एफएनसीसीआईको साधारणसभा तोक्न साउन २१ गते कार्यसमिति बैठक, चुनावी जोडघटाउ भने उस्तै

बिजमाण्डू
२०७७ साउन १५ गते १६:१२ | Jul 30, 2020
एफएनसीसीआईको साधारणसभा तोक्न साउन २१ गते कार्यसमिति बैठक, चुनावी जोडघटाउ भने उस्तै

Tata
GBIME

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले साधारणसभाको मिति तोक्न साउन २१ गते कार्यसमितिको बैठक डाकेको छ।

कार्यसमिति बैठकको मुख्य एजेण्डामा चुनावको मिति र मोडालिटी रहेको छ। कोभिड-१९ संक्रमणका कारण पटक पटक साधारणसभा स्थगित हुँदै आएको छ। पछिल्लो पटक महासंघका पदाधिकारी र पूर्व अध्यक्षको बैठकले सभा सम्मेलन खुला भएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो।

यो निर्णयको एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले विरोध जनाएको थियो। कार्यसमितिबाट गर्नुपर्ने निर्णय आफ्नो अनुकूल चुनावी नतिजा नआउने देखेपछि एकाएक साधारणसभा स्थगित गरिएको ढकाल पक्षको आरोप थियो।

 यो आरोपसँगै ढकाल समूहले २२ जनाको हस्ताक्षरसहित कार्यसमिति बैठक डाक्न दबाब दिएका थिए। कार्यसमिति बैठक राख्नका लागि २५ प्रतिशतले निवेदन दिनुपर्ने महासंघको विधानमा प्रावधान छ। त्यही प्रावधान अनुसार ढकाल समूहले निवेदन दिएका थिए।

प्रधान समूहको पनि निवेदन

किशोरकुमार प्रधान समूहले सोमबार साधारणसभा र निर्वाचनको लागि कार्यसमिति बैठक बोलाउन महासंघमा निवेदन दिएको छ।

 ३६ जनाको हस्ताक्षरसहित दिएको निवेदनमा साउन ८ गते बसेको महासंघको पूर्व अध्यक्ष र पदाधिकारी भेलाले चुनाव स्थगित गर्ने निर्णयको भने स्वागत गरेको छ।

‘महासंघका पूर्व अध्यक्षहरु सहितको सहभागितामा ३५ औं पदाधिकारी समितिको बैठकले साधारणसभा र निर्वाचन स्थगन गरी नेपाल सरकार मन्त्रिपरिषदबाट सभा सम्मेलन गर्न दिने निर्णय भएको १५ दिनभित्र साधारणसभा र निर्वाचन कार्यलाई अघि बढाउने निर्णय भएकोमा हामी निवेदकहरु उक्त निर्णयलाई स्वागत गर्दछौं,’ निवेदनमा भनिएको छ, ‘निकट भविष्यमा हुने साधारणसभा र निर्वाचन प्रक्रिया लगायतका विषयमा छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाइ पाउन संयुक्त निवेदन गरेका छौं।’

साधारणसभा स्थगित, तर गुट भेला क्रियाशील

साधारणसभा स्थगित भएपछि ढकाल समूह र किशोरकुमार प्रधान समूहको चुनावी जोडघटाउ भने क्रियाशील छ। ढकाल समूहले बालुवाटारको परेली पार्टी प्यालेस र प्रधान समूहले ललितपुरको याक प्यालेसमा सम्पर्क कार्यालय खोलेका थिए।

प्रधान समूहले आफ्नो सम्पर्क कार्यालयलाई निरन्तरता दिएको छ। ढकाल समूहले तत्कालका लागि परेली पार्टी प्यालेसलाई बन्द गरेर बानेश्वरमा रहेको बेइजिङ डक रेस्टुरेन्टमा आफ्नो भेलालाई निरन्तरता दिएको छ। साधारणसभाको पूर्वनिर्धारित मिति स्थगनपछि कहिले गर्ने भन्ने दिन निश्चित नभए पनि वरिष्ठ उपाध्यक्षका दाबेदारहरूको चुनावी जोडघटाउ भने अनौपचारिक रूपमा चलिरहेकै छ।