कोरोना संक्रमणको त्रास: भारतीय सीमाबाट स्वास्थ्य परीक्षणबिनै भित्रिए ८ सय ५८ नेपाली

बिजमाण्डू
२०७७ जेठ ८ गते १४:२८ | May 21, 2020

Tata
GBIME
Nepal Life

कैलाली। जनप्रतिनिधिको दबाबकै भरमा भारतका विभिन्न शहरबाट आएका नेपालीलाई कोरोना भाइरसको परीक्षण नै नगरी नेपाल भित्र्याइएको छ।

भारतबाट धेरैको संख्यामा नेपाल आउने जानकारी भए पनि तीनै तहका सरकार गम्भीर देखिएका छैनन्। यसले सुदूरपश्चिम प्रदेश थप जोखिममा परेको छ।

भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई हिजो अबेर साँझसम्म धनगढीको गौरीफन्टा नाकाबाट स्वदेश प्रवेश गराइएको छ। भारतको दिल्ली, महाराष्ट्र, गुजरात, राजस्थान, हरियाणा लगायतका ठाउँबाट १३ वटा बस रिजर्भ गरेर आएका उनीहरुले भारतीय बजारमा नेपाल प्रवेशको माग गर्दै दिनभर प्रदर्शन गरेपछि अबेरगरी स्थानीय प्रशासनले नेपाल प्रवेश गराएको थियो।

उनीहरुलाई केही स्थानीय तहले बस, टिपर र ट्याक्टरमा राखेर आफ्नै क्षेत्रमा क्वारेन्टाइनमा राखेका छन्। कतिपय भने सवारी साधन नपाएपछि धनगढीका विभिन्न विद्यालयमा बसेका छन्। आएकामध्ये धेरैजसो सुदूरपश्चिम तथा अन्य प्रदेशका पनि छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थीले किट अभावमा उनीहरुको परीक्षण गर्न नसकिएको जनाए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा अब ३ हजार ९ सय ६६ आरडीटी र १ हजार ७ सय ७५ पीसीआर किटमात्र बाँकी छ।

सुदूरपश्चिममा प्रदेशमै बसोबास गरिरहेकाहरुका लागि पुगअपुग किट मौज्दात भए पनि भारतबाट आउनेका हकमा कुनै स्वास्थ्य सामग्री समेत मौज्दात नरहेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

उनले प्रदेशबाटै सामग्री खरिद प्रक्रिया थालिएकाले केही दिनभित्रै त्यसको व्यवस्थापन हुने जानकारी दिए।

उक्त नाकाबाट आज पनि एक हजार हाराहारीमा नेपाली स्वदेश प्रवेश गर्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। गौरिफन्टा नाकाबाट नेपाल प्रवेशका लागि एक हप्ता अघिदेखि १ हजार नेपाली पलियाको क्वारेन्टाइन बसेका छन्। त्यहाँ हिजोमात्रै थप २ हजार नेपाली आइपुगेका छन्। तीमध्ये ८ सय ५८ नेपाल छिरेका हुन्।

यसअघि कैलालीको सोही नाका भएर चैत्र १२ गते आएका १ हजार २ सय जनामध्ये कैलाली र कञ्चनपुरका एक/एक जनामा कोरोना पुष्टि भएको थियो।