कर छल्ने २४ फर्ममाथि राजस्व अनुसन्धान विभागबाट साढे ६ अर्बको मुद्दा दायर, अहिलेसम्मकै ठूलो बिगो

बिजमाण्डू
२०७७ असार ३१ गते १९:०४ | Jul 15, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। राजस्व अनुसन्धान विभागले कर छल्ने कम्पनीहरुमाथि हालसम्मकै ठूलो बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले एकैदिन कुल ६ अर्ब ६० करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

२४ कम्पनीले भन्सार,  मूल्यअभिवृद्धि कर र आयकर राजस्व चुहावट गरेको आरोपमा त्यसविरुद्ध विभागले मुद्दा हालेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। 'यी कम्पनीहरुमाथि राजस्व चुहावटको बिगो माग दाबी हालसम्मकै सर्वाधिक हो,' उनले भने, 'भन्सार छलि गरी ठूलो परिमाणमा माल समान भित्र्याउने कम्पनीहरुमाथि मुद्दा दायर गरिएको छ।' 

अध्ययनका क्रममा विभागले आठ सयभन्दा बढी फर्महरुले कर छलि गरेको भेट्टाएको छ। तीमध्ये ठूलो रकम बराबरको कर छलि गर्ने फर्मको अनुसन्धानलाई अघि बढाएको बताएको छ। 

यसमा नक्कली बिजक जारी गरेर राजस्व ठगी गर्ने चारवटा कम्पनीसँग नै विभागले तीन अर्ब ८२ करोड रुपैयाँको बिगो माग दाबी गरेर मुद्दा हालेको छ। यीमध्ये काठमाडौं–१७ सोह्रखुट्टे संचालन ठेगाना रहेको हाइटेक इन्टरनेशनल प्रालिलाई मात्र कर छलिको मुद्दामा विभागले कम्पनीका दुईजना संचालकविरुद्ध दुई अर्ब ४२ करोड ९८ लाख रुपैयाँको बिगो दाबी माग गरेको छ।

हाइटेकले भन्सार विन्दुबाट आयातित कतिपय सामानको घोषणा नै नगरी लुकाएर चोरी–पैठारी गरेर नेपाल ल्याएर आफ्नो कारोबारस्थलमा राखेको विभागको भनाइ छ। कम्पनीले केही मालवस्तुको मात्र आधिकारिक विल बीजक जारी गरी धेरैजसो सामानको 'लुज बिल' जारी वा न्यून बिजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजरमा अभिलेख राखेर वास्तविक कारोबार लुकाएको विभागको दाबी छ। 

यो कम्पनीले भन्सारवापत एक अर्ब ७१ करोड ५६ लाख चुहावट गरेको भेटिएको छ। यस्तै, मूल्य अभिवृद्धि करतर्फ ५९ करोड २८ लाख र आयकर तथा लाभांश कर १२ करोड १४ लाख छली गरेको विभागले जानकारी दिएको छ।

यस्तै, ललितपुर महानगरपालिका-२ सानेपामा संचालित जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालकसमेत चार जनालाई राजस्व चुहावट गरेको अभियोगमा विभागले एक अर्ब २९ करोड ७ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। 

यी कम्पनीहरुले पटक-पटक भन्सार नतिरी अवैधरूपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान समेत ल्याएर बिल बिजक जारी नगरी बिक्री गर्ने गरेको विभागको भनाइ छ । उक्त कम्पनीहरुको कारोबारसम्बन्धी खाताहरु, नगदी रसिद, ल्यापटप र हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सबुत प्रमाणहरुको छानबिनबाट वास्तविक कारोबार लुकाएर कर छलेको भेटिएको हो ।

यी कम्पनीहरुले आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबार मात्र देखाइ सरकारलाई बुझाउनुपर्ने भन्सार, मूअकर तथा आयकर छली गरेको विभागको दाबी छ। 

साथै, कबाडी व्यवसाय संचालन गर्दै आएको माँ वैष्णो ट्रेड कन्सर्नसहित १६ कम्पनीविरुद्ध पनि करछलीको अभियोगमा दुई अर्ब १६ करोड ६५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ। नक्कली भ्याल बिल खरिद–बिक्रीबाट कर छलीमा संलग्न पाइएका यी कम्पनीहरुविरुद्धको मुद्दामा २२ जना व्यवसायीलाई विपक्षी बनाएको विभागले जनाएको छ। 

'यीमध्ये केही व्यक्तिहरुलाई पक्राउसमेत गरिसकिएको छ भने छलीमा संलग्न सबै कम्पनी तथा व्यक्तिको बैंक खाता तथा सम्पत्ति रोक्का गरिसकिएको छ,' मैनालीले भने । 

जय माता दी इन्टरप्राइजेजसहितका अन्य चार कम्पनीले पनि करछली गरेको अभियोगमा ७१ करोड ५४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ। यो मुद्दामा चार जनालाई विपक्षी बनाइएको छ। 

अब यी कम्पनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारवाही प्रक्रिया अघि बढ्नेछ।