन्दा सहज हुनेछ।
दोस्रो, यी दुई बैंकबीचको मर्जर र त्यसमा कमजोर पर्फमेन्स भएको अर्को एउटा बैंकलाई जोड्दा यो बल्ल देशकै बिग मर्जर हुनेछ। तीन बैंकको गाभिएर बन्ने ठूलो बैंकबाट मर्जरको सिनर्जी देखिनेछ। यसबाट राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियामकीय काम मात्रै घटाउने छैन, यसले अर्थतन्त्रलाई पनि टेवा दिनेछ।
तेस्रो, हिमालयन र इन्भेष्टेमेन्टसहित तीन बैंकबीच हुने मर्जरले अरु बैंकलाई सन्देश मात्रै होइन, मर्जरका लागि ठूलो दबाब पनि दिनेछ। त्यो दबाबले बैंकको संख्या आधाभन्दा बढी नै घटाउनेछ।
यही कारण गभर्नरको चाहना बमोजिम हिमालयन बैंकले बोर्ड सदस्य तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको नेतृत्वमा चार सदस्यीय मर्जर कमिटी समेत गठन गरेको छ। हिमालयनले मर्जर समिति गठन गरेको हुँदा त्यस्तै समिति गठन गर्ने दबाब नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि परेको छ।
उसले हिमालयन बैंकसँग यसबारेमा केही कुराकानी गरेको पनि बुझिन्छ। 'तिमीहरु (हिमालयनको पक्षबाट) पहिले प्रस्ताव ल्याओ, हामी एक मिनेटमा मर्जरको निर्णय गरेर पठाइ दिन्छौं' भनेर इन्भेस्टमेन्टले हिमालयनका प्रमुख सेयरधनीलाई भनिसकेको छ।
यो बीचमा दुई बैंकका लगानीकर्ताहरुमध्ये केही मर्जरमा र केही मर्जरपछिको आफ्नो भविष्य के हुन्छ भन्ने लेखाजोखामा लागेको देखिन्छ। त्यसका केही अप्ठ्यारा र केही सजिला बिजमाण्डूले फेला पारेको छ।
हिमालयनमा सीमित लगानीकर्ता
हिमालयन बैंकको स्थापना नेपालका प्रथम गभर्नर हिमालय शम्सेर राणाको पहलमा भएको थियो। अहिले पनि हिमालय शम्सेर बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। उनका छोरा अशोक राणा दुई दशकदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्।
हिमालयन बैंक स्थापना हुँदा उनीहरुका आफन्त र मित्रहरु गरेर चार वटा समूह बनाइएको थियो। यी चार समूहमा प्रत्येकसँग १२.७५ प्रतिशतका दरले ५१ प्रतिशत सेयर थियो।
त्यसमध्ये पहिलो समूह हिमालय शमशेर राणाको थियो, दोस्रो भीमबहादुर पाँडे तथा पृथ्वीबहादुर पाँडे, तेस्रो मोहनगोपाल खेतान र चौथो नरसिंहबहादुर श्रेष्ठ तथा आनन्दभक्त राजभण्डारीको परिवारको स्वामित्वमा भएका कम्पनी, उनीहरुका आफन्त र मित्रहरुको नाममा सेयर थियो।
बैंकको ठूलो सेयर साझेदारमध्येको एक आभा इन्टेरनेशनल कम्पनी हिमालय शम्सेर राणाको कम्पनी थियो, जुन कम्पनीसँग हिमालयन बैंकमा अहिले पनि ११.३८ प्रतिशत सेयर छ।
तर आभा इन्टरनेशनल कम्पनीमा अहिले हिमालय शमशेर राणाको प्रभाव भने घट्दै गएको छ। आभामा भएको ठूलो सेयर शशिकान्त अग्रवालको हातमा पुगेको छ भने त्यही कम्पनीको केही हिस्सा एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको हातमा पुगेको दाबी बिजमाण्डू स्रोतको छ।
हिमालय शम्सेर, शशिकान्त अग्रवाल र सतिशलाल आचार्य लगायत गरेर आभामा अहिले झण्डै ५० जना सेयरधनी पुगेका छन्। तर त्यसमध्ये अहिले पनि शशिकान्त र हिमालय शम्सेर बलिया छन्।
त्यसबाहेक हिमालय शमशेर राणाको क्लस्टरअन्तर्गत उनका आफन्त र मित्रहरु शर्मा एण्ड कम्पनीसँग ०.६६ प्रतिशत, इन्टरनेशनल ट्रेड लिंकसँग ०.४७ प्रतिशत, इलु शर्मा धोबीचौरसँग ०.१३ प्रतिशत, नेत्र राज्यलक्ष्मीसँग ०.०६ प्रतिशत र विजयनारायण सिंहसँग ०.०५ प्रतिशत सेयर छ।
