निजी क्षेत्रका आयोजनाले समयमा बिल नतिरेपनि लाग्दैन हर्जना, कोरोना ‘काबु बाहिरको परिस्थिती’

बिजमाण्डू
२०७६ चैत्र १३ गते ११:२७ | Mar 26, 2020


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरसको महामारीका कारण समयमै बिल भुक्तानी गर्न नसक्ने निजी क्षेत्रका जलविद्युत आयोजनालाई पनि हर्जना नलिने निर्णय गरेको छ।

Tata
GBIME

यस अघिनै निर्माण सम्पन्न भइ सञ्चालनमा आइ सकेका आयोजनाहरुले मिटर रिडिङ, मासिक बिल भुक्तानी लगायतका भुक्तानीसँग सम्बन्धित अन्य कार्यहरु समयमा गर्न नसकेमा काबु बाहिरको परिस्थितका कारण दायित्व पुरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जना रकम बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेका सम्पूर्ण प्रवर्द्धक कम्पनीहरुलाई भुक्तानीसँग सम्बन्धित कुनैपनि किसिमको हर्जना वा जरिवाना नलाग्ने जनाएको हो।

विद्युत खरिद बिक्री सम्झौतामा काबु बाहिरको परिस्थिती सिर्जना भएमा कुनै पनि किसिमको हर्जना वा जरिवाना रकम नलाग्ने सम्झौता गरिएको हुन्छ।

प्राधिकरणको यो व्यवस्थाले तोकिएको विद्युत उत्पादन गर्न नसकी थुप्रै किसिमका पेनाल्टी तिरिरहेका रुग्ण अवस्थाका दर्जनौ जलविद्युत आयोजनालाई पनि विविध बिल भुक्तानीमा केही राहत हुने भएको छ।