भर्चुअल गतिविधिले बढायो मोबाइलको माग, लकडाउनमा २० हजार मुनिका सेट धमाधम बिक्री

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७७ जेठ २३ गते १५:१५ | Jun 5, 2020
भर्चुअल गतिविधिले बढायो मोबाइलको माग, लकडाउनमा २० हजार मुनिका सेट धमाधम बिक्री


काठमाडौं। लकडाउनले सर्वसाधारण घरघरै बस्नु परेपछि यतिबेला बजारमा २० हजारभन्दा कम मूल्यका स्मार्टफोन अभाव भएको छ। परिवारका सबै सदस्यलाई छुट्टाछुट्टै खाँचो परेपछि अनलाइन अर्डर गरेरै खरिद गर्ने बढ्दा बिक्रेता फर्महरूसँग भएका बिभिन्न कम्पनीका 'बजेट सेट' को स्टक रित्तिएको हो।

Tata
GBIME
Nepal Life

बिक्रेताहरूका अनुसार लकडाउन सुरू भएसँगै बजार बन्द हुँदा बिक्री हुँदैन होला भनेर व्यवसायी नयाँ खेप आयातको प्रक्रियामै गएनन्। लकडाउन अघि निकै कम बिक्री भएर स्टकमा रहेका सेट बिक्री हुँदै गए। लकडाउनअघि बजारमा अनधिकृतरूपमा बजारमा भित्र्याउनेहरूका कारण आयातकर्ता व्यवसायीलाई ठूलो टाउको दुखाइ थियो। उनीहरूले गर्ने क्रियाकलाप पनि लकडाउनले बन्द भयो। 

एलसी खोलेर कानुनी प्रक्रियाबाट आयात गर्ने व्यवसायी र निर्माता कम्पनीका आधिकारिक बिक्रेताले नयाँ खेप अर्डर गर्न सकेनन्। 'चोर बजार' बाट पनि मोबाइल भित्रिन बन्द भयो। स्टकमा रहेका सेट सबैजसो बिक्री भएर नयाँ भित्रिन नपाउँदा बजारमा 'बजेट सेट' अभाव भएको हो। 

लकडाउन लम्बिँदै जाँदा स्कुल-कलेजले भर्चुअल कक्षा थालेका छन्। व्यवसायिक संघ-संस्था, कार्यालयले पनि कर्मचारीसँग प्रत्यक्ष भेटघाट भन्दा 'भर्चुअल मिटिङ' लाई प्राथमिकता दिएको छ। यस्ता कक्षा, मिटिङ र सहभागितात्मक छलफलमा भाग लिने माध्यममा मोबाइल नै सुलभ र पहुँचमा छ। त्यसैले विद्यार्थीका हात हातमा स्मार्टफोन छन्। लकडाउनले घरघरै थुनिएका विद्यार्थीदेखि बिभिन्न पेसा व्यवसायीका साथमा एउटा स्मार्टफोन वा ल्यापटप नभइ नहुने साधन बन्नुको असर माग र बिक्रीमा परेको हो। व्यवसायीका अनुसार बजारमा यतिबेला सस्तो दरका स्मार्टफोन र ल्यापटपको माग उच्च छ। तर मागका अनुपातमा स्टक छैन। 

'लकडाउनको अवधिमा स्मार्टफोनको माग आए पनि आयात र आउटलेट बन्द रह्यो,'  मोबाइल कम्पनी साओमीका नेपाल प्रबन्धक सौरभ कोठारीले भने, 'अबको बजार इन्ट्री लेवलको स्मार्टफोनको हो। यतिबेला माग उच्च छ, स्टकमा माल छैन।'      