त्यसपछि संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवार, आफन्त र मित्रले खोलेर स्थापना गरेको कम्पनी छायाँ इन्टरनेशनलसँग हिमालयन बैंकमा अहिले ८.८९ प्रतिशत सेयर छ।
जब पाँडेले इन्डोस्वेज बैंक खरिद गरे त्यतिबेला उनले छायाँ इन्टरनेशनलको सेयर बेचे, यो सेयरमा पनि केही हिस्सा अहिले शशिकान्त अग्रवालसँग छ। त्यसबाहेक मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर पनि यो कम्पनीमा छ।
त्यसबाहेक पाँडेको क्लस्टरमध्ये शशिकान्त अग्रवालसँग आफ्नै नाममा २.६५ प्रतिशत, इन्दिरा मल्लसँग ०.१९ प्रतिशत, नयनतारा मास्केसँग ०.०२ प्रतिशत, मेनुका श्रेष्ठसँग ०.०१ प्रतिशत र स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर छ।
नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारी तथा उनका आफन्त र मित्रहरु मिलेर स्थापना गरेको कम्पनी एन ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि १२.७१ प्रतिशत सेयर छ। यो कम्पनी अहिले मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको स्वामित्वमा छ। त्यसबाहेक उनको क्लस्टरमा सुमन राजभण्डारीसँग ०.०४ प्रतिशत सेयर छ।
मोहनगोपाल खेतान तथा उनको परिवारको स्वामित्वमा रहेको कम्पनी म्युचुअल ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि ११.८५ प्रतिशत सेयर छ। जुन कम्पनीमा प्रेमलता खेतान सेयरधनी भएपनि अहिले सिपि खेतान र पिपि खेतानले हेर्छन्। त्यसबाहेक उनको क्लस्टरबाट हिमालयन बैंकमा मारवाडी सेवा समितिको ०.१३ प्रतिशत सेयर र अन्जु खेतानको नाममा ०.७७ प्रतिशत सेयर छ।
यो ५१ प्रतिशत सेयरबाहेक बाँकी ३४ प्रतिशत सेयर दुई वटा संस्थापक लगानीकर्तासँग छ। त्यसमध्ये एउटा कर्मचारी सञ्चय कोषसँग १४ प्रतिशत सेयर छ भने अर्को २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकसँग छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तासँग छ।
इन्भेष्टमेन्टमा को-को छन्?
हिमालयन बैंकमा जस्तो इन्भेष्टमेन्ट बैंकमा सीमित पारिवारिक लगानीकर्ताको दबदबा छैन्। तर यहाँ पनि पृथ्वीबहादुर पाण्डेको प्रभाव भने बलियो छ। जति बेला पृथ्वीबहादुर पाँडेले हिमालयन बैंकमा भएको आफ्नो सेयर बेचेर क्रेडिट एग्रिकोलसँग इन्डोस्वोज नेपाल (पछि नेपाल इन्भेष्टमेन्ट बैंक नामामा बदलिएको) को सेयर खरिद गरे त्यतिबेलादेखि नै उनी बैंकमा प्रभावशाली छन्।
हिमालयन बैंकमा रहँदा पाण्डेले छायाँ इन्टरनेशनल कम्पनीमार्फत सेयर लगानी गरेका थिए भने नेपाल इन्भेष्टमेन्ट बैंकमा उनले छायाँ इन्भेष्टमेन्ट प्रालि खडा गरेर लगानी गरेका थिए। बैंकमा छायाँको ६.६५ प्रतिशत सेयर छ।
इन्भेष्टमेन्ट बैंकमा ०.५० प्रतिशतभन्दा बढी सेयर भएका छायाँ जस्तै २३ वटा कम्पनीको कुल ५७ प्रतिशत सेयर लगानी छ। पाँडेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवाल प्रभावशाली सेयरधनी हुन्, उनले आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर होल्ड गर्छन्। तर उनले बोर्डदेखि व्यवस्थापनसम्म कहिल्यै पनि दख्खल दिँदैनन्।
शशिकान्त अग्रवालपछि सांघाई परिवार, टिवडेवाला, पञ्चकन्या र मर्कन्टाइल इन्भेष्टमेन्ट लगायतको पनि बैंकमा सेयर लगानी छ। तर बैंकमा उनीहरुको पनि दख्खल भने ज्यादै कम छ।
इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी भने राष्ट्रिय बीमा कम्पनी हो। यो कम्पनीसँग १२.१५ प्रतिशत सेयर छ भने राष्ट्रिय बीमा संस्थानसँग १.१४ प्रतिशत र नागारिक लगानी कोषसँग २.६३ प्रतिशत सेयर छ। यसबाहेक बैंकमा सर्वसाधरण सेयरधनीको ३१ प्रतिशत सेयर छ।
पारिवार कतै सहज, कतै असहज
हिमालयन बैंकमा पकड भएका हिमालय शम्सेर र इन्भेष्टमेन्ट बैंकमा पकड भएका पृथ्वीबहादुर पाँडेबीच पारिवारिक सम्बन्ध छ। हिमालय शम्सेरकी छोरी प्रतिमालाई पृथ्वीबहादुर पाँडेले विवाह गरेका छन्।
हिमालयन बैंकमा सञ्चालक समितिका सल्लाहकार रहेका हिमालय शम्सेर पृथ्वीका ससुरा र सिईओ अशोक राणा साला हुन्। त्यसैगरी बैंकको बोर्ड सदस्य रहेका सुनिल थापा पाँणेका साढुभाई हुन्। जो अहिले हिमालयन बैंकको तर्फबाट मर्जर कमिटीका संयोजकसमेत हुन्।
पाँडेको भित्री चाहना हिमालयन र इन्भेष्टमेन्ट दुई बैंक मर्ज गरेर शक्तिशाली बनाउने र त्यो बैंकमा प्रभावशाली भूमिका निभाउने छ। तर उनलाई कहिँ न कहिँ ससुरालीको संकोच पनि छ।
हिमालय शम्सेर नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हुन्। हिमालयन बैंकको नामप्रति उनको आशक्ति छ। त्योभन्दा ठूलो आशक्ति उनलाई आफ्ना दुई छोरामध्ये एक अशोक राणाको भविष्यप्रति पनि छ।
दुई बैंक मर्जर हुँदा 'हिमालयन' नाम हराउने र छोरा अशोकले नयाँ बैंकमा भूमिका नपाउने हुन् कि भन्ने चिन्ताले हिमालयलाई पिरोल्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। ससुरालीको यही चिन्ताका कारण पृथ्वीबहादुर पाँडेले मर्जरका लागि आफूले 'इनिसिएसन' लिन नसकिरहेको स्रोतको दाबी छ।
अन्य सेयरधनीबाट दवाब बढ्दै
तर, हिमालय शम्सेरको परिवारलाई पनि राष्ट्र बैंकसँगै अन्य सेयरधनीबाट पनि विस्तारै मर्जरका लागि दवाब पर्न थालेको छ। हिमालयन बैंकका दुई ठूला सेयरधनी खेतान समूह र शशिकान्त अग्रवालले मर्जरका लागि हिमालय शम्सेरमाथि विस्तारै दवाब बढाउँदै गएका छन्।
निजी क्षेत्रको तेस्रो पुरानो हिमालयन बैंकको ग्रोथ प्रतिष्पर्धी अन्य बैंकको तुलनामा कमजोर छ। यही कारण खेतान र शशिकान्त अग्रवालले पनि मर्जरका लागि दवाब बढाउँदै लगेका हुन्। यो मामिलामा विशेष गरेर खेतान समूह अलि बढी 'भोकल' समेत छ।
खेतान समूहमा हिमालयन बैंकको सेयर सिपि र पिपि खेतानको परिवारसँग छ। सिपि खेतान सिंगापुरमा रहेर व्यवसायिक रूपमा संस्थाहरु चलुन र रिटर्न अन इन्भेष्टमेन्ट बढी होस् भन्ने चाहना राख्छन्।
त्यसबाहेक बैंकमा हिमालय शम्सेर र मनोजबहादुर श्रेष्ठको परिवारले खेतान समूहलाई पटक-पटक पेलेको समेत थियो। क्रमैअनुसार अध्यक्ष बन्ने पालो आउँदा अशोकलाई सिईओ र मनोजबहादुरलाई अध्यक्षमा सहमति गरेर दुई परिवारले खेतान समूहलाई बाइपास गरेको थियो। त्यसपछि पिपि खेतानले बोर्ड सदस्य समेत छाडेका थिए।
'लगानी गरेपछि सबैले अधिकभन्दा अधिक लाभ त खोजिहाल्छ। त्यसअनुसार हिमालयन बैंकबाट सेयरधनीले लाभ पाएनन् कि भन्ने प्रश्न त बेला बेलामा उठ्ने गरेको छ,' बैंकका सेयरधनी शशिकान्त अग्रवालले भने, 'तर मेरो कुरा गर्नुहुन्छ भने हिमालय शम्सेरलाई श्रद्धा गरेर मैले लगानी गरेको हुँ। अहिले पनि उहाँप्रतिको मेरो श्रद्धा त्यत्तिकै छ। बाँकी मर्जको कुरा सबैलाई वीन-वीन हुन्छ भने गर्दा हुन्छ भन्ने मेरो धारणा हो।'
हबिब के चाहन्छ ?
