वीरगंजमा रोजगारी मेला : बहुराष्ट्रिय कम्पनीले जागिरका लागि मेलामै अन्तर्वार्ता लिने

बिजमाण्डू
२०७६ माघ २४ गते ०९:४७ | Feb 7, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। दक्ष तथा योग्य जनशक्तिको लागि शनिवार वीरगंजको त्रिजुद्ध स्कुलमा वृत्ति परामर्श तथा रोजगारी मेला आयोजना हुने भएको छ।

वीरगंज महानगरपालिकाको मुख्य आयोजनामा बिहान ९ बजेदेखि ५ बजेसम्म चल्ने रोजगारी मेलाको विषयमा बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

सो अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले स्थानीय रूपमा दक्ष जनशक्ति उत्पादन गर्नको लागि विभिन्न तालिम तथा सीपको अवसर प्रदान गर्न र दक्ष योग्य जनशक्तिलाई एकै ठाउँमा आवेदन लिई नोकरी पनि प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए।

नेपाल सरकार तथा स्विट्जरल्यान्डको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीको लागि सीप (इन्स्योर) को सहयोगमा हुने एक दिने रोजगारी मेलामा १२ वटा रोजगारी तथा तालिम प्रदायकको स्टल रहने छ। वीरगंज पथलैया औद्योगिक करीडोरका करिब एक दर्जन औद्योगिक प्रतिष्ठानको पनि स्टल राखिने इन्स्योर परियोजनाका विशेषज्ञ कञ्चन तामाङले जानकारी गराए।

परियोजना विशेषज्ञ तामाङले भने, ‘नेपालको विराटनगर करीडोरको दुहबी, उदयपुरका गाईघाट, त्रियुगा, चितवनको रत्ननगर, काठमाडौंपछि पाँचौं चरणमा वीरगंज करीडोरको त्रिजुद्ध स्कुलमा यस्तो कार्यक्रम हुँदैछ। यसले बेरोजगार युवाहरूको लागि राम्रो प्लेटफर्म हुनसक्छ भने अध्ययन गरिरहेका कलेज र स्कुलका विद्यार्थीहरूको लागि भोलिका दिनमा वीरगंज आसपासका रोजगारदाताले कस्तो जनशक्तिलाई खोज्दैछन् भन्ने कुरा सिक्ने मौका पनि प्रदान गर्नेछ।’

वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले वीरगंजमा कृषि, व्यापारी, रमाइलो मेला हुँदै आएतापनि पहिलो पटक आफ्नो योग्यताको बलमा रोजगारी पाउने मेला आयोजना भइरहेकोले युवा जमातको लागि यो खुशीको कुरा भएको विश्लेषण गरे। उनले मेलामा करिब १० हजार युवाहरूले अवलोकन गर्ने र तीमध्ये दक्ष, योग्य जनशक्तिले रोजगारीको अवसर पनि पाउने चर्चा गरे।

नेपाल रोजगार तथा तालिम प्रदायक संस्था महासंघ प्रदेश २ का अध्यक्ष राकेश साहले यस्तो कार्यक्रमले समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउने, श्रमिकको सीप, क्षमता अभिवृद्धि गर्ने, नागरिकहरूको कामलाई सम्मान गर्ने तथा रोजगारदातालाई चाहिएको जनशक्ति प्राप्त हुने उद्गम स्थलको रूपमा मेलालाई उपयोग गर्न सक्ने धारणा व्यक्त गरे।

मेलामा हुलास स्टिल, सूर्य नेपाल, ब्रिटानिया नेपाल, डाबर नेपाल, होटल तथा पर्यटन व्यवसायी संघ, एमइडिएफ (सातवटा स्टल), उद्योग वाणिज्य सङ्घलगायतले रोजगारी दिनको लागि भ्याकेन्सीसहितको स्टल राख्ने निश्चित भइसकेको जनाइएको छ।