लकडाउन सुरु भएपछि मोबाइल आयतमै समस्या आएको उनले बताए। अन्तर्राष्ट्रिय उडान नै बन्द भएपछि व्यवसायीले आयात गर्न नपाएका हुन्। 'बैंकिङ, कर्पोरेट बैठक, सभा सम्मेलन, विद्यार्थीहरुको इ-कक्षा लगायत गतिविधिलाई प्राथमिकता दिएसँगै बजारमा यतिखेर स्मार्ट फोनको माग ह्वात्तै बढेको अवस्था छ,' उनले भने, 'अर्को कुरो मोबाइल फोन पुरानो भएर, बिग्रिएर नयाँ खरिद गर्न चाहनेहरुका लागि पनि मार्केटमा स्मार्टफोन पाउन गाह्रै छ। उपभोक्ताको माग पनि पहिलाको तुलनामा धेरै देखिएको छ।' 

यतिबेला मोबाइलका पसल र बिक्रेता कम्पनीका आउटलेट बन्द छन्। खरिद गर्न चाहनेका लागि माध्यम अनलाइनमात्रै हो। बिक्रेताहरूका अनुसार लकडाउनले मोबाइल फोनको बिक्री ४० प्रतिशत घटाएको छ।

लकडाउन खुले लगत्तै पहिलो तीन साता स्मार्टफोनको अत्यधिक माग बढ्ने प्रक्षेपण गर्दै कोठारीले भने,'माग धेरै आएका छन्। हामीले केही समय अगाडि साओमीको रेडमी अन्तर्गतका नयाँ संस्करण बजारमा सार्वजनिक गरिसकेका छौं। केही स्टक बाँकी नै छन्। अब मागलाई ध्यानमा राखेर हामी इन्ट्री लेवलको स्मार्टफोन आयातलाई मुख्य प्राथमिकता दिने योजनामा छौं।'  
              
बजारमा १० हजारदेखि माथि र २५ हजार रूपैयाँभन्दा कम बीचको मूल्यका स्मार्टफोनको माग छ। 

यसरी घट्यो 'ग्रे मार्केट'
सबै कानुनी प्रक्रिया पुर्‍याएर सरकारलाई कर बुझाइ बजारमा मोबाइल फोन बिक्री गर्ने कम्पनीहरूलाई लकडाउन अघिसम्म अवैधरूपमा भित्रिएकाले ठूलो चुनौती थियो। लकडाउनमा सीमानाका सिल भएकाले नेपालमा मोबाइलको त्यस्तो 'ग्रे मार्केट' घटेको कोठारी बताउँछन्। 'भारतमा यतिखेर मोबाइल फोनको भाउ बढ्दै गएको छ। उताबाट मोबाइल ल्याएर नेपालमा बेच्दा फाइदा नहुने भएपछि पनि यतिखेर विचौलिया पनि पछाडि हटेको पाइएको छ,' कोठारीले भने। 

लकडाउनयता मुलुकमा फोर-जी चल्ने १२ हजार देखि २५ हजार रुपैयाँसम्मका मोबाइलको माग बढिरहेको बिक्रेता कम्पनीमध्येका लकी ग्रुपका कार्यकारी निर्देशक रोहित गुप्ताले बताए। 'अनलाइन क्लासका लागि कतिपयसँग ल्यापटप, ट्याबहरु थिएन। त्यसका लागि पनि स्मार्टफोन लिने बढे,' उनले भने, 'यो बीचमा कसैको स्क्रिन फुट्यो, कसैको सफ्टवेयर अपडेट भएन। उनीहरुले पनि नयाँ सेट खरिद गरे।'

यो समय स्मार्ट फोनको तुलनामा बारफोनको माग कम भएको उनले बताए। 'अधिकांश समय स्मार्ट फोनहरु एयर कार्गोबाट आउँछ, बार फोनहरु सिपबाट आउने हो,' उनले भने, 'अहिले एयर कार्गो लामो समयदेखि भएको छैन। त्यही कारण सामान आउन सकेको छैन। बार फोनहरुको माग त्यति धेरै पनि छैन।'

बन्दाबन्दी खुकुलो भएसँगै पछिल्लो समय बजारहरु विस्तारै खुल्न थालेका बताउँदै उनले भने, 'यसले रिटेरलरकोमा भएको सामानको माग बढी छ। त्यहाँ डिष्ट्रिब्युटरहरुले पुर्‍याइरहेका छन्। नेशनल डिष्ट्रिब्युटरसँग ठूलो स्टक रहँदैन्। हामी कसरी हुन्छ आयात गर्नका लागि प्रयास गरिरहेका छौं।' 

