नेपालगंजको होटल व्यवसाय संकटमा, तारे होटलले २५ सयमा कोठा बेच्दै, अर्बौ लगानी जोखिममा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ मंसिर १६ गते १७:१७ | Dec 2, 2019
नेपालगंजको होटल व्यवसाय संकटमा, तारे होटलले २५ सयमा कोठा बेच्दै, अर्बौ लगानी जोखिममा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालगंजका तारे होटल संचालन खर्च धान्नका लागि ‘प्राइसवार’ मा उत्रिएका छन्।  अर्बौ लगानी गरेका तारे होटलले पर्यटक कम भएपछि २० डलर (२५ सय रुपैयाँ) मा कोठा बेचिरहेका छन्।

अहिले नेपालगंजका थ्री स्टार होटल कल्पतरू लर्डस्-इन नेपालगंज र फोर स्टार स्नेहाले २५ सय रूपैयाँमा कोठा बेचिरहेका छन्। कल्पतरूले फोर स्टारका लागि पर्यटन विभागमा आवेदन दिएको छ।

पाँच तारे होटल सोल्टी वेस्टेन्ड प्रिमियरले ५० डलर (५५ सय रुपैयाँ) मा कोठा बिक्री गरिरहेको छ। नेपालगञ्जकै सिद्धार्थ होटलले बेड एण्ड ब्रेकफास्ट सिंगल रूमका लागि चार हजार रूपैयाँ र डबल रुमको ६ हजार रूपैयाँमा बिक्री गरिरहेको छ। यसैगरी वर्दिया टाइगर रिसोर्टले २५ सय रूपैयाँमा कोठा बिक्री गरिरहेको छ।

होटल व्यवसायीका अनुसार अहिले नेपालगंजमा होटल व्यवसायमा 'कटथ्रोट कम्पिटिसन' (गला काट्ने प्रतिस्पर्धा) भइरहेको छ। स्नेहा होटलका संचालक असित शम्शेर जबराले होटलमा अस्वस्थ प्रतिस्पर्धाका कारण दुई दशक अघिको भन्दा पनि ५० प्रतिशत कम मूल्यमा कोठा बिक्री भइरहेको बताए।

'२० वर्ष अगाडि होटलको रूम ४० डलरमा विक्री हुन्थ्यो। अहिले होटलको रुम प्राइस घटेर १८ डलरमा झरेको छ। यहाँका धेरै होटल ऋणमा डुब्ने अवस्थामा पुगेका छन्,' उनले भने बिजमाण्डूसँग भने।

उनका अनुसार जाडोयाममा नेपालगंजमा पर्यटक अफ-सिजन रहेको बताउँदै उनले भने,'यो लो सिजन हो। अहिले सबै होटलको अकुपेन्सी २५ प्रतिशत भन्दा कम छ।‘ राणाले भारतमा होलिडे प्याकेज बिक्री गरेर एक तिहाई अकुपेन्सी आएको दाबी गरे। उनले होटल व्यवसायमा संकटमा आएपछि कतिपय पलायन हुने अवस्था आइसकेको बताए।

'हामीले व्यवसाय बैंक ऋणबाट गरिरहेका छौं। अब बैंकलाई ब्याज पनि तिर्न नसक्ने अवस्था आइसकेको छ,' राणाले भने, 'धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगिसकेका छन् ।'  प्रदेशको अस्थायी राजधानी बुटवल बनेका कारण पनि होटल व्यवसायमा असर परेको हो। ‘केही अघिसम्म गैरसरकारी संस्थाका कारण होटल चलायमान थिए। त्यसपछि कैलाश मानसरोवर यात्रामा जाने तीर्थालुका कारण यहाँका होटल चले। त्यसैका आधारमा अर्बौ लगानीका होटल खुले’ उनले भने,’तर राजनीतिक परिवर्तनसँगै गैरसरकारी संस्थाको कार्यक्रम कम भएपछि होटलमा अस्वस्थ प्रतिस्पर्धा भएको हो।’

