लागत धान्न गाह्रो परेपछि १ गतेबाट निक्षेपको ब्याज घट्दै, ऋण घट्ने तर निक्षेप वृद्धि

बिजमाण्डू
२०७७ असार १५ गते ०९:१३ | Jun 29, 2020
लागत धान्न गाह्रो परेपछि १ गतेबाट निक्षेपको ब्याज घट्दै, ऋण घट्ने तर निक्षेप वृद्धि


काठमाडौं। ब्याज आम्दानी हुने ऋण घटिरहने तर खर्च हुने निक्षेप भने बढिरहँदा बैंकहरुले साउन १ गतेबाट बचतको ब्याज दर घटाउने भएका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको आग्रहका कारण जेठदेखि चुपचाप बसेका बैंकहरुले अब थेग्न नसक्ने भन्दै साउनबाट निक्षेपको ब्याज घटाउने निष्कर्षमा पुगेका हुन्।

अहिले फाट्टफुट्ट प्रतितपत्र (एलसी) खुल्ने बाहेक ऋणको माग खासै छैन। लकडाउनअघिभन्दा अहिले ऋण रकम नै घटिरहेको छ। निक्षेप भने तुलनात्मक रूपमा उच्च दरले बढिरहेको छ। एकातिर ऋणको ब्याज घटाउने दबाब छ भने अर्कोतिर निक्षेपको लागत पनि कम गर्नु पर्ने छ।

दोहोरो मारमा परेका बैंकरले साउन १ गतेबाट निक्षेपको ब्याज घटाउने तयारी गरेका हुन्। बैंकरबीच ब्याज घटाउने अनौपचारिक कुराकानी भइरहेको छ। यहीबीचमा एनआइसी एसिया बैंकले बचतको ब्याज आधा प्रतिशत बिन्दुले घटाइसकेको छ। 

पछिल्लो तथ्यांक अनुसार, चैत मसान्तदेखि जेठ ३० गतेसम्मको तथ्यांकअनुसार बैंकहरुको ऋण २९ अर्ब रुपैयाँले घटिसकेको छ। जबकी निक्षेप ८७ अर्ब रुपैयाँले बढेको छ।

निक्षेपको उच्च सुधार र घट्दो ऋणका कारण निक्षेप-ऋण सन्तुलनमा आएको छ। असार मसान्तदेखि जेठ ३० गतेसम्मको अवधिमा बैंकहरुको कुल निक्षेप ३ खर्ब ९८ अर्बले बढेको छ। ऋण भने ३ खर्ब १८ अर्बले बढेको छ। 

पछिल्लो तीन वर्ष बैंकहरुमा निक्षेपभन्दा ऋणको बिस्तार उच्च थियो। लकडाउनपछि बैंकमा निक्षेप बढिरहेको छ भने ऋण घटिरहेको छ ।

यसले गर्दा बैंकहरुको सीसीडी रेसियो औसत ७४ प्रतिशतमा झरेको छ। एकातिर स्रोत बढी भयो भने अर्कोतिर राष्ट्र बैंकले दुई वर्ष माथिको निक्षेपलाई सीसीडीबाट हटाएका कारण घटेको हो। अहिले उच्च सीसीडी दर ७७ प्रतिशत छ भने कम ६५ प्रतिशतसम्म झरेको छ। नियामकीय प्रावधान अनुसार ८० प्रतिशतभन्दा कम हुनु पर्छ। केही समयअघि बैंकहरुको सीसीडी ७९ प्रतिशतसम्म पुगेको थियो।

'ब्यापार घटिरहेको छ, निक्षेप बढिरहेको छ। यसले बैंकको लागत वृद्धि भएको छ,' बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बिजमाण्डूसँग भने, 'यसले गर्दा बैंकहरु लागत कम गर्न निक्षेपको ब्याज दर घटाउनै पर्ने दबाबमा छन्।'

राष्ट्र बैंकले बैशाखदेखि असारसम्म ऋणको ब्याज २ प्रतिशत घटाउन निर्देशन दिएपछि बैंकहरु निक्षेपको ब्याज घटाउन तयार भएका थिए। तर, गभर्नरले निक्षेपको ब्याज नघटाउन मौखिक निर्देशन दिएपछि बैंकहरु असारसम्म हच्किएका छन्। असारपछि भने बैंकहरुले निक्षेपको ब्याज दर घटाउने भएका छन्।

बैंकहरुले निक्षेपको ब्याज दर एकदेखि २ प्रतिशत बिन्दुसम्म घटाउने तयारीमा छन्। अहिले संस्थागत निक्षेपको अधिकतम ब्याज ७ प्रतिशत छ, ब्यक्तिगतको ८ .७५ र बचतको साढे ५ प्रतिशत छ। 

'अहिले बैंकहरुमा अधिक तरलताको अवस्था छ। ऋण गएको छैन। पैसा जत्ति पनि छ,' संघका पूर्व अध्यक्ष अनिल शाहले भने, 'असारपछि कस्तो प्रवृत्ति रहन्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ।'