सरकारी कम्पनीले बजार मूल्य भन्दा ९ हजार कममा इन्डक्सन चुल्हो बिक्री, किन्ने उपभोक्ता बढे

बिजमाण्डू
२०७६ पुष २९ गते २१:०४ | Jan 14, 2020
सरकारी कम्पनीले बजार मूल्य भन्दा ९ हजार कममा इन्डक्सन चुल्हो बिक्री, किन्ने उपभोक्ता बढे

Tata
GBIME
Nepal Life

काठमाडौं। बुढानीलकण्ठका मनोवल श्रेष्ठ बबरमहलमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेर विद्युतीय चुल्हो(इन्डक्सन) किने।

सरकारी स्वामित्वको कम्पनीमा बजार मूल्यभन्दा झण्डै ९ हजार रूपैयाँ  कममा उनले इन्डक्सन किने। ‘विगत दुई वर्षदेखि इन्डक्सनबाट भान्छा चलिरहेको छ। सरकारी कम्पनीमा सस्तोमा इन्डक्सन बेचेको थाहा पाएपछि हतारहतार किनेको हुँ,’ उनले बिजमाण्डूसँग भने, ‘निजी कम्पनीले यही चुल्हो १३ हजारमा बेच्छन्। तर यहाँ चार हजारमा बिक्री भइरहेको रहेछ।’

उनका अनुसार इन्डक्सन चुल्होको मूल्य १५ सय रूपैयाँदेखि सुरु हुन्छ। ‘इन्डक्सन भनेर मात्रै हुँदैन। अहिले १५ सय रुपैयाँदेखि पाइन्छ,’ श्रेष्ठले भने, ’तर ती सस्ता खप्दैनन्। त्यसैले किन्दा केही महँगो भएपनि राम्रोनै किन्नुपर्छ भनेर यहाँ आएको हुँ।’

कम्पनीले बिक्री गरेको इन्डक्सन चीन सरकारले भूकम्पका बेलामा अनुदानमा दिएको हो। अनुदानमा आएको १० हजार ८ सय थान इन्डक्सन चुल्हो भूकम्प पीडितलाई बाँडिएन। त्यसपछि कम्पनीले यो इन्डक्सनको बजार मूल्य हेरेर १२ हजारमा बेच्न सुरू गर्‍यो। तर चुल्हो बिक्री नभएपछि कम्पनीले चार हजार मूल्य तोक्यो। मूल्य घटाइएपछि भने बिक्री बढेको छ। ढुवानी र राजस्वसहित प्रति थान ३ हजार ८ सय लागत कम्पनीलाई परेको छ।

कम्पनीले मिडिया नामको चिनियाँ ब्राण्डको इन्डक्सन चुल्हो बिक्री गरिरहेको छ। यो ब्राण्डको इन्डक्सन अहिले बजारमा १३ हजारमै बिक्री भइरहेको छ।

दुई हजार वाट क्षमताका इन्डक्सन चुल्हो न्यूनतम पाँच एम्पीएर क्षमताको बिजुलीबाटै चल्ने भएकाले सहजै प्रयोग गर्न सकिन्छ। यो चुल्होमा फलाम र स्टीलको भाडा प्रयोग गर्न मिल्छ। कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले सुरुवातमा कमसल रहेको भ्रमले बिक्री नभएको बताउँदै अहिले बजार मूल्य भन्दा सस्तोमा पाएपछि उपभोक्ताको आकर्षण देखिएको बताइन्।

उनका अनुसार चार वर्षमा तीन हजार मात्रै इन्डक्सन बिक्री भएको थियो। अहिले भने दैनिक १० वटा इन्डक्सन बिक्री भइरहेको छ। विद्युत आपूर्ति सहजतासँगै इन्डक्सनको माग बढ्न थालेको छ। महाबौद्धका व्यवसायी राजु श्रेष्ठले विद्युत आपूर्ति सहज भएपछि इन्डक्सनको बिक्री बढेको बताए।

तत्कालै सबैले प्रयोग गर्न कठिन

आपूर्ति सहज भनिएपनि बिजुली आउने/जाने समस्याले खाना पकाउन भने कठिन छ। पूराना ट्रान्समिटरका कारण लोड नै धान्न नसकेर बिजुलीको आपूर्ति असहज नै छ।

अर्कोतर्फ विद्युतीय चुल्हो प्रयोग गर्न सहरी क्षेत्रमा कम्तीमा १५ एमपीएर क्षमताको विद्युत मिटर जडान गर्नुपर्छ। तर अहिले नेपालमा भएका ४५ लाख विद्युत ग्राहकमध्ये २० लाख (करिब ५० प्रतिशत) ग्राहकसँग ५ एम्पीएर क्षमताको मात्र विद्युत मिटर छ। कम क्षमताको मिटर भएको घरमा एकैपटक विद्युतीय चुल्होमा खाना पकाउँदा विद्युत तार सर्ट हुने र आगलागी हुने जोखिम प्रबल हुन्छ।

जोखिम कम गर्न बढी विद्युत खपत गर्नसक्ने गरि मिटरको क्षमता बढाउनु पर्छ। त्यो सँगै बत्तिका बाल्ने उद्देश्यले गरिएको पुरानो विद्युतीय वायरिङ पनि फेर्नुपर्छ। प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार बढी क्षमताको मिटर र पुराना वायरिङ परिवर्तन नगरे बढी खपत गर्ने विद्युतीय सामाग्री प्रयोग गर्दा दुर्घटनाको जोखिम रहन्छ।