दुई दशकअघि डोल्पा, सिमीकोट र कैलाश मान सरोवर जाने बाटो खुलेको थिएन। त्यतिखेर नेपालगञ्जमा दुईवटा मात्र होटल थिए। पछि बाटो खुलेपछि ट्रेकिङ सुरू भयो। विदेशी पर्यटकहरू आउन थाले। त्यसपछि माग र आपूर्तिलाई मतलबै नगरी धमाधम होटल बनाउन-चलाउन थालिए। कैलाश जाने तीर्थयात्रीको बसाइँले मात्र वर्तमान अवस्थामा होटल व्यवसाय धान्न मुस्किल हुने उनले बताए।

होटलको स्तर अनुसार मूल्य निर्धारण गर्ने नियम बनाइएपनि वाध्यतावस् कम मूल्यमा रुम विक्री गर्नुपरेको सिद्धार्थ होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए। 'पहिला मानसरोवरका कारण होटल व्यवसाय राम्रो देखिएकै भरमा अध्ययन विना होटलमा लगानी गरियो,’ उनले भने,’ ‘यसले गर्दा आपूर्ति धेरै माग भएपछि प्राइसवार भयो।

चार वर्षमा थपिए २२ सय होटल

चार वर्षको अन्तरालमा नेपालगंज सानाठूला गरेर दुई हजारवटा भन्दा बढी होटल थपिएको छ। चार वर्षअघि झण्डै आठ सयको संख्यामा रहेका होटलको संख्या यतिखेर तीन हजार पुगेको छ।

सिजनमा पनि १० हजार भारतीय पर्यटक

पर्यटन व्यवसायीका अनुसार गत वर्षको मानसरोवर सिजनमा १० हजार भारतीय पर्यटक नेपालगंजका होटलमा बास बसेका थिए। बास बस्न आउने भारतीयबाट प्रतिव्यक्ति दैनिक तीन हजारदेखि २० हजार रूपैयाँसम्म आतिथ्यता सेवावापत कमाई हुने गरेको छ।

अधिकांश पर्यटक ट्राभल एजेन्सीमार्फत आउँछन् । ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा स्थानीय होटलले अपेक्षितरूपमा लाभ लिन भने सकेका छैनन् । पर्यटकीय मौसम सकिए लगत्तै होटलको व्यवसाय यसरी ओरालो लाग्छ की फेरि अर्को मानसरोवर यात्राको सिजन शुरू नहुँदासम्म होटलका कोठा खचाखच भरिँदैनन्।

व्यवसाय धान्न क्यासिनो हब बनाउँदै

अर्बभन्दा बढीको लगानीमा खुलेका होटल मौसमी व्यापारमा मात्र सीमित रहँदा दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरू सेवामा विविधतामा केन्द्रित हुने प्रयास गरिरहेका छन्। तर त्यसमा सरकारी प्रयास भने छैन।

मानसरोवर सिजन बाहेक पनि भारतीय पर्यटकलाई नेपालगंज भ्रमणको लागी प्रोत्साहित गर्न ‘क्यासिनो हब’ (जुवा केन्द्र), वैवाहिक समारोह केन्द्र र मनोरन्जनात्मक क्रिडास्थलका रूपमा विकास गर्ने प्रयास भएको छ। 
तीनदेखि पाँच तारे सबै स्तरको होटल आआफ्नो स्तरअनुसार क्यासिनो संचालनमा ल्याउने तयारीमा छन्। सोल्टी वेस्ट एण्डले लाइभ क्यासिनो संचालनमा ल्याएका छन् भने  बाँकीले मिनी क्यासिनो संचालनमा ल्याइसकेका छन्। तर भारतीय पर्यटकको संख्या बढ्न सकेको छैन।

पर्यटन व्यवसायमा प्रवेश गरेको नयाँ लगानीकर्ताको समूहले तीन अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न ठूला ठूला वाटर पार्क निर्माण गरिरहेको छ। भारतको उत्तर प्रदेशमा मदिराको बिक्री वितरणमा कडाई गर्न लागिरहेको समयमा मदिरा पिउन र घुमघामका सौखिन भारतीय मध्यम वर्गका लागि सीमावर्ती नेपाली सहर सबैभन्दा पायक गन्तव्य हो।