लकडाउन भएको दुई महिनाभन्दा बढीको समयावधिभर बढेको बिक्रीले एप्पल ब्राण्डको बिक्रेता आइ स्टोरमा यतिखेर आइफोनको मौज्दात 'निल' हुने अवस्थामा छ। हाल कम्पनीले पुरानै स्टकमा रहेको सामान बिक्री गर्दै आएको प्रबन्धक प्रेम लामाले बताए। 'नयाँ स्टकको सामान लकडाउनकै कारण आयात गर्न सकिएन। भएका सेटहरू अनलाइनमार्फत बिक्री गर्दै आएका छौं। अब अन्तर्राष्ट्रिय उडान सुरु नभइन्जेल नयाँ खेप ल्याउन असम्भव छ,' उनले भने, 'आइफोनको स्टक त निल नै भयो भन्दा हुन्छ। ल्यापटप एसेसरिजको स्टक बाँकी छ। नयाँ  नआइपुगुन्जेल पर्ख र हेरको अवस्थामा छौं।' 

बर्सेनि बढ्दो मोबाइलको बजार 
मुलुकका सबै जिल्लामा मोबाइल फोनको नेटवर्क बिस्तारसँगै बर्सेनि बिभिन्न प्रकारका मोबाइल फोन सेटको कारोबार बढेको छ। बढ्दो बजारलाई ध्यानमा राख्दै कारोबारीले आयात बढाएका छन्। 

सामसङ, साओमी, एप्पल, ओप्पो, भीभो र हुवावे लगायतका स्मार्टफोन प्रयोगकर्ता बर्सेनि बढेका छन्। एउटा सेट चलाएको वर्षदिनपछि नयाँ फीचर्स थपिएर आएका सेट खरिदमा प्रयोगकर्ता आकर्षित छन्। करिब एक दर्ज कम्पनीका मोबाइल फोनको बजार लगातार उतारचढावको अवस्थामा छ।

त्रिभुवन विमानस्थल भंसार कार्यालयका अनुसार गत साउनदेखि माघसम्मको सात महिनामा मात्रै १२ अर्ब ६८ करोड २ लाख ९३ हजारको आयात भएको थियो।

उक्त अवधिमा २६ लाख ८६ हजार ६ सय ४८ थान मोबाइल सेट नेपाल भित्रिएकाको तथ्यांक छ। यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २ लाख रुपैयाँले बढी हो। गत आवको साउनदेखि माघ सम्ममा १० अर्ब ६६ करोड ५९ लाख ५८ हजार रूपैयाँ मूल्यका २० लाख ९८ हजार ९ सय ७७ थान मोबाइल आयात भएका थिए।

चीन, भियतनाम र भारतबाट नेपालमा मोबाइल बढी आयात हुने गरेको छ। गत आवमा चीनबाट मात्रै ६६ लाख ७२ हजार ३ सय ८७ वटा आयात भएको छ भने चालु आवका सात महिनामा १९ लाख ८६ हजार ४ सय ६७ थान मोबाइल आयात भएको रेकर्डमा छ। 

चालु आवको माघसम्म भियतनामबाट १ लाख ९१ हजार थान र भारतबाट ४२ हजार ४ सय थान मोबाइल सेट आयात भएको रेकर्डमा छ। गत आर्थिक वर्ष ०७५/७६ मा त्रिभुवन विमानस्थलबाट मात्रै करिब ४१ अर्ब बढी मूल्यका मोबाइल सेट आयात भएका छन्। एक वर्षको अवधिमा ४१ अर्ब ६७ करोड ३५ लाख ३४ हजार ३ सय ९ रूपैयाँ मूल्य बराबरका ७८ लाख ६० हजार ४ सय ९४ थान मोबाइल सेट नेपाल भित्रिएको भंसारको रेकर्डमा छ।