हिमालयन बैंकको स्थापना पाकिस्तानी बैंक हबिब बैंकको साझेदारीमा भएको हो। बैंकमा हबिबको अहिले पनि २० प्रतिशत सेयर छ। तर हबिब बैंकले यो सेयर बिक्रीका लागि प्रस्ताव गरेको छ। र, यो सेयर खरिद गर्न बेलायती संस्था सीडीसी समूह तयार पनि छ।
तर, हिमालयन बैंकको अर्को साझेदारसमेत रहेका र केही महिना अघिसम्म बैंकको अध्यक्ष रहेका मनोजबहादुर श्रेष्ठले सीडीसीलाई नेपाल ल्याउने विषयमा सहजता प्रदान नगरेपछि यो विषय अहिले पनि त्यसै अल्झिरहेको छ।
अहिले यो विषय पेन्डिङमा छ तर सीडीसी नआए पनि त्यो सेयर खरिद गर्न कर्मचारी सञ्चय कोष भने तयार छ। 'यदि सीडीसी आउँछ भने ठीक छ तर हबिबले बेच्दा त्यसका लागि खरिदकर्ता खोज्न पर्दैन्, सञ्चय कोष त्यसका लागि तयार छ,' स्रोतले भन्यो।
विवरण (रु. हजारमा) | नेपाल इन्भेष्टमेन्ट बैंक | हिमालयन बैंक |
पुँजी | 14,248,955 | 9,372,281 |
जगेडा कोष | 11,415,595 | 5,669,959 |
निक्षेप | 168,824,343 | 131,860,251 |
ऋण | 140,377,575 | 106,651,427 |
कर्मचारी खर्च | 403,685 | 388,370 |
खुद मुनाफा | 2,571,651 | 2,542,588 |
वितरणयोग्य नाफा | 652,366 | 1,309,244 |
पुँजी पर्याप्तता अनुपात % | 13.23% | 14.67% |
खराब ऋण अनुपात % | 2.91% | 1.01% |
आधार दर % | 7.51% | 8.38% |
रिटर्न अन इक्विटी % | 10.39% | 16.95% |
हिमालयन बैंकमा अहिले पनि सञ्चय कोषको १४ प्रतिशत सेयर छ, हबिबको २० प्रतिशत सेयर किन्यो भने ३४ प्रतिशत सेयर पुग्छ। त्यसो हुँदा मर्ज हुने संस्थामा सञ्चयकोष सबैभन्दा ठूलो सेयर साझेदार हुन्छ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट दुवैतिर सेयर भएका कारण मर्ज हुँदा शशिकान्त अग्रवालबाहेक अरु सेयरधनीको सेयर डाइलुट हुन्छ। त्यतिबेला मर्जपछि बन्ने बैंकको सबैभन्दा प्रभावशाली सेयरधनी शशिकान्त नै हुनेछन्।
तर सञ्चय कोषले हबिबको सेयर समेत किनेर मर्ज गर्यो भने उनीभन्दा पनि शक्तिशाली सञ्चय कोष हुनेछ। त्यसबाहेक सरकारी स्वामित्व रहेका राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको सेयर जोड्दा कतै नयाँ मर्ज हुने बैंक फेरि अर्को सरकारी बैंक हुने त होइन भन्ने जोखिम पनि सेयरधनीले हेरिरहेको स्रोतको दाबी छ।
त्यस्तो बेला आफ्नो भूमिका के हुन्छ भन्ने जोखिमसमेत इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले पनि मूल्यांकन गरिरहेको स्रोतको दाबी छ। 'हबिबको सेयर सञ्चय कोषले भन्दा सीडीसीले किन्यो भने मर्जर केही सहज हुन्छ,' यो विषयमा छलफलमा सहभागी स्रोतले भन्यो।
के होला नाम ?
अहिलेका लागि दुई बैंकको मर्जर गर्न ठूलो बाधक नाम पनि हुने केही लगानीकर्ताको बुझाई छ। हिमालय शम्सेरलाई हिमालयन बैंकको नामप्रति नै आशक्ति छ भने नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई सफल ब्राण्ड नामप्रति आशक्ति छ।
त्यसो हुँदा नामकै कारण सम्भावित मर्जर नबिग्रियोस भन्नका लागि केही लगानीकर्ताले 'हिमालयन इन्भेष्टमेन्ट बैंक' अर्थात 'एचआइबीएल' नाम प्रस्ताव समेत गरेका छन्।
कार्यकारी अध्यक्षको चाहना
पृथ्वीबहादुर पाँडे नेपाली बैंकिङ क्षेत्रका एक जना भेट्रान नै हुन्। जो पछिल्लो चार दशकदेखि मूलतः बैंकिङमा नै छन्। उनी देशको सबैभन्दा शक्तिशाली बैंकको कहिँ न कहिँ अझै पनि एक कार्यकाल कार्यकारी भूमिकामा काम गर्न चाहन्छन्।
'हामीले अहिलेसम्म पृथ्वीजीको मुखबाट प्रत्यक्ष रूपमा कार्यकारीको चाहना राखेको त सुनेका छैनौं तर मनमा भने कहिँ न कहिँ कार्यकारी भूमिका पाउन पाए हुन्थ्यो कि भन्ने चाहना राखे जस्तो देखिन्छ,' यो बीचमा मर्जरका लागि भएका औपचारिक अनौपचारिक छलफलमा सहभागी एक जना लगानीकर्ताले भने।
नेपाल इन्भेष्टमेन्ट बैंकमा लामो समय कार्यकारी अध्यक्ष रहेका पाँडे आफ्नो चाहनाभन्दा पनि राष्ट्र बैंकको निर्देशन बमोजिम आठ वर्षअघि कार्यकारी अध्यक्षबाट हट्नुपरेको थियो। त्यस यता उनी बैंकको अध्यक्ष छन् भने ज्योति पाण्डे प्रमुख कार्यकारी अधिकृत।
नयाँ मर्ज हुने बैंकमा आफ्नो चाहना पूरा गर्न मात्रै होइन, कार्यकारी अध्यक्ष हुँदा मर्जरको केही व्यवहारिक अप्ठ्यारोसमेत फुकाउन सकिने उनको विश्लेषण रहेको स्रोतको बुझाई छ।
कार्यकारी अध्यक्ष हुँदा दुवै बैंकका अहिलेका प्रमुख कार्यकारी अधिकृतलाई एडजस्ट गर्न पाँडेलाई सहज हुनेछ। त्यसो हुँदा अशोक राणाका लागि लिएर ससुरा हिमालय शम्सेरको चिन्ता हटाउन सकिन्छ भने यता बिहानदेखि मध्यरातसम्म बैंकका लागि खटिने ज्योति पाण्डेलाई पनि नयाँ बन्ने बैंकमा रिटेन गर्न सकिन्छ।
अशोकले प्रविधि बैंकिङ र ज्योतिले पारम्परिक बैकिङका साथ मानव संसाधनलाई अघि बढाउँदा नयाँ मर्ज हुने बैंकमा सिनर्जी आउने बुझाई पनि लगानीकर्ताहरुको छ।
इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरमा जाने सहमति भयो भन्ने खबर बाहिर जुनसुकै बेला पनि आउन सक्छ, तर यसका लागि राष्ट्र बैंककै भूमिका बलियो हुनु पर्ने लगानीकर्ताहरु बताउँछन्।
राष्ट्र बैंकले दुवै बैंकलाई परेको अप्ठेरोहरु फुकाइदिनु पर्ने हुन्छ। जस्तो, एक कार्यकालका लागि कार्यकारी अध्यक्षको ब्यवस्था गरिदिने हो भने मर्जरका लागि सहमति चाँडै बन्ने छ। मर्जरको सर्तमा एक कार्यकाल कार्यकारी अध्यक्षको ब्यवस्था गर्नका लागि राष्ट्र बैंकलाई समस्या पनि